महिलाहरूलाई आत्मनिर्भर बनाउन सिलाइ कटाइ तालिम

इनेप्लिज २०८२ वैशाख ९ गते २३:१४ मा प्रकाशित

कञ्चनपुर । भीमदत्त नगरपालिका वडा नम्बर-११ मा सञ्चालित ६ महिने सिलाइ कटाइ तालिम मङ्गलवार एक भव्य समारोहका बीच सम्पन्न भएको छ। सिप विकास तालिम केन्द्र कञ्चनपुर र वडा कार्यालयको संयुक्त आयोजनामा भएको यो तालिममा २३ जना महिलाले सहभागिता जनाएर आत्मनिर्भरतातर्फ महत्त्वपूर्ण सीप आर्जन गरेका छन्।

समापन समारोहको सभाध्यक्षता वडा अध्यक्ष प्रकाश थापाले गरेका थिए भने कार्यक्रममा भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी प्रमुख अतिथिका रूपमा उपस्थित थिए। उपप्रमुख निलम लेखक, प्रमुख प्रशासकीय अधिकृत महेश बम र सिप विकास तालिम केन्द्र कञ्चनपुरका प्रमुख तर्कराज बिष्ट विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

वडा अध्यक्ष थापाले तालिमले महिलाहरूलाई आर्थिक र सामाजिक रूपमा सशक्त बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताए। “यो तालिम केवल सीप सिक्ने अवसर मात्र होइन, दिदीबहिनीहरूको आत्मसम्मान र आत्मविश्वास बढाउने सुनौलो अवसर हो। यी २३ जना महिलाले सिकेको सीपले आफ्नो परिवारको आर्थिक अवस्था सुधार्नुका साथै समुदायमा सकारात्मक परिवर्तन ल्याउनेछ,” उनले भने। उनले यस्ता सीपमूलक कार्यक्रमलाई निरन्तरता दिई थप वडावासीलाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे।

नगर प्रमुख बोगटीले तालिमलाई महिलाहरूको सशक्तीकरणका लागि कोसेढुंगा भएको उल्लेख गरे। “यी महिलाले सिकेको सीपले उनीहरूको जीवनमा मात्र नभई समग्र समुदायमा सकारात्मक प्रभाव पार्नेछ। हामी यस्ता तालिमलाई निरन्तरता दिनेछौँ,” उनले जोड दिए।

सिप विकास तालिम केन्द्रका प्रमुख तर्कराज बिष्टले सहभागी महिलाहरूको उत्साह र लगनशीलताको प्रशंसा गर्दै तालिमले उनीहरूलाई व्यावसायिक सीप प्रदान गरेको बताए। “यी महिलाहरू अब आफ्नै सिलाइ व्यवसाय सञ्चालन गर्न वा रोजगारीका अवसर सिर्जना गर्न सक्षम छन्। जेठमा उनीहरूको क्षमता जाँच गरिनेछ,” उनले भने।

कार्यक्रममा सहभागी २३ जना महिलालाई प्रमाणपत्र वितरण गरिएको थियो। तालिममा सहभागी महिलाहरूले यो अवसरले उनीहरूको आत्मविश्वास बढाएको र अब आफ्नै आफ्नै व्यवसाय सञ्चालन गर्ने सपना बोकेको बताए।

यो तालिमले कञ्चनपुरका महिलाहरूलाई आत्मनिर्भर बनाउन र आर्थिक तथा सामाजिक सशक्तीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ। भीमदत्त-११ ले यस्ता सीपमूलक तालिमहरू मार्फत स्थानीय स्तरमा उद्यमशीलता र रोजगारीका अवसरहरू सिर्जना गर्न निरन्तर प्रयास गरिरहेको छ।

प्रतिक्रिया