काठमाडौँ — गैर आवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता, महेश कुमार श्रेष्ठ, ले संघको यही वैशाख २० देखि २२ गतेसम्म (मे ३-५, २०२५) काठमाडौँमा हुन गैरहेको एकता महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्नु पर्ने बताएका छन्।
“अहिले विषम परिस्थितिमा महाधिवेशन हुन गैरहेको छ। सबै पक्षलाई सहभागी गराएर अधिवेशन गराउने प्रयत्न जारी छ। एकता महाधिवेशनबाट हामीले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्यौँ भने अहिले सहभागी हुन छुटेका साथीहरुलाई पनि समेटेर संस्थाभित्र बृहत एकता कायम गर्न सजिलो हुने छ,” उनले भने।
अभियन्ता श्रेष्ठले सर्वोच्च अदालतको परमादेशअनुसार गठित उच्चस्तरीय समितिका संयोजक सहित सबै १३ जना एकै थलोमा भएका भएर अहिलेको समस्याको निकास खोज्न आग्रह पनि गरे।
“एकता महाधिवेशनका लागि डेलिगेटहरू काठमाडौँ आउने क्रम सुरु भएको छ । अधिवेशनको तयारी करिब करिब पुरा भएको छ। यस्तो अवस्थामा अब महाधिवेशन पर सार्नु भन्दा वैधानिक हिसाबले महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेर त्यस पछि पनि एकताको प्रयास जारी राख्नु पर्छ,” श्रेष्ठले भने।
जापानमा सफल व्यवसायीको रुपमा चिनिएका अभियन्ता श्रेष्ठले यो महाधिवेशनबाट जीत र हार भन्दा पनि संस्थालाई योगदान दिन सक्ने टिम बनाएर अगाडी बढनु पर्ने बताए। “मैले सधै एनआरएनएभित्र संवाद, छलफल, सहमति र सहकार्यको लागि जोड दिँदै आएको छु। अहिले पनि संस्था भित्र सहमति र एकताको वातावरण बनाउन जस्तो सुकै भूमिका निर्वाह गर्न म तयार छु,” उनले भने।
महाधिवेशनका लागि प्रतिनिधि (डेलिगेट) बन्न करिब ३,२०० जनाले आवेदन दिएको र प्रक्रिया पुरा गरेका डेलिगेटहरुको निवेदन स्वीकृत गर्ने क्रम जारी रहेको उच्चस्तरीय समितिको सचिवालयले जनाएको छ।
प्रतिक्रिया