रूसद्वारा उत्तर कोरियाली सैनिकहरू यूक्रेनमा उपस्थिति रहेको स्वीकार ,कर्स्क क्षेत्र फिर्ता लिएको दाबी

इनेप्लिज २०८२ वैशाख १३ गते २२:२५ मा प्रकाशित

रूसले पहिलो पटक उत्तर कोरियाली सैनिकहरू यूक्रेनसँगको युद्धमा अग्रणी मोर्चामा रहेको स्वीकार गरेको छ । कर्स्क क्षेत्रको नियन्त्रण पुनः प्राप्त गर्नमा तिनीहरूको महत्वपूर्ण योगदान रहेको जनाएको छ ।

एक वरिष्ठ रूसी अधिकारी भालेरी गेरासिमोभले शनिबार राष्ट्रपति भ्लादिमिर पुटिनलाई सूचना दिदै भने, “म विशेष रूपमा लोकतान्त्रिक जनगणराज्यको कोरियाली सैनिकहरूको सहभागिता र तिनीहरूको योगदानलाई मान्यता दिन चाहन्छु।”

उनका अनुसार दुई देशबीचको “व्यापक रणनीतिक साझेदारी” अन्तर्गत उत्तर कोरियाली सैनिकहरूले रूसी सेनालाई यूक्रेनी सैनिकहरूलाई पराजित गर्न “महत्वपूर्ण सहायता” प्रदान गरेका छन्। पुटिनले कर्स्क क्षेत्रको पूर्ण विजयलाई सकारात्मक रूपमा स्वागत गर्दै भने, “यसले हाम्रो सेनाका अन्य महत्त्वपूर्ण मोर्चामा सफल कार्यहरूको लागि वातावरण सिर्जना गरेको छ।”

दक्षिण कोरियाली संचार माध्यमले यस वर्षको शुरुतिर ११,००० भन्दा बढी उत्तर कोरियाली सैनिकहरू कर्स्क क्षेत्रको पश्चिमी भागमा लडिरहेका विवरण दिएको थियो। रूस र प्योंगयाङले यी विवरणहरूको पुष्टि गरेका थिएनन् मार्चमा दक्षिण कोरियाली अधिकारीहरूले थप ३,००० सैनिकहरूको पठाइको जानकारी दिएका थिए।

यो घटनाक्रम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको प्रयासलाई तीव्र पार्ने क्रममा आएको छ, जस अन्तर्गत यूक्रेनले केही भूभाग रूसलाई दिनुपर्ने कुरा राखिएको छ।

प्रतिक्रिया