अध्यावधिक गरिएको : मंगलबार भारत–नियन्त्रित जम्मु–कश्मीरको पहाडी क्षेत्रमा अवस्थित प्रसिद्ध पर्यटकीय स्थल पहलगाममा बन्दुकधारीहरूले अन्धाधुन्ध गोली प्रहार गर्दा कम्तीमा २६ व्यक्तिको ज्यान गएको छ । उक्त घटनामा दर्जनौं घाइते भएका छन्। यो दशकौँदेखि विद्रोह र भारतविरोधी भावना भरिएको क्षेत्रमा पर्यटकहरूलाई लक्षित गरी गरिएको दुर्लभ तर भयावह आक्रमण हो।
अनन्तनाग जिल्लाको बैसारण उपत्यकामा यो हमला भएको हो, जुन पैदल वा घोडामा मात्र पुग्न सकिने ठाउँ हो। घटना एक घाँसे मैदानमा भएको थियो जहाँ नजिकै सडकहरू थिएनन्।
प्रहरी प्रमुख वी. के. बिर्डीका अनुसार मारिएका २६ मध्ये एक नेपाली नागरिक पनि थिए भने अर्को पीडित खाडी मुलुकमा काम गर्ने भारतीय मूलका थिए।
जीवित भएकाहरुले त्रासदीको विवरण दिँदै बन्दुकधारीहरूले नजिकैबाट गोली चलाएका थिए । एक महिलाले भनिन्, “मेरो श्रीमानको टाउकोमा गोली लाग्यो, सात जना घाइते छन्।” अर्की पीडितले बताइन्, “हामी लुकेका पालमाझ छिरेर बन्दुकधारीहरूले मोदीलाई समर्थन गरेको भन्दै मेरो बुबालगायत पुरुष सदस्यहरूलाई गोली हाने।”
स्थानीय अब्दुल वहिदले घाइतेलाई अस्पताल पुर्याउन घोडा र काठका स्ट्रेचर (बिरामी बोक्ने खाट)प्रयोग गरेका थिए। उनले भने, “बच्चा, महिला, पुरूष—सबै रोइरहेका थिए। यस्तो पीडा मैले कहिल्यै देखेको थिइन।”
प्रतिक्रिया