मेरी आमा

तारा पराजुली २०८२ वैशाख १४ गते ४:०८ मा प्रकाशित

अमर गीत लेख्ने
प्रेमको गाडा रङ्को मसी हुन् मेरी आमा।

खोजेर कहिल्यै नभेटिने परिभाषा हुन् मेरी आमा
लेखेर कहिल्यै नसकिने पुस्तक हुन मेरी आमा
पढेर कहिल्यै नसकिने ग्रन्थ हुन्
हिंडेर कहिल्यै नसकिने यात्रा हुन्
फुलेर कहिल्यै नओइलाउने फूल हुन् मेरी आमा
सुवासहरुमा सबैभन्दा मनपर्ने सुवास हुन्
मेरी आमा एकभित्र अनेक हुन्।

सम्झन्छु,उसबेला आधारातमै उठेर
जाँतो घुमाउँथिन् कि दु:खको हातो घुमाउँथिन्
खुट्टा लुलो होउन्जेल ढिकी कुटथिन् कि बाध्यता
खाली खुट्टाले पुषको चिसो बिहान
साँगुरो बाटो हिंडेर पँधेरामा गाग्री भर्थिन् कि
आशाका थोपाथोपा बटुलेर
घैलाभरिभरि पानी भर्थिन्
नबिर्सिइकन हात जोडेर घामलाई ढोग्दै
मेरै लागि भनेर हरेक दिन
उज्यालो भोलि माग्थिन् मेरी आमा।

आफ्नै मनजस्तो हलुका पिउरी पिउरी बनाउँदै
कतुवामा हेरुँहेरु लाग्ने ऊन कात्थिन्
कहिले दु:खको चर्खा घुमाउँथिन्
आफ्नै उमेर फनफनी बनाउँदै
आफ्नै काँधमाथि बोकिहिंड्ने
दु:खको लम्बाइजस्तै
लामो तान हालेर बुट्टेदार राडी पाखी बुन्थिन्।

एक समय सबैभन्दा धेरै हण्डर र ठक्कर
मेरी आमाको टाउकोमा परेको हो
तर चट्टान बनेर सामना गरिरहिन्
जीवनको सबैभन्दा लामो यात्रा गरेर पनि
कहिल्यै थाकिनन् मेरी आमा।

सपना उमार्न भनेर
कहिले जर्जर बाँझो बारीमा कोदालो खन्थिन्
र रोप्थिन् अजम्बरी विरुवा
जब फुल्थे झुल्थे खेतभरि रहर
केटाकेटीजस्तै रमाउँथिन् मेरी आमा।

आफ्नो उचाईभन्दा पनि अग्लो डोकोमा
सगरमाथाजस्तै अग्लो घाँसको भारीमाथि
मलाई बोकेर खै!उकालो चढ्थिन् कि
आशाको अग्लो उचाई छाम्थिन् मेरी आमा।

मैले खाइदिए आफू अघाइदिने
म रुंदा दुखी हुने
म हाँस्दा संसार जितेझैँ रमाउँने
आफू नाङ्गो आङ हिंडेर
मेरा लागि न्यानो लुगा जोहो गरिदिने
मेरा खुट्टामा एकजोर नया चप्पल देखेपछि
खडेरीको डाडाखेतमा फाटेका धाँजाजस्तै
चरचरी फुटेका पैतालामा
गहिरो राहत महशुस गर्थिन् मेरी आमा।

जीवनको सबैभन्दा शक्तिशाली उर्जाको हुन् आमा
मेरो खुशीको मुहान उनै हुन्
नरम नरम बोल्न
काँडामाथि जोगिएर हिंड्न
दु:खमा धैर्य गर्न
आफ्नै पसिनाको सिफोनी मूल्य उनैले चिनाइन्
गन्तब्य नभेटेसम्म अथक हिंडिरहन
उनैले सिकाएकी हुन्।

मेरो आवाजमा गुन्जिने ध्वनि मेरी आमाको हो
मेरो ओठभरि फुलेको गुलाफमा
रातो रङ्ग मेरी आमाले पोतिदिएकी हुन्
मैले हिंड्ने बाटोमा पैतालाको लय
मेरी आमाले भरेकी हुन् ।

मैले बाटो भुल्दा सम्झाइदिने
पटकपटक गल्ती गरेपनि माफ गरिदिने मेरी आमा

मेरी आमा!
हरेकदिन तिम्रो अनुहार हेरेर बाँच्न पाउँ।

प्रतिक्रिया