“१०० दिनमै ट्रम्पको संघीय सरकारमा भीषण प्रहार : लाखौं जागिर गुमे”

इनेप्लिज २०८२ वैशाख १४ गते १०:११ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएको झन्डै १०० दिनभित्र संघीय सरकारका कम्तीमा १,२१,००० कर्मचारीहरू बर्खास्त वा निकाला गरिएको सिएनएनको विश्लेषणले देखाएको छ। यो तथ्याङ्कमा प्रशासकीय बिदामा राखिएका वा स्वेच्छिक रूपमा बाहिरिएका कर्मचारीहरू समावेश गरिएको छैन।

तीव्र र व्यापक रुपमा गरिएको यी कटौतीले शिक्षा, स्वास्थ्य सेवा, यातायात र सार्वजनिक सुरक्षाजस्ता क्षेत्रमा गहिरो असर पार्न थालेको विज्ञहरूले चेतावनी दिएका छन्। सिएनएनको हालैको सर्वेक्षणले आधा भन्दा बढी अमेरिकी वयस्कहरूले संघीय सेवा कटौतीले आफ्ना परिवार र आर्थिक अवस्थालाई नोक्सान पुर्‍याउने विश्वास व्यक्त गरेको देखाएको छ।

फेब्रुअरीमा चरममा पुगेको कर्मचारी निकासन मार्च र अप्रिलमा केही घटेको भए पनि अन्य कुनै पनि उद्योगभन्दा संघीय सरकारमै सबैभन्दा धेरै जागिर गुमेका छन्। अधिकांश निकायमा १०% भन्दा कम कटौती भए पनि, शिक्षा विभाग र अन्तर्राष्ट्रिय विकास निकाय (युएसएआइडि) जस्ता संस्थाहरू लगभग धराशायी भएका छन्।

विशेषगरी, भेटेरान्स अफेयर्स विभाग( पूर्व सैनिक मामला बिभाग)मा मात्रै करिब ७०,००० कर्मचारी हटाइएका छन्, जुन कुल जनशक्तिको १५% हो। यो विभाग रक्षा मन्त्रालयपछि दोस्रो ठूलो संघीय संस्था हो, जसले पूर्वसैनिक र तिनका परिवारलाई स्वास्थ्य सेवा प्रदान गर्छ।

सबैभन्दा ठूलो झट्का युएसएआइडिले भोगेको छ। लामो समयको कटौतीपछि बिदेश बिभाग (स्टेट डिपार्टमेन्ट)ले निकाय (एजेन्सी) पूर्ण रूपमा बन्द भएको घोषणा गरिसकेको छ। भोकमरी र मानव तथा लागूऔषध तस्करी विरुद्ध लड्न मद्दत गर्ने युएसएआइडिका कार्यक्रमहरू बन्द हुँदा धेरै देशहरूले पहिले नै असर महसुस गरिरहेका छन्।

प्रतिक्रिया