अनुकूला छन्दकाे अभ्यास गर्दै “छन्दमा टुक्का अभ्यास श्रृङ्खला ५६” सम्पन्न

इनेप्लिज २०७९ चैत १८ गते १८:३४ मा प्रकाशित

काठमाडौँ,
टुक्का साहित्य समाजकाे आयाेजनामा २०७९ चैत ११ गते “छन्दमा टुक्का अभ्यास श्रृङ्खला-५६” सम्पन्न भएकाे छ। ” छन्दमा टुक्का अभ्यासशाला ” मा सञ्चालन भएकाे उक्त कार्यक्रममा छन्द प्रशिक्षकद्वय रामशरण न्याैपाने र अनिल खग्रासले प्रशिक्षण गर्नु भएकाे थियाे । अभ्यासमा विश्वका विभिन्न देशहरूबाट १४ नेपालीभाषी सर्जकहरूकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमकाे सहजीकरण टुक्का साहित्य समाजका अध्यक्ष तथा परिकल्पनाकार ताराप्रसाद चापागाईँले गर्नु भएकाे थियाे ।

विभिन्न छन्दहरू सिकाउँदै छन्दमा टुक्का कविता लेखनकाे विकासगरि नेपाली भाषा साहित्यमा विशेष याेगदान पुर्याउने उद्धेश्यका साथ छन्दमा टुक्का कविता लेखन अभ्यास श्रृङ्खला सञ्चालन भइरहेकाे छ । यस श्रृङ्खलाका सहभागीहरूले वार्णिक छन्द अन्तर्गत अनुकूला छन्दमा अभ्यास गर्दै टुक्का कविताहरू सिर्जना गरेका थिए।

कार्यक्रमकाे समापन गर्दै अध्यक्ष चापागाईं तथा प्रशिक्षकद्वय न्याैपाने र खग्रासले प्रयाेगवादी नव काव्यिक उपविधा टुक्का कवितामा छन्दकाे प्रयाेग गर्दै केही मात्रामा भए पनि छन्दमा काव्य सिर्जना गर्न प्रेरित गर्दै नेपाली भाषा साहित्यकाे जगेर्ना गर्ने प्रयास गरिएकाे जानकारी गराउदै उत्साहपूर्वक सहभागी भई अनुकूला छन्दमा सुन्दर टुक्का कविताहरू सिर्जना गर्नुभएका सहभागी सबै टुक्काकारहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।

::::: अनुकूला छन्द :::::
गणः भ त न गुरु गुरु
गण सङ्केत : २११ २२१ १११ २२
( ५ अक्षरमा विश्राम)

अभ्यासका क्रममा सङ्कलन भएका अनुकूला छन्दमा सिर्जना गरिएका केही टुक्का कविताहरू

[१]
१.
फुट्छ सिसाझैँ, अधिक घमण्ड
मिल्दछ दोषी, शठकन दण्ड।
२.
काफल पाक्यो, रनबन छायो
गीत चराले, मधुर सुनायो।
✍️ रामशरण न्यौपाने
भक्तपुर
[२]
घाम डुबेकाे छ क्षितिज बाट
आँसु खसाई अब दिन काट ।
✍️ ताराप्रसाद चापागाईँ
धुनिबेसी
[३]
१.
पालन गर्ने, नियम छ राम्रो
खेल जता होस्, जित सब हाम्रो ।
२.
इन्द्र बगैँचा नभभरि छाओस्,
लाग्छ छटाले वरिपरि धाओस् ।
✍️ म्यामराज राई
भोजपुर
[४]
१.
रुन्छु सधैँ नै, मनमन हेर,
लाग्दछ सारा, जगत अँधेर ।
२.
आउँछ झल्को, हरपल रानी,
खिच्दछ सारा, तनमन तानी ।
✍️ वसन्त अनुभव
घोराही, दाङ
[५]
१.
खान्छ लुटेरै कल छल गर्दै,
लिन्छ अरूको धन जन हर्दै ।
२.
मर्छ घमण्डी अति छ घमण्ड !
हो अपराधी गर प्रभु दण्ड ।
✍️ बिबस पारदर्शी
झापा
[६]
१.
बुझ्नु तिमी है,सब अभिभारा
जीवन यात्रा , हरपल सारा ।
२.
लाज पचेका,पुलकित बन्छन्
डुल्न बनेली हिँड पनि भन्छन्।
✍️ प्रेम थापा “मन”
बागलुङ
[७]
हेर त मान्छे पलपल जाने,
आखिर सारा तनमन खाने ।
✍️ आर्त अकुलीन
कैलाली
[८]
देश दुखेको बह नबताऊ
लाग्दछ साह्रै मनबिच घाउ ।
✍️ हिमा रोका
मेहेलकुना सुर्खेत
[९]
१.
गर्दछ मान्छे अविरल छल्ने,
कर्म नगर्ने हरदिन जल्ने।
२.
गर्दछ मान्छे,अविरल माली,
सोच्दछ ठूलै, सबजन ताली।
✍️ भगवती दवाडी
झापा
[१०]
सेवन गर्दै मद कप गन्दै,
हात समायौ नजिकिन भन्दै।
✍️ अम्विका अधिकारी
झापा विर्तामोड
[११]
१.
खोट नखोजी समतल नारा ,
नोट नरोजी समपथ धारा ।
२.
पर्व उतारी झलमल सारा ,
जात नहेरी मिलन छ पारा।
✍️ जमुना आचार्य
सिन्धुपाल्चोक
[१२]
१.
सांसद मन्त्री छलफल गर्छन्
जीवन धान्दै वरपर सर्छन् ।
२.
पुग्छ भनेथ्याै धन जन लेऊ
के कति हाम्रा जनमन देऊ।
✍️ इन्दिरा प्रयास
सानाेठिमी,भक्तपुर
[१३]
१.
लौ नत आऊ सहज छ काम ,
खानु त खायौ कलह छ दाम ।
२.
जानु छ साथी वरपर हेर्दै ,
देश नि हेर्दै मुख पनि फेर्दै।
✍️ बेदु न्यौपाने
काठमाडौ
[१४]
१.
जून उदायो टहटह छर्दै
लौन रमाऔँ चहचह गर्दै ।
२.
धेर छ जाडो वरवर आऊ
त्याग न गुस्सा बदन तताऊ।
✍️ बाबुराम गौतम
गुल्मी

प्रतिक्रिया