क्यानाडा भ्यानकुभर प्रहरीले जनाएको अनुसार गत शनिबार एक सडक उत्सवको दौरान एक गाडी भीडमा ठक्कर दिंदा थुप्रै व्यक्तिको मृत्यु भएको छ ।
थुप्रै अन्य घाइते भएका छन्। घटनालाई प्रहरीले व्यापक जनधन क्षतिको घटना भनेका छन्। तर कति संख्या भन्ने जानकारी आई नसकेको एबिसीन्यूजले जनाएको छ ।
३० वर्षीय एक भ्यानकुभरका स्थानीय युवकलाई घटनास्थलमै पक्राउ गरिएको छ। प्रहरीले प्रारम्भिक अनुसन्धानमा यो घटना आतंकवादी आक्रमण नभएको दाबी गरेको छ।
क्यानडाको भ्यानकुभर शहरमा “लापु लापु दिवस” को अवसरमा ठूलो भीड जम्मा भएको थियो। करिब साँझ ८:१४ बजे साउथ भ्यानकुभर क्षेत्रमा आयोजित उत्सवमा गाडीले भीडमा ठक्कर दिएको हो। नगर प्रमुख केन सिमले यसलाई भयानक घटना भन्दै पीडित र भ्यानकुभरको फिलिपिनी समुदायप्रति समवेदना व्यक्त गरेका छन्।
उत्सव आयोजकहरूले सडक उत्सव राति ८ बजेसम्म चल्ने कार्यक्रम बनाएका थिए। घटनास्थलका श्रब्यदृश्य (भिडियो)हरूमा आपतकालीन सेवाहरूले घाइतेलाई सहयोग गरिरहेको देखिन्छ। सडकपेटीमा बिखण्डित वस्तुहरू र एक कालो एसयुभि गाडी देखिएको छ। जसको अगाडिको भाग क्षतिग्रस्त छ।
क्यानडाका प्रधानमन्त्री मार्क कर्नेले घटनाबाट “स्तब्ध” भएको बताउँदै पीडित परिवारप्रति गहिरो समवेदना प्रकट गरे। नयाँ प्रजातान्त्रिक पार्टीका नेता जगमीत सिंहले पनि घटनाप्रति दुख व्यक्त गर्दै उत्सवमा भाग लिएका निर्दोष नागरिकहरूलाई समर्थन जनाए।
प्रतिक्रिया