राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन अमेरिकी नागरिकहरूलाई विवाह गर्न र बच्चा जन्माउन प्रेरित गर्न नयाँ योजना तयारीमा रहेको छ।
यो पहल अमेरिकी जन्मदर वृद्धि गर्न चाहने बाह्य समूहहरूको दबाबमा आएको हो। ती प्रस्तावहरूमध्ये एउटा मुख्य प्रस्ताव हो— शिशु जन्मिएपछि प्रत्येक आमालाई ५,००० डलर को ‘बेबी बोनस’ अर्थात् शिशु प्रोत्साहन भत्ता दिने योजना रहेको छ ।
“मलाई त यो राम्रो विचारजस्तो लाग्छ,” राष्ट्रपति ट्रम्पले मंगलबार सञ्चारकर्मीले प्रश्न गर्दा प्रतिक्रिया दिएका थिए।
व्हाइट हाउसकी छापा सचिव क्यारोलिन लेभिटले एबीसी न्यूजसँग कुरा गर्दै भनिन्, “राष्ट्रपति ट्रम्प गर्वका साथ त्यस्ता नीति कार्यान्वयन गर्दैछन्, जसले अमेरिकी परिवारहरूलाई सशक्त बनाउनेछ।”
यो प्रस्ताव अमेरिकी समाजमा घट्दो विवाह दर र जन्मदरका चुनौतीलाई सम्बोधन गर्ने उद्देश्यले आएको हो। पछिल्ला वर्षहरूमा अमेरिकामा जनसंख्या वृद्धिदर सुस्त बन्दै गएको छ, जसले दीर्घकालीन आर्थिक र सामाजिक असर पार्ने चिन्ता विज्ञहरूले व्यक्त गर्दै आएका छन्।
यदि लागू गरियो भने, यो “बेबी बोनस” अर्थात् नवजात शिशु प्रोत्साहन रकम योजना अमेरिकी इतिहासकै एक ठूलो पारिवारिक प्रोत्साहन योजना बन्न सक्छ। यसले बच्चा जन्माउने नयाँ अभिभावकलाई आर्थिक राहत दिनुका साथै परिवार बढाउने निर्णयलाई सहज बनाउन सक्छ।
यसबारे थप विस्तृत योजना र कार्यान्वयन प्रक्रिया सार्वजनिक हुन बाँकी छ। तर राष्ट्रपति ट्रम्पको सकारात्मक प्रतिक्रिया र व्हाइट हाउसको प्रतिबद्धताले यो नीति चाँडै अघि बढ्ने संकेत मिलेको छ।
प्रतिक्रिया