“विविधताको पहिचान नागरिक शिक्षाको सम्मान”

राजदेव यादव २०७७ चैत १० गते २१:३६ मा प्रकाशित

अनेकतामा एकता नै हाम्रो देशको मूल विशेषता हो।नेपालमा विविधतालाई राज्यले स्वीकार गरिसकेको अवस्था छ।समाजमा रहेका सबै भाषा,धर्म,जात जाति, संस्कृति,सम्प्रादय वर्ग लिंगको पहिचान गरी सार्वभौमसत्ता सम्पन्न जनताको राज्य र लोकतान्त्रिक शासन व्यवस्थाप्रति राजनीतिक सामाजिक सांस्कृतिक आर्थिक विकासको लागि प्रचुर दायित्व पूरा गर्न नागरिकलाई आवश्यक पर्ने खालको ज्ञान सीप दक्षता एवं क्षमताको प्रवर्द्धन र विकास गर्न नागरिक शिक्षामा विशेष जोड दिनु आजको महत्त्वपूर्ण आवश्यकता हो।

देशको हरेक व्यक्तिलाई सफल नागरिकको रुपमा रुपान्त्रण गर्न र आफ्नो अधिकार तथा कर्तव्य सही रुपमा पालना गर्न र गराउन नागरिक शिक्षाको अहम भूमिका देखिन्छ।

सार्वजनिक वा राजनीतिक मत/ विकल्पको निर्माण गर्न सक्ने ती विकल्पहरु मध्ये उत्तम विकल्पको खोजी बारे आफ्नो विवेक प्रयोग गरी निर्णय लागु गराउन सक्ने र आफ्नो काम कर्तव्य वोध गर्न सक्ने अवस्था सिर्जनाका लागि सचेत मनमा सही वहस गरी तथा अनूकुल पैरवी गर्न समाजमा रहेको विविध पक्षहरुको पहिचान गरी नागरिक शिक्षा दिनु अपरिहार्य देखिन्छ।

असल सुन्दर तथा सफल स्वशासनका लागि नागरिक शिक्षा दिनु पर्दछ। स्वयम व्यवस्थापन स्वयम नियन्त्नण स्वयम परिचालन स्वयम उपलब्धी हासिल गर्न नागरिक शिक्षामा लगानी गर्नु समाजको दायित्व हो।

नागरिक शिक्षाको सम्मानले व्यक्तिलाई सशक्तिकृत बनाई आफ्नो विषयमा निक्यौलमा पुग्न स्वयम आफैँलाई सक्षम दक्ष प्रतिस्पर्धी गरी खाने उच्च सम्मान सामाजिक मर्यादा उच्च ओहदामा पुग्न सक्ने भएकोले सबैको प्रिय प्रात्र बन्न सघाउँदछ।

नागरिक शिक्षाको सम्मान किन ?

हरेक व्यक्तिलाई आ-आफ्ना अधिकार जिम्मेवारी उतरदायित्व जवाफदेहि कार्यशैली काम कर्तव्य तथा आचरण बारे सचेत हुन।
अरुको अधिकारलाई सम्मान गर्न
मानवीय हित तथा चाहना प्रवद्धन गर्न
सामाजिक सांस्कृतिक सदभाव बढाउन
विश्वास भातृत्व नैतिक मूल्यमान्यता अनुशासन कायम गर्न
भाषिक जातीय लैङ्गिक विविधताको सम्मान गर्न
राज्य प्रणाली प्रति सजग रहन
शासनमा सहभागीता हुन
नागरिक अधिकारको रक्षा गर्न
प्रजातन्त्रिक संस्कारको जगेर्ना गर्न
विधिको पूर्ण रुपमा पालना गर्न
राष्ट्रियता कायम गर्न
सामाजिक-सांस्कृतिक एकता बढाउन
दिगो शान्ति वातावरण संरक्षण गर्न
कला साहित्यको जगेर्ना गर्न

सफल नागरिक गुणहरु

इमान्दारिता
नैतिकता
देशभक्ति
खुला सोचाई
उचित प्रतिवद्धतता
नागरिक सोचाई
शिष्टता
समालोचनात्मक चेत
विवेकको सही प्रयोग
अरुलाई सम्मान गर्ने
समयको पालना

समस्याहरु

विचार नमिलेकै कारण नागरिकहरु आन्तरिक तथा वाह्य रुपमा विस्थापित बन्न वाध्य भएका छन्।
आफूलाई समय सापेक्ष ढाल्न नसक्नु
नागरिक बिच अरुको कुरा सुन्ने अर्काको विचार सम्मान गर्ने सहनशीलताको अभाव
आफ्नो विचार जवर्जस्ती लाद्न खोज्ने
नागरिक शिक्षा सम्भ्रान्त वर्गको मात्र हो भन्ने भ्रम
व्यस्यकहरुमा राजनीतिप्रति उदासिनता
नागरिक शिक्षा अव्यवास्थित हुनका साथै पार्टीगत शिक्षामा रुपान्त्रित हुनु।
गरिव नागरिक राष्ट्र सेवाको सट्टा विदेशीको सेवा गर्न वाध्य हुनु।

अब कसरी नागरिक शिक्षा विस्तार गर्ने

औपचारिक/अनौपचारिक रुपमा विस्तारीकरण
विधमान पाठ्यक्रममा नविन मान्यता अनुरुप परिमार्जन संशोधन तथा सवलीकरण गरेर
नविनतम मूल्य मान्यता अनुरुप
नागरिक शिक्षा प्रदान गरेर
नागरिक शिक्षाको प्रभावकारी सम्प्रेयणका लागि सञ्चारका साधनको अत्याधिक प्रयोग गरेर
जनचेतना सचतीकरण बढाएर
नागरिक र शिक्षा बिच अन्तरसम्बन्ध बढाएर

निष्कर्ष

संस्कृति सम्प्रदाय वर्ग लिंगको पहिचान गरी औपचारिक र अनौपचारिक माध्यमबाट सबै नागरिकहरुमा नागरिक शिक्षा दिनु पर्दछ। नागरिक शिक्षाले राष्ट्रलाई एक ढिक्का बनाउने लक्ष्य एवं उदेश्य बोकेको हुन्छ। नागरिक शिक्षा अनन्त रुपमा चलिरहने प्रकृया हो। त्यसैले गर्दा विविधपक्षको पहिचान गरी नागरिक शिक्षाको सम्मानमा विशेष जोड दिनुपर्दछ। खुला लोकतन्त्रिक समाजमा नागरिक शिक्षाको अस्तित्व संभव छ। यसको ग्रहन गर्न उमेरको छेकवार हुँदैन। तसर्थ घर परिवार समाज राष्ट्र र विश्व तहमा मानवता समझदारी नैतिक आचरण र सार्थक सक्रियताबाट नै नागरिक सभ्यता विकास गर्न नागरिक शिक्षाको सम्मान गर्नु एकदमै जरुरी देखिन्छ।

नाम: राजदेव यादव, शाखा अधिकृत,

शिक्षा विकास तथा समन्वय इकाई, धनुषा।

 

 

प्रतिक्रिया