इलन मस्कको लोकप्रियता घट्दै, राष्ट्रपति ट्रम्पको कटौती योजनामा असन्तुष्टि बढ्दो

इनेप्लिज २०८२ वैशाख १५ गते ११:३१ मा प्रकाशित

एबीसी न्यूज/वाशिङ्टन पोस्ट/इप्सोसद्वारा जारी नयाँ सर्वेक्षणअनुसार इलन मस्कप्रति अमेरिकी जनताको समर्थन निकै कमजोर देखिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि काम गरिरहेका मस्कलाई मात्र ३५% अमेरिकीहरुले समर्थन गरेका छन् भने ५७% ले अस्वीकृति जनाएका छन्, जुन ट्रम्पकै स्वीकृति दरसँग मिल्दोजुल्दो छ।

राष्ट्रपति ट्रम्पको संघीय सरकार कटौती योजनाको नेतृत्व गर्दै आएका मस्कप्रति असन्तुष्टि तीव्र बनेको देखिन्छ। सर्वेक्षण अनुसार, ५६% ले ट्रम्पले संघीय कर्मचारीहरूलाई अत्यधिक हटाइरहेको बताएका छन् र ५७% ले संघीय निकायहरू बन्द गर्ने कदमलाई अस्वीकार गरेका छन्।

जसले कटौतीहरूलाई अत्यधिक मानेका छन्, तिनीहरूमा मस्कको समर्थन दर मात्र ६% र अस्वीकृति दर ८९% रहेको छ। तर जसले कटौतीहरूलाई सही ठानेका छन्, उनीहरूमा मस्कको समर्थन दर ७२% पुगेको छ।

विशेषगरी शिक्षा मन्त्रालय बन्द गर्ने योजनामा ६६% जनता र चिकित्सा अनुसन्धानको संघीय कोष कटौतीमा ७७% जनता विरोधमा उत्रिएका छन्। यस्ता कटौतीहरूको विपक्षमा रहेका जनताले मस्कको कामलाई नकारात्मक रूपमा हेरेका छन्।

सरकारी फजुल खर्चको घटबढसम्बन्धी धारणा पनि मस्कप्रति दृष्टिकोणमा प्रभाव पार्ने देखिएको छ। जसले फजुल खर्च घटेको ठान्छन्, तिनीहरूमा मस्कको समर्थन ६७% पुगेको छ । तर जसले सुधार देखेका छैनन् उनीहरूमा समर्थन मात्र १०% रहेको छ।

प्रतिक्रिया