भर्खरै बिहान भएको छ । म उठिसक्दा कफी बनाउन आतुर हुन्छु । कफीको तलतल ज्यादा लाग्ने भएर हो वा निद्रा भगाउन बुझेको छैन । सुत्ने बेलासम्म र उठ्ने वित्तिकै जिन्दगी एउटा डिजिटल वार्तालाप भएको छ । जिन्दगी पुरै भर्चुअल भएको छ । शुभ विहानी अनि भर्चुअल जिन्दगी । मान्छे नचाहँदा – नचाहँदै त्यसमै होमिएको छ । मोबाइलमा सबै कुरा गर्न सम्भव हुँदैन । कफिको चुस्कीसँगै कम्प्युटर अन गरें । कति मेलहरु, लेखन र अरु कामहरु थुप्रिएका छन् । छुटेका मेलहरुको रेस्पोन्स दिनु छ । मोबाइलमा थरी–थरी नोटिफिकेसन बजेको – बजै छन् । एक– पछि अर्को गर्दै गुगल ब्राउजरमा एकाउन्टहरु खोलेँ ।
जे कुरा पनि समय र बेलैमा गर्नुपर्ने । अनि मान्छे त नियमको गधा भएको छ । यो व्यस्तताको बीचमा धेरै मान्छेहरुसँग सदभाव बाँड्नु छ । आफ्नाहरुसँग आत्मीयता बाँढ्नु छ । म पनि पछिल्ला केही दिन देखि साथीहरुसँग र गाउँका लगौटिया यारहरुसँग गफिन थालेको छु । समय भर्चुअल हुँदै गएदेखि उनीहरु पनि सामाजिक मिडियामा जोडिन थालेका छन् । गफिन छुटेका आफन्तहरु आत्मीय हुँदैछन् । छुटेका साथीहरु फेरि जोडिन थालेका छन् एक पछि अर्को गर्दै ।
डिजिटल गफ र आत्मियता अनौठो हुन्छ । प्रत्यक्ष संवाद जस्तो त अवश्य हुँदैन । केही नजिकिएको जस्तो हुन्छ । अनि एउटा भ्रम जस्तो पनि लाग्छ । न आफ्नै जस्तो गरी कुरा हुन्छ, न छुटाउन मिल्ने जस्तो गरी सम्बन्ध हुन्छ । यो त एउटा मध्य मार्ग न हो भुगोलले टाढा भएकाहरुसँग नजिक हुनलाई । भर्चुअल मेसिनले भावना र सम्बन्धसँग साथै पनि छौँ र खासै साथ पनि छैनौ जस्तो बनाईदिएको छ । जहाँसम्म यो अव्यवहारिक औपचारिकता होला । कफिको चुस्कीसँगै ठेले दुई–चार मेसेज साथीहरुलाई अनि केही आफन्तहरुलाई, जो मुग्लान पसेदेखि कहिल्यै पनि सम्र्पकमा थिएनन् ।
मेसेज लेख्दै गर्दा मेसेजको लिस्टमा एउटा नाम देखापर्यो – ‘कविता’ । केही स्मृति, केही उत्सुकता र केही विस्मृतिसँगै किमकर्तव्यभिमुढता जेलिएर आयो । के भनु खोलु मेसेज किन खोलु नखोलु त खोल्नै नहुनका लागि कारण पनि छैन । कुनै पनि मेसेज हेर्न कुनै सिमितता त अवश्य पनि छैन । न कुरै गर्न नहुने गरी ग्रेटवाल खडा भएको छ । तर, मन पुरै दुविधामा पर्यो । शब्दले मनमा द्वन्द्व जन्माएको धेरै समय पछि हो । शब्दले अथवा व्यक्तिले मनमस्तिष्कमा प्रभाव जमाएको धेरै पछि हो ।
मन यसै घोत्लिरह्यो त्यही कुरामा, कविताले इनवक्समा छोडेको मेसेजमा । नखोल्दै मेसेजमा ‘हाई’ देखिएको छ । सोचें मेसेजमा के– के लेखेर पठाएकी होली । कसरी उ सँग संवाद शुरु गरुँ ।
सोच्दा–सोच्दै जोशी सरको ‘हाई’ भनेर अर्को मेसेज आइपुग्यो र श्रीमतीको ब्रेकफास्ट पनि सँगसँगै आइपुग्यो । कविताको इनवक्सले मेरो मन नै तरङ्गीत बनाएको थियो । मन झङ्कृत बनाएको थियो । शरीरमा छुट्टै संचार भएको थियो । मन मस्तिष्कमा छुटै प्रभाव थियो । खासमा भन्ने हो भने इनबक्समा देखिएको ‘हाई’ ले मेरो मुड नै परिवर्तन गरिदिएको थियो । मेसेजको रियाक्सन लुकाउन मैले तुरुन्तै मुड चेल्ज गरे र गफिन थालेँ श्रीमतीसँग प्रेम, सद्भाव, उसका डिमान्ड र सपिङका कुराहरुसँगै ।
यता जोशी सरले अर्को मेसेज पनि ठेलिसकेछन्। कविताको मेसेज केही समयका लागि वेवस्तामा पर्यो । जोशी सरको सानो कविता आएको रहेछ र सँगै नोट थियो– “बहिनीलाई नदेखाउनु है, पढेर डिलिट गरिदिनु ।”
मैले ‘हा हा’ लेखी पढाएँ र भने– “ होइन सर, बुढाबुढी सँगै बसेर पढ्ने केही श्लील पनि लेख्नुपर्यो ।”
तुरुन्त प्रतिक्रिया आयो– “बजारमा यस्तै चलेको छ नि ।”
अर्को दिन देखि कवितासँग बल्ल संवाद शुरु गरेँ । के कुरा गर्ने कुरामा मनमा दुविधा चलिरह्यो । एक मनले सोचे उ सँगको संवादमा किन पो गहिराईमा जाउँ । यहाँ आफ्नै तरिकाले चलिरहेको जिन्दगी छ । किन पो पुराना यादहरुलाई कोट्याउँ । किन पो त्यो बैशको आवेगलाई तिक्ततामा राखिरहुँ। अर्को कुरा पनि मनमा आइरह्यो । कुनै बेला कविताप्रति त्यो मेरो एउटा समर्पण थियो । त्यो मात्र एउटा उमेरको आवेग थियो ।
“तिमीविना बाँच्न नसक्ने” प्रस्ताव अस्विकृत भएदेखि कहिल्यै अर्को समपर्ण लिएर उसँग पुगेको थिएन । तर जे भए पनि त्यो बेलाको क्या समपर्ण थियो । क्या आफ्नै जिन्दगीको महसुस थियो ।
उसले मेसेन्जरमा लेखी– “स्कुलबाट छुटेदेखि भेट भएन है ।”
मैले अझ कुरा स्पष्ट पार्दै भनेँ– “तिमीप्रतिको प्रेमको प्रस्तावना अस्वीकृत भएपछि भेट भएन भनुँ न ।”
उसले हाँसो सहितको इमो पढाई । म त्यसै–त्यसै मस्किरहेँ । अहिले कुनै पनि पीडा थिएन अस्वीकृत प्रेमको र तिरस्कारको । न करुणा र दया नै थियो आफै प्रति । बस त्यो एउटा आवेगको अभिव्यक्ति थियो अझ भनौँ उमेरको अभिव्यक्ति अथवा वैशको अभिव्यक्ति थियो ।
वास्तवमा म पछिल्लो सातादेखि मेसेन्जरमा अलि व्यस्त हुन थालेको छुँ । अहिले जिन्दगीको केही फ्ल्यासव्याक भएको छ । यो डिजिटल र शहरी जिन्दगीले म आफै देखि टाढा हुँदै गएको थिएँ । तर, कविताको आगमनले त्यसलाई केही निस्तेज तुल्याईदिएको छ ।
न उत्सवमा कसैसँग सामिप्यता थियो, न हार्दिकता कसैसँग थियो । न म कसैसँग व्यक्तिगत र पारिवारिक पीडा र चोटमा नजिक हुन पाएको थिएँ । न आफ्ना भनिएकाहरुसँग नजिक हुन पाएको थिएँ । परदेशको जिन्दगीले मेरा सामाजिक सम्बन्धहरु ध्वस्त बनाएको थियो । मलाई आफ्नैहरु देखि टाढा बनाएको थियो । कतिपय कलेज पढ्दाताकाका साथीहरुको समेत भन्न भ्याइसकेका थिए– “बुढी पाए देखि अलि फुर्सद हुन छोडेको हो ‘दाई’ लाई ।”
कलेज पढ्दाताका ‘दाई’ केटाहरु बीच खुब चलेको थियो । उमेरले सानो होस वा ठूलो सबैले सबैलाई ‘दाई’ नै भन्ने गरिन्थ्यो । अहिले पनि साथीहरु त्यो थेगो दोहोर्याउँछन् । यसलाई एउटा कलेजको ठूलो उपलब्धी हो भनु न । तर अमेरिका आएदेखि साथीहरुसँग कलेज डिग्रीको बहस नगरेको पनि धेरै भएको थियो ।
यो साता कवितासँग मेसेन्जरमा लामा लामा संवाद भए तर हामी धेरैपछि सम्म फोनमा बोल्ने प्रयास गरेनौ । उसले न त्यो प्रस्ताव राख्न सकी, न म नै बोल्न आतुर रहें । कवितासँग च्याट भने निरन्तर चलिरह्यो ।
उसले सोधी – “ विहे त मेरै गाउँबाट गरेछौ ।” मैले ‘अँ’ मात्र भने ।
मैले फेरि जोडे – “दुई नानी र बाबुकी आमा भइसकिछौ त ?”
अनि त्यसमै जोडेँ – “के गर्छौ आजकल, के मा व्यस्तता छ ?”
उसले “हा हा” लेखी र भनी – “नजिकैको प्राथमिक स्कुलमा पढाउँछु र घरमा नानीबाबु भएपछि अरु के नै चाहियो र ।”
आजकल कवितासँग गफिन थालेदेखि श्रीमतीसँग अलि कम संवाद गरिरहेको छुँ । अझ भनु न फेसबुकको मेसेन्जरमा भुल्न थालेदेखि अलि व्यस्त हुन थालेको छु ।
काममा जानेबेला काम नै भैहाल्यो, अरुबेला घरमा सीमित समय नै हुन्छ । अलि व्यस्त नै छ जिन्दगी । सिस्टमको व्यस्तता र नियमको फलो गर्नुपर्ने बाध्यताले जिन्दगी त लगाम लगाएको घोडाजस्तो भएको छ जे गर्नुपर्ने हो त्यो समयमा गर्नु नै पर्ने हुन्छ । त्यसमा पनि कवितासँगका लामा–लामा संवादले समयलाई अझ साँघुरो बनाइदिएको छ । श्रीमतीको यसमा प्रतिक्रिया थियो– “होइन खासै मेसेन्जरमा नभुल्ने मान्छे, आजकल त पुरै व्यस्त हुन थाल्नु भएको छ त च्याटमा ।”
म मन्द मुस्कुराएँ र भने – “स्कुले साथीहरु भेटिएका छन् मेसेन्जरमा । त्यो बेला र उमेरको पुरै फ्त्यासव्याक भैराको छ धेरैपछि ।”
श्रीमती भन्छिन् – “कि ट्रेजेडी र कमेडीको पुरै फ्ल्यासव्याक भयो कि क्या हो ।”
श्रीमती रोमान्टिक हुँदै मलाई जिस्काउँदै गफिन थालिन् । विरलै पाइने फुर्सदमा कि त हामी विगतका रमाइला गफ गरेर बिताउँछौ कि टाढा टाढासम्म कार लिएर घुम्न निस्कन्छौँ ।
यसै गफगाफमा मैले श्रीमतीलाई प्रतिक्रिया दिएको थिएँ– “सबैको हल्काफुल्का विगत भैहाल्छ नि , वन साइडेड प्रेम गरेकी स्कुले प्रेमिकाले तीन बच्चा हुर्काइसकिछ । म पो पछि परेछुँ ।”
श्रीमतीको प्रतिक्रिया आयो– “शुभ कार्यमा किन ढिला त महाशय ।”
× × ×
साँच्चै कवितासँग कुरा गर्न थालेदेखि स्कुले जीवन पुनर्ताजगी भएको छ । चट्पटे खाने, केटाकेटी झगडा गरेर छुट्टै पिकनिक जान,े केटाहरुको पछाडि पुच्छर बनाउने, चकले कालोपाटीमा अनेक कुरा लेख्ने र ट्युसन जाने भन्दै दिनभर क्यारेम खेल्ने हाम्रा दैनिक क्रियाकलाप थिए । अरु पनि कति चकचके क्रियाकलापहरु थिए स्कुलताका । कति त विस्मृतिमा गइसके । कति त बेला र प्रसङ्गले सझनामा आइहाल्छन् ।
साह्रै आत्मीय लाग्छ त्यो क्षण । नौ कक्षा पढ्न अर्को स्कुलमा आएदेखि नै मलाई प्रेम र यौवनका विषयमा धेरै परिवर्तन आएको महसुस भएको थियो । कतिपय कुरा त उपल्लो कक्षाका दाईहरुको देखेर पनि सिकियो होला । साँच्चै धेरै परिवर्तन आएको थियो हाइस्कुल पढ्न अर्को स्कुल जान थालेदेखि । अझ स्पष्ट भनु न, धेरै फरक महसुस गरेको थिएँ कवितालाई भेटेदेखि ।
कुनै समय लाग्थ्यो वाइ– वाई चाउचाउको सुप मात्र घरमा बनाउँदा , यो पनि बाँडेर खान पाए हुन्थ्यो । जसोतसो एकसरो नयाँ लुगा बुबा आमाले किनिदिँदा उसलाई मनपर्छ होला वा पर्दैन होला भन्ने कौतुहलता मनमा आइरहन्थ्यो । अलि स्टाइल पारेर कपाल काट्दा पनि उसले राम्रो मान्यो कि नाई होला भन्ने लाग्थ्यो । घर फर्किने बेला उसलाई साइकलको पछि बसालेर सकिनसकी पाइडल मार्दा पनि रोमाञ्चक नै हुन्थ्यो समय ।
मेसेन्जरमा च्याट गर्दा अस्ति कवितालाई भनेको पनि थिएँ । – “तिमी त त्यो बेला पनि कम्ता मोटी थियो, कम्ता गाह्रो हुन्थ्यो तिमीलाई साइकलमा राखेर ग्राबल बाटोमा चलाउन ।”
उसले पनि हाँसै हाँसोमा मेरो पुरै हुलिया बताइदिएकी थिई – “लुरे, पातले, लाम्घारे अनि झुसे” रे ।
साँच्चै म पनि त्यस्तै थिएँ त्यो बेला । अग्लो त थिइन र अहिले पनि हुन पाइन । ज्यादा लुरे भएर कविताको आँखामा लाम्घारे देखिएको थिएँ होला ।
यो छोटो च्याट गफले धेरै कुरा खोलिदिएको छ । कति सम्झन लायक र कति विर्सन लायक कुराहरु मनमा आइरहेका थिए । कक्षामा केटीहरुसँग झगडा गरेर केटा र केटी छुट्टा– छुट्टै पिकनिक गएका थियौँ । विदाइ कार्यक्रममा केटीहरुले पाइन्ट लगाएर आए भनेर प्रीन्सीपल नै समारोहमा आएनन् । साँच्चै सबैकुरा खोल्दै गयो भने त शिलशिला नै मिल्दैन होला विस्तार गर्न पनि किनकी स्कूले जीवनका याद धेरै छन् ।
त्यसयता जिन्दगीको दशक बितिसकेछ । अझ स्पष्ट भन्दा डेढ दशक नै भयो भनु न । समयले त हामीलाई धेरै बुढो बनाइसकेछ । समय यसरी कुदिसक्यो कि, यसमा कुनै लगाम नै लगाउन सकिदैन । कुनैबेला आफूले अङ्कल भन्ने मान्छे अलि उमेरको, बुढो र पाको लाग्थ्यो तर आफैले अङ्कल सम्बोधन पाउन थालेको पनि अलि वर्ष नै भइसक्यो तर अझै पनि मन स्कुले यादहरुमा ज्यादा रोमाञ्चित हुन्छ ।
अँ साँच्चि इङ्गीत गरेको थिए नि– “प्रेमको प्रस्तावना अस्वीकृत पश्चात भेट नै भएन ।”
त्यो बेला एसएलसी पास गर्नु पर्ने ठूलो जिम्मेवारीसँगै जिन्दगी रोमाञ्चक यात्रामा निस्किसकेको थियो । साथीहरु अरु पनि त्यस्तै थिए । कतिले आफ्नो कुरा भन्दैनथे, कतिले आफ्नो कुरा भन्थे ।
मैले ठूलो साहस गरेर एसएलसीको अन्तिम दिन कवितालाई प्रेम प्रस्ताव राखेको थिएँ । प्रस्ताव अस्वीकृत भएदेखि नै न हामी दोस्रो पटक भेटियौ, न भेट्ने प्रयास गर्यौँ । न त बहस गर्न कुनै त्यस्तो माध्यम नै पायौँ ।
हिजो कुरै कुरामा सोधेको पनि थिएँ कवितालाई – “के त्यो बैसको आवेग थियो अथवा अन्तस्करणको चेतना ?”
तर कविता मौन रही र प्रतिक्रियाहीन । सायद बोल्न पनि चाहिन होला पुरिइसकेका घाउहरुका बारेमा । बहसका लागि उसले कुनै तर्क पनि देखिन होला । मैले पनि सोचेँ यी कुराहरुमा बहस गरेर केही गुञ्जायस पनि छैन । घुमाउरो तरिकाले कवितासँग माफी पनि मागे । वास्तवमा संवेदना कति मजबुत हुँदोरहेछ । भावना कति ओजिलो हुँदोरहेछ । दशकौँ पछि पनि मनमा उत्सुकता जगाउँछ, काउकुती जगाउँछ ।
मैले पुराना कुरा कोट्याउन थालेदेखि कविता मसँग बोल्न पनि छोडी । लगभग उ मसँग औपचारिक मात्र बन्न थाली । मैले पनि धेरै सोध–खोज गर्न चाहिन यो विषयमा । वास्वतमा पुरानो कुराले एकदशक पछि पनि मन अमिलो बनायो ।
वितेका केही हप्ता कवितासँग खासै कुरा भएन मेसेन्जरमा केही समय म पनि खोजिन उसलाई । एक त उसको आफ्नै सुसेधन्धा छ, मेरो आफ्नै सुसेधन्धा छ । हामी दुवै परिवार भएका मान्छे, आफ्नै पारिवारिक जिम्मेवारीले धेरै समय व्यस्त बनाउँछ ।
यसै मेसेन्जरमा भुलिरहँदा कलेजका एक–दुई जना साथीहरुको मेसेज आइरहन्थे । प्राय साथीहरुलाई छोटै भए पनि प्रतिक्रिया फर्काउँथे । फर्सुद र समय मिल्दा त मज्जैले गफिन्थ्यो पनि । कोरियाबाट पराजुलीको बोरोको मेसेज आएको रहेछ । मेसेन्जरमा निकै बेला–बेलामा गफिने साथी हो उ ।
उ लेख्छ– “ के छ खबर तिम्रो अमेरिकातिर ।”
मैले तुरुन्तै उत्तर फर्काएँ – “ठीकै छ, सामान्य छ जीन्दगी”
मैले पनि उसलाई सोधेँ – “के कसो चल्दै छ त्यतातिर ?”
उसले उत्तर दियो– “चुरोट पिउँदै छु यार । कलेजमा त हामीले खुब तानिन्थ्यो है ।”
फेरि थप्यो– “साँची तिमी तान्छौ नि चुरोट, कि छोड्यौ ।”
मैले रिप्लाई गरें – “जिन्दगीको माया लागेर पोहोरदेखि छोडिदिएँ ।”
पराजुली व्यङ्ग्य गर्दै लेख्छ– “जीन्दगीको माया हो कि भाउजुको गाली बढी भएर छोडेको हो, हाहा ।”
एकछिन च्याट संवादमै हाँसो चल्यो । बेला–बेला केही यस्ता आत्मीय मित्रहरुसँग यस्ता गफगाफ भइरहन्छन् । साथीहरु हेल्लो, हाई त पठाइरहन्छन् । म उनीहरुसँग औपचारिक मात्र हुन सकेको छु । तर धेरै पछि कवितासँग निरन्तर संवादमा भने जोडिसकेको छुँ । एकपटक फेरि कवितासँग उही रमाइला गफसँगै छु ।
एकहप्ताको निरन्तर च्याटपछि कविताले मेरा निजी जिन्दगीका प्रश्नहरु सोधी । कतिपय प्रश्नहरुको उत्तर दिएँ । कतिपय प्रश्नमै सीमित रहे उसका जिज्ञासाहरु ।
उसले भनी– “नेपाल आएको बेला भेट पनि भएन, हुन त स्कुल पछि कहिले पो भेट भो र ।”
मैले रिप्लाई गरेँ– “हामी फेसबुकमा पनि थिएनौ र कैले पहिला कुराकानी पनि भएन । त्यसैले तिम्रो बारे केही थाहा भएन ।”
सायद मैले स्कुलपछि कवितालाई कहिल्यै पनि खोजिन । त्यसपछि जिन्दगी आफ्नै रफ्तारमा कुद्यो । कलेज, जागिर र आफ्नो अस्तित्व बनाउन जिन्दगी धेरै कुद्यो त्यसपछि । मास्टर्सको पढाइ सकेर अमेरिका हानिए पछि पनि त्यो रोकिएन । यहाँ पनि सबै कुराको व्यवस्था गर्न जिन्दगी अझ बेगमा कुद्न थाल्यो ।
उसले च्याटमा रिप्लाई गरी – “अव त थाहा भो नि, म कहाँ छु भन्ने कुरा ?”
फेरी सोधी– “कस्तो छ बसाई, कस्तो छ जिन्दगी, कस्तो चल्दै छ ?” मैले भने– “खुसी र सन्तुष्ट छु, आखिर जिन्दगीले खोज्ने पनि त्यही नै त हो ।”
अनि फेरी थपेँ– “मुग्लान जाने कर्म लिएर आएको नेपालीको छोरो, फरक ठाउँ र तरिकामा त्यही जिन्दगीको दोबाटोमा छुँ ।”
हुन पनि हो, पहिला भारतको विभिन्न सहर र बर्मासम्म पुग्ने नेपालीहरु अहिले टाढा–टाढा सम्म पुगेका छन् । फरक यति त हो । भारतमा पनि रोजिरोटीको सिलसिलामा गएका नेपालीहरु उत्तिकै छन् ।
यता आफ्नो पारिवारिक जिम्मेवारी थपिएसँगै व्यस्तता बढेको छ । जिन्दगीको स्वतन्त्रता केही हदसम्म पुड्को भएको छ । तर अनेक भोगाई थपिएका छन्, अनुभव थपिएका छन् । आखिर भोगाइको उत्कर्ष नै जिन्दगीमा रोमाञ्चित हुने पल त रहेछ ।
फेरि मैले कवितालाई सोधेँ– “मेरो श्रीमतीको तर्फबाट विहेमा आएनौ ?”
उसले भनी– “आएकी थिए, टाढैबाट शुभकामना दिएर फर्किएँ । एकमनले भेट्छु, बधाई दिन्छु भने तर खै किन हो एउटा संकुचनबाट अघि बढ्न सकिन, खै केले रोक्यो मलाई । त्यो अस्वीकृत प्रस्तावको दम्भले हो या इश्र्याले । त्यो बेला कुरा गर्न सकिन, बोल्न सकिन ।”
मैले भने– “अब नेपाल आएको बेला अवश्य भेट्नेछु ।”
कवितासँग कुरा गर्न थालेको महिना भइसक्यो तर पनि हामी एकपटक पनि फोनकलमा बोलेनौँ र दुवैले कुरा गर्ने उत्सुकता पनि देखाएनौ । बरु केही पारिवारिक फोटोहरु आदान–प्रदान गर्यौँ । फोनमा भन्दा च्याटमा गफिँदा छुट्टै मजा भइरहेको थियो । हिचकिचाहट कम, हतार कम र आत्मीयता च्याटगफमा बढी थियो । अझ कुराकानीको गहिराई ज्यादा थियो ।
जेसुकै होस, डिजिटल जिन्दगीले हामीलाई पन्ध्र वर्ष पछि नजिक ल्याएको थियो, आत्मीय बनाएको थियो । कुनै बेलाको प्रेमको पहिलो अंकुरणलाई नजिकै ल्याइदिएको थियो । वास्तवमा त्यो रोमाञ्चकता र तन्नेरी उमेरको अंकुरणलाई विरलै अनुभूत गर्न सकिएला । तर मलाई प्रेमको अंकुरणको करिब – करिब पुगेको अनुभव भने भइरहेको थियो ।
कुरै– कुरामा कविताले नेपाल गएको बेला आफ्नै हातले खाना बनाएर खुवाउने प्रस्ताव गरी । मैले पनि केही उपहार लिएर भेट्न आउने बाचा गरेँ ।
पछिल्लो हप्तादेखि म अलि व्यस्त हुन थालेको थिएँ । व्यस्तता सँगै एक महिना हुन लागेको थियो कवितासँग लामो कुरा नभएको । फरक भूगोल, आफ्नै व्यस्तता अनि पारिवारिक जिम्मेवारीले हामी दुवै जनालाई आफ्नै संसारमा भुलाएको थियो ।
धेरै पछि कवितालाई अफलाइन मेसेज छाडेको थिएँ । उसले पनि प्रतिक्रिया पठाएकी थिई– “सबै ठीकै छ, आजकल अलि सन्चो छैन । निमोनिया भएको छ ।”
त्यसपछि मैले उसको स्वास्थ्य अवस्थाबारे हरेक पटक सोध्ने गर्थे ।
उसले मेजेन्जरमा लेखेकी थिई– “ श्रीमान आउनुभएको छ, अलि सजिलो भएको छ ।”
तर पटक– पटकको गफमा उ धेरै निराशावादी कुरा गर्ने भएकी थिई । जैलै छाती दुखी रहन्छ पनि भन्थी । सास फेर्दा गाह्रो हुन्छ पनि भनेकी थिई । कहिलेकाहीँ मृत्युको कुरा उठाएर प्रश्नोत्तर गर्न चाहान्थी । म उसका यस्ता संवादलाई बेवास्ता गर्थे र आशा र भरोसाका कुरा गर्न खोज्थेँ ।
मैले सम्झाएको थिएँ उसलाई– “आत्तिनु हुन्न, श्रीमान सँगै छन्, सबै ख्याल गर्छन् ।”
उसले भनेकी थिई– “चेकअप गरेर औषधि खाएको पनि एक महिना भयो तर बीसको उन्नाइस भएन ।”
संवादहरुमा छोरीहरु र छोराको मायाले मात्र यतिसम्म उभिन सकेकी छुँ भनेकी थिई । घरि–घरि म त बाँच्दिन होला विवेक भन्थी । मैले पटक–पटक सम्झाए बुँझाए र भने– “ तिमी घरमा छौ, छोरा छोरीको साथमा छौ, माया र पूर्ण सहयोग गर्ने श्रीमान पनि छन्, सब ठीक हुन्छ कविता ।”
उसले हिजो फोटो नि पठाएकी थिई । हेरेँ । अहिले उ साह्रै दुब्लाइछ । उसलाई रोगले भन्दा पनि चिन्ताले गालेको हो कि जस्तो लाग्यो । सायद आफू मरेँ भने कलिला छोराछोरीले दुख पाउँछन् भन्ने चिन्ताले बढी गाल्यो कि ।
उसले पछिल्ला संवादहरुमा डाक्टरले ठीक हुन्छ भन्छ तर मलाई किन ठीक हुन्न भनेकी थिई । भान्सा, ट्वाइलेट र कोठा गर्न पनि गाह्रो भएको भनेकी थिई । मुटु दुखेर आफै मर्छु कि जस्तो हुन्छ भनेकी थिई । मुटुको चाल बढेर कहिले आकाश गर्जे जस्तो गर्छ र कहिले सुनसान खोला जस्तो हुन्छ भनेकी थिई ।
उसका यस्ता प्रतिक्रियाले मलाई सोच्न विवश बनाएको थियो । पछिल्लो समय अलि निराश बनाएको थियो । बल्ल तीसको हाराहारीमा पुगेका हामी मत्युको बहस पो शुरु गरेका थियौँ । कवितासँगका केही हप्ताका गफ यस्तै थिए । उसको पीडाले मलाई त्यस्ता कुरा सोच्न बाध्य बनाएको थियो होला ।
वास्तवमा उ त्यति कमजोर मान्छे पनि थिइन । निडर, हटी र स्पष्ट स्वभावकी थिई । उसको त्यस्तै बानीले मलाई छिटो आकर्षित गरेको थियो । स्कूलमा ऊ स्पष्ट बोल्ने र हठी स्वभावकी केटीको रुपमा चिनिएकी थिई ।
अहिले उ एकदम गलेकी छे । हुन त बितेका पन्ध्र वर्षमा उसले के– कस्ता झन्झट झेली । उसले पनि भनिन र मैले पनि सोधिन । तर पनि उसको गल्ने र निराशावादी हुने उमेर भने हुँदै होइन ।
कविताका गम्भीर अभिव्यक्तिले मलाई कि कविता झुट बोलेकी छे कि मलाई आफ्नो समस्या भन्न चाहाँदिन भन्ने लागिरह्यो । त्यो पनि हुन सक्छ भन्ने सोचेँ । जति नजिकबाट आत्मिय भएर कुरा गरे पनि म परिवार भित्रको मान्छे भने होइन । डिजिटल वार्तामा भेटिएको स्कुले साथी न हुँ । तर म चाहान्न कविता त्यसरी गलेको देख्न । उसका आशा र भरोसाहरु मरेको देख्न । उमेरले पनि उसलाई त्यसरी गल्न दिँदैन ।
धेरै दिनसम्म कवितासँग यस्तै–यस्तै कुरा भइरहे । मैले उसलाई सम्झाइरहे । अर्को डाक्टरकोमा चेक गर्न सुझाव पनि दिएँ । सकेको सहयोग गर्ने वचन पनि दिएँ । उसले दुई– तीन ठाउँमा फरक डाक्टरसँग चेक पनि गराई । तर पनि समस्या उस्तै छ भनिरही ।
कविता आफ्नै जिन्दगीसँग लडीरहेकी थिई । पहिला जस्तो त्यति बाक्लो हाम्रो कुरा हुँदैनथ्यो । पटक– पटक मेसेजबाट अपडेट भने लिइरहन्थे ।
अघिल्लो दिन कवितासँग छोटो कुरा गरेर सुतेको थिएँ । केही आशावादी गफ गरेका थियौँ । अर्को दिन विहान उठेर प्राय म मोवाइलको नोटिफिकेसन, मेसेज र फेसबुक चेक गर्छु । स्कूल सँगै पढेको साथीको मेसेज र फेसबुकमा पोष्ट देखेँ । मणिले लेखेको थियो – “विवेक हामीले हाम्रो साथी गुमायौँ । अलविदा कविता ।”
यस्तो मेसज र पोष्टहरुले मलाई गहिरो पीडामा धकेल्यो । पछिल्लो समय कविताकै स्वास्थ्यलाई लिएर धेरै संवाद गरेका थियौ । आखिर जे नहुनु पर्ने थियो, त्यही भइदियो । कविता हामीबाट हराएर गई । कविता हाम्रो बीचबाट बिलाएर गई । श्रीमातीसँग दुःखद घटना सेयर गरेर मन हलुका गर्ने प्रयास गरेँ । तर यति सजिलो भएन यो पीडालाई भुल्न ।
धेरै वर्ष पछि भर्चुअल प्लेटफर्मले छुटेको आत्मियतालाई जोड्दै थियौँ । हाम्रो सामिप्यता अझ आत्मीय हुँदै थियो । नेपाल आएको बेला भेट्ने बाचा पनि गरेका थियौँ । उसले त अझ आफ्नै हातले खाना बनाएर खुवाउने भनेकी थिई । आखिर सबै छुटेर गए । कविता छुटेर गई । ति नानीहरुले जवान आमा गुमाए । उसका श्रीमान र छोराछोरी कुन पीडामा होलान्, अनुमान सम्म पनि गर्न सकिन । एकपटक नेपाल आएकोबेला भेट्ने बाचा छुटेर गयो । एकपटक छुटेको प्रेम सँधैलाई छुटेर गयो ।
राम अधिकारी साहित्यकार,लेखक हुनुहुन्छ ।
प्रतिक्रिया