राष्ट्रपति ट्रम्पको कूटनीतिक दौड : साउदी अरब, कतार र यूएईको भ्रमण तयारी

इनेप्लिज २०८२ वैशाख ९ गते २२:४६ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी महिना मध्यपूर्वको भ्रमणमा तयारीमा लागेका छन्। ह्वाइट हाउसकी छापा सचिव क्यारोलिन लेभिटले मंगलबार जानकारी दिँदै राष्ट्रपति ट्रम्प साउदी अरब, कतार र संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा जाने बताइन्।

ट्रम्पले मार्चमा ओभल कार्यालयबाट पत्रकारहरूसँग कुरा गर्दै आफू चाँडै मध्यपूर्वको भ्रमणमा जाने योजना बनाइरहेको र सम्भवत: कतार तथा यूएईको यात्रा गर्ने बताएका थिए।

यो भ्रमण मे १३ देखि १६ सम्म तय गरिएको छ। ट्रम्पको दोस्रो कार्यकालको दोस्रो विदेश भ्रमण हुनेछ। यसअघि उनी आगामी सप्ताहन्तमा रोममा पोपको अन्त्येष्टिमा सहभागी हुन लागेका छन्।

साउदी अरबले हालै रूस र युक्रेनबीचको युद्ध अन्त्यका लागि वार्ता आयोजना गरेको थियो, जसले गर्दा यो क्षेत्र कूटनीतिक रुपमा थप सक्रिय बन्दै गएको छ। ट्रम्पको भ्रमण यसै सन्दर्भमा महत्वपूर्ण मानिएको छ।

विश्लेषकहरूका अनुसार ट्रम्पको यो यात्रा नजिकिदो अमेरिकी निर्वाचन र अन्तर्राष्ट्रिय शक्ति सन्तुलनको दृष्टिले रणनीतिक महत्व राख्छ। ऊर्जा, सुरक्षा तथा आर्थिक सहकार्यका कार्यसूचीहरू भ्रमणका केन्द्रमा रहने विश्वास गरिएको छ।

यस भ्रमणबाट अमेरिका र मध्यपूर्वबीचको सम्बन्ध अझ सुदृढ हुने आशा गरिएको छ । विशेष गरी ट्रम्प प्रशासनले साउदी अरब तथा यूएईसँग पहिले देखिनै निकट सम्बन्ध कायम राख्दै आएकोले यो भ्रमणलाई निकै महत्वपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया