ताजा समाचार :इस्‍तानबुलनजिक ६.२ परिणामको भूकम्प: टर्की हल्लियो, जनजीवन आतंकित

इनेप्लिज २०८२ वैशाख १० गते ११:२५ मा प्रकाशित

बुधबार बिहान टर्कीको पश्चिमी क्षेत्र विशेषगरी इस्‍तानबुल आसपास ६.२ म्याग्निच्युड(परिमाण)को शक्तिशाली भूकम्पले हल्लिएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ।

भूकम्पको केन्द्रबिन्दु मारमारा एरेग्लीसी शहरको दक्षिणपूर्वमा करिब १४ माइल टाढा र इस्‍तानबुलको पश्चिममा करिब ७० माइल टाढा थियो। भूकम्प जमिनको सतहबाट केवल ६.२ माइल गहिराइमा आएको थियो जसका कारण कम्पन अझ तीव्र महसुस गरिएको हो।

हालसम्म कुनै पनि मृत्यु वा गम्भीर घाइतेको कुनै पनि विवरण आई नसकेको एबिसीन्यूजले जनाएको छ तर स्थानीय अस्पतालहरूमा चिन्ता, डर र मानसिक आघातका कारण सयौं नागरिक भर्ना भएको बताइएको छ।

भूकम्पको झट्कापछि मानिसहरू हतार–हतार सडक र उद्यान (पार्क)हरूमा निस्किएका छन् भने डरका कारण घरभित्र फर्किन डराएका छन् । सामाजिक सञ्जालहरूमा देखिएको श्रब्यदृश्य (भिडियो)र प्रत्यक्षदर्शीहरूले बताएका दृश्यहरूमा मानिसहरू भयभीत मुद्रामा भाग्दै गरेको देखिन्छ।

टर्की विगतमा पनि विनाशकारी भूकम्पहरूको सामना गर्दै आएको छ । यो पछिल्लो घटनाले पुनः विपद् व्यवस्थापनको चुनौतीलाई उजागर गरिदिएको छ। अधिकारीहरूले सतर्क रहन आग्रह गरेका छन्।

प्रतिक्रिया