भर्जिनिया । राजधानी वाशिङ्गटन डीसीसँगै जोडिएर रहेको भर्जिनिया राज्यको हेमार्केट शहरमा नयाँ नेपाली रेस्टुराँ सञ्चालनमा आएको छ । शुक्रबार औपचारिक उद्घाटन भएको यस नयाँ रेस्टुराँको नाम ‘हिमालयन ग्रील’ हो ।
हेमार्केट शहरकी सिटी मेयर ट्रेसी लिन प्याटर र रेस्टुराँका सञ्चालकद्वय नेपाल थापा–अनीता थापाकी आठ वर्षीया कान्छी छोरी आन्वी थापाले संयुक्त रूपमा रिबन काटेर रेस्टुराँको औपचारिक उद्घाटन गरेका हुन् ।
त्यस अवसरमा हेमार्केट शहरका प्रहरी प्रमुख एलन सिबर्ट, शहर परिषद्का सदस्यहरू, प्रहरी अधिकृतहरू, स्थानीय अन्य
उद्यमी–व्यावसायीहरू, पारिवारिक सदस्यहरूका साथै सञ्चालकका परिचितएवं साथी–सँगातीहरूको सहभागिता थियो ।
कार्यक्रम औपचारिक उद्घाटन भए पनि त्यसका लागि सभाध्यक्ष वा उद्घोषक कोही केही थिएन । त्यसकारण भाषण र प्रवचन पनि केही थिएन । बस्, संयुक्त रिबन कटाइ, तालीको गडगडाहट, बधाई–शुभकामना र धन्यवाद आदानप्रदान अनि शुद्ध नेपाली शैलीको शाकाहारीलाई पनि हुने मांसाहारीलाई पनि हुने भव्य जलपान गर्दै यस पटक भने अनौपचारिक समापनका रूपमा विशेष अतिथिहरूको शालीन बहिर्गमन भएको थियो ।
कार्यक्रममा सहभागी सबै जना सन्तुष्ट देखिन्थे र सबैमा रेस्टुराँको खाना, त्यहाँको साज–सज्जा र काम गर्ने स्टाफको तदारुकता आदि सबैको प्रशंसाको भाव देखिएको थियो ।
प्रिन्स विलियम काउन्टी अन्तर्गत हेमार्केट क्षेत्रमा हिल्टन होटल नजिकै मानव बस्ती नभएको बिरानो क्षेत्रमा जग्गा लिएर सम्पूण काम शून्यदेखि शुरु गरेर रेस्टुराँ खोल्दासम्म झण्डै एक वर्ष लामो समय लागेको थियो भने अन्तिम तयारी सम्पन्न गर्दै शुभ साइत जुराउँदै गत जनवरी १० तारिखमा रेस्टुराँको अनौपचारिक शुरुवात भएको थियो । संयोग, रिबन काटेर औपचारिक उद्घाटन गरिएको दिन रेस्टुराँ खोलेको ठीक एक सय दिन भएको थियो ।
नीट, अन द रक्स, ककटेल र मकटेल समेत विभिन्न पेय पदार्थ उपलब्ध हुने सुसज्जित बारसहितको यस रेस्टुराँमा नेपाली, इण्डियन र टिबेटियन परिकार पाइन्छ । अन्य परिकारका अतिरिक्त शुद्ध नेपाली स्वाद भएको मम, चाउमिन, चिकेन चिल्ली र हिमालयन ग्रील चिया विशेष रुचाइने गरेको छ ।
आकर्षक लोकेशन (6626 Watts Rd, Haymarket) मा स्थापित ‘हिमालयन ग्रील’ भित्रका विभिन्न भित्ताहरूमा हेमार्केट डे परेडलाई सम्झाउने ठूलो तस्वीर एकातिर झुयड्याइएको छ भने अर्कोतिर सगरमाथा हिमाल, शिखरतिर उक्लँदै गरेका हिमाल आरोही, मुस्ताङ र काठमाडौं उपत्यकाको खास जीवन झल्काउने उस्तै ठूला तस्वीरहरू छन् । यी तस्वीरले रेस्टुराँभित्र बसेर विभिन्न परिकारको स्वाद लिनेहरूलाई थप विश्रान्ति प्राप्त भइरहेको अनुभूति हुन्छ ।
रेस्टुराँका सञ्चालक गेन्सभिलमा बसोबास गर्ने नेपाल थापा र अनीता थापा हुन् ।
बिहान साढे एघार बजेदेखि साढे दुई बजेसम्म र साँझ पाँच बजेदेखि राति दश बजेसम्म खुला हुने गरेको ‘हिमालयन ग्रील’ हाल एक दिन सोमबार चाहिँ बन्द रहने गरेको सञ्चालक थापा बताउनुहुन्छ।
प्रतिक्रिया