आमा के छ खबर ?
हप्तामा एकपटक
म्यासेन्जरमा सोध्छु
बुढीमाउ दंग पर्छिन्
छोरोको आवाज सुनेर
फुरुङ्ङ हुन्छिन्
हप्ता दिन सम्म
ऐया आत्था गरेको
कयौं रात अनिदो सुतेको
भान्सामा छिर्न नसकेर
भोकभोकै बसेको
सबका सब बिर्सिन्छिन्
चाउरिएको गाला फ्यास्स पारेर
भएभरका पीडा पटुकीमा बाँधेर
मुसुक्क हास्छिन् र भन्छिन्
राम्रो छ, सन्चै छ
तिमीहरूलाई कस्तो छ ?
ठम्याउन हम्मेहम्मे पर्ने
कमजोर भइसकेको
अश्रु मिश्रित उनको नयनमा
अनौठो चमक देख्छु
यद्दपी उनको त्यो
गलेको शरीर
खिसि्रक्क अनुहार
कापेको आवाज
धरमराएको चालले
बुढेसकालको सहारा
खोजी रहेको हुन्छ
परिस्थितिजन्य विवशताले
लाचार म
आफुले आफैलाई
मनमनै धिकार्छु
उनले लुकाएको
ति सबै खाले पीडाहरुलाई
थाहै नपाए जसरी
विषयान्तर गर्छु।
कम्युटरको मनिटरमा
गेम खेल्न मस्त नातीलाई
मोबाइलबाट देखाउँछु
पढाई खर्च जुटाउन
काममा हिडेकी नातिनीको
किस्सा सुनाउँछु
घर धान्न घण्टा हान्न हिंडेकी
बुहारीको बखान सुनाउँछु
यताउताका कुरा गर्छु
अलमलाउने उपाय
हरसंभव सबै लगाउँछु।
कहिले आउछ्स् ?
सधैं सोध्छिन् उनी मलाई
अर्को साल भनेर
ढाँटेको ढाँटै हुन्छु
उनको मुटुभरीको माया र
सहाराको चाहलाई
घरखर्चसंग विनिमय गर्छु
पीर नगर्नु है भन्दै
पीरै पीरको आहालमा
उनलाई चुर्लुम्म डुब्न म
एक्लै छोडिदिन्छु।
नियतीलाई के छ मन्जुर
थाहा छैन कुन्नी
पिताजीलाई जस्तै उनीसंग
सग्लो छउन्जेल
लुकामारी मात्रै खेल्छु कि ?
थाहा छैन मलाई
गन्तव्य के हो ?
आईसियुमा वा
उतै ब्रम्हनालमा पो
एकैचोटी भेट्छु कि ?
अज्ञात भयले हरपल
दपेटिरहेको हुन्छ
म्यासेन्जरको टिङ् टिङ् संगै
मन र मुटु कापिरहेको हुन्छ
म्यासेन्जरको नोटिफिकेसन हेरेर
रात अनिंदो कट्छ
नोटिफिकेसन केलाउँदै प्रत्येक दिन
बिहानीको सुरुवात हुन्छ।
आमा के छ खबर
आज अलि बिजि भएँ
कुरा गरुँला नि भरे भोलि
हर दिन उनलाई यसैगरी
झुक्याएको झुक्याएकै हुन्छु
थाहा छैन
कतिन्जेल चल्छ यसरी
आफु अनि आफ्नाहरुलाई
ढाँटेको ढाँट्यै हुन्छु।
विवशता सामु
लाचार म
सबै बुझेर पनि
बुझपचाई रहेको हुन्छु
औँसी आवस् कि पुर्ने
त्यसैले त अचेल म
भन्न बाध्य हुन्छु घरीघरी
आमा, आई एम सो सरी !
आमा, आई एम सो सरी !
मदन बस्नेत, टोरोन्टो।
प्रतिक्रिया