अमेरिकी एक संघीय न्यायाधीशले कोलम्बिया विश्वविद्यालयका विद्यार्थी मोहसेन मह्दावीलाई हालैको गिरफ्तारीपछि भर्मन्ट राज्यमै राख्न अस्थायी रोक आदेश (टिआरओ ) जारी गरेका छन्।
मह्दावीलाई गत हप्ता अमेरिकी नागरिकता अन्तर्वार्ताको क्रममा अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन विभाग (आइसिइ ) ले पक्राउ गरेको थियो।
संघीय न्यायाधीश जफ्री क्रफोर्डले बिहीबार जारी गरेको आदेशमा मह्दावीलाई अन्य राज्यमा सार्दा कानुनी अधिकार र क्षेत्राधिकारसम्बन्धी विवाद उत्पन्न हुन सक्ने भएकाले यस्तो आदेश आवश्यक भएको उल्लेख गरेका छन् । न्यायाधीशले अर्को हप्ता हुने सुनुवाइमा मह्दावीलाई मुद्दा नसकिन्जेल रिहा गर्न मिल्ने हो या हैन भन्ने विषयमा निर्णय हुने बताएका छन्।
मह्दावी अमेरिकी स्थायी आवास पत्र (ग्रीनकार्ड) पाएका व्यक्ति हुन् । र , उनी नागरिकता प्रक्रियाको अन्तिम चरणमा थिए। उनले कोलम्बिया विश्वविद्यालयमा “प्यालेस्टिनी विद्यार्थी संघ ” नामक संगठन समेत स्थापना गरेका थिए, जुन संगठनका अर्का सदस्य महमूद खालिललाई पनि पक्राउ गरिएको छ।
मह्दावीका वकिलहरूका अनुसार, यो मुद्दामा भर्मन्ट अदालतको अधिकार क्षेत्र कायम रहनुपर्छ । अध्यागमन अदालतले उनको प्रथम संशोधन उल्लंघनको गम्भीर मुद्दालाई सम्बोधन गर्न सक्दैन। न्यायाधीश क्रफोर्डले मह्दावी भर्मन्ट निवासी भएको र त्यहीं पक्राउ परेकाले अदालतको अधिकार क्षेत्र स्पष्ट रहेको संकेत गरे।
सरकारी वकिलले सोमबारसम्म जवाफ दिन समय पाएका छन्। उता गृह सुरक्षा विभागकी प्रवक्ता ट्रिसिया म्याकलाफलिनले भने, “यदि कोही आतंकवादीको समर्थन गर्छ, हिंसाको वकालत गर्छ वा यहूदीहरूमाथि दुर्व्यवहार गर्छ भने अमेरिकामा बस्ने त्यो अधिकार खारेज हुनुपर्छ।”
मह्दावीको रिहाइको माग गर्दै अदालतमा बहस अझै जारी छ।
प्रतिक्रिया