काठमाडौँ,
टुक्का साहित्य समाजकाे आयाेजनामा २०७९ चैत १८ गते “छन्दमा टुक्का अभ्यास श्रृङ्खला-५७” सम्पन्न भएकाे छ। ” छन्दमा टुक्का अभ्यासशाला ” मा सञ्चालन भएकाे उक्त कार्यक्रममा छन्द प्रशिक्षकद्वय रामशरण न्याैपाने र अनिल खग्रासले प्रशिक्षण गर्नु भएकाे थियाे । अभ्यासमा विश्वका विभिन्न देशहरूबाट २० नेपालीभाषी सर्जकहरूकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमकाे सहजीकरण टुक्का साहित्य समाजका अध्यक्ष तथा परिकल्पनाकार ताराप्रसाद चापागाईँले गर्नु भएकाे थियाे ।
विभिन्न छन्दहरू सिकाउँदै छन्दमा टुक्का कविता लेखनकाे विकासगरि नेपाली भाषा साहित्यमा विशेष याेगदान पुर्याउने उद्धेश्यका साथ छन्दमा टुक्का कविता लेखन अभ्यास श्रृङ्खला सञ्चालन भइरहेकाे छ । यस श्रृङ्खलाका सहभागीहरूले वार्णिक छन्द अन्तर्गत भुजङ्गप्रयात छन्दमा अभ्यास गर्दै टुक्का कविताहरू सिर्जना गरेका थिए।
कार्यक्रमकाे समापन गर्दै अध्यक्ष चापागाईं तथा प्रशिक्षकद्वय न्याैपाने र खग्रासले प्रयाेगवादी नव काव्यिक उपविधा टुक्का कवितामा छन्दकाे प्रयाेग गर्दै केही मात्रामा भए पनि छन्दमा काव्य सिर्जना गर्न प्रेरित गर्दै नेपाली भाषा साहित्यकाे जगेर्ना गर्ने प्रयास गरिएकाे जानकारी गराउदै उत्साहपूर्वक सहभागी भई भुजङ्गप्रयात छन्दमा सुन्दर टुक्का कविताहरू सिर्जना गर्नुभएका सहभागी सबै टुक्काकारहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।
::::: भुजङ्गप्रयात छन्द :::::
~ गण : य गण ४
~ गण सङ्केत : १२२ १२२ १२२ १२२
~ ६ अक्षर मा विश्राम
अभ्यासका क्रममा सङ्कलन भएका भुजङ्गप्रयात छन्दमा सिर्जना गरिएका केही टुक्का कविताहरू
[१]
१.
बनी राम खेद्ने सबै दुष्टलाई
यहाँ मर्द आओस् छिटै जम्जमाई।
२.
सबै शक्ति मिल्दा महाशेर बन्छन्
पुगे अत्यमा लौ मरेँ राम भन्छन्।
✍️ रामशरण न्यौपाने
भक्तपुर
[२]
१.
भुली पाप धर्मै, घमन्डी बनेर,
उसै बोल्छ दम्भी, म ठूलो भनेर ।
२.
कसैमाथि रत्ती, भरोसा न आशा,
जमाना छ पापी, छपक्कै निराशा ।
✍️ वसन्त अनुभव
घोराही, दाङ
[३]
१.
तिमी मस्किएकी मनै झस्किएकाे,
कता बाट आयाै ? कुनाे चस्किएकाे ।
२.
परेली चलाएर डाक्याै मलाई,
म देखेर रित्ताे लखेट्याै जलाई ।
✍️ निरज कोइराला
बेलका १ उदयपुर
[४]
इसारा तिमीले चलायौ मलाई
बसेको छु सारा कलेजी जलाई।
✍️ हिमा रोका
मेहेलकुना सुर्खेत
[५]
१.
पगालेर पानी ,कमाएँ त केही ,
जहाँबाट ल्याएँ,नयाँआत्मदेही।
२.
नचाहेर चाहा, बढेको छ धेरै ,
बढारेर मैला, थुपार्दैछु मेरै ।
✍️ होमप्रसाद
धरान,सुनसरी ।
[६]
रहेको कहानी अनौठो छ गन्छन्
रमेको जवानी, नजानेर भन्छन् ।
✍️ प्रेम थापा “मन”
बागलुङ
[७]
१
तिमीले जलायौ नराखेर साफी,
तिमीमै मलाई भयो प्यार काफी।
२.
अपेक्षा लिई पर्खिएरै बसेको,
कसोरी भुलौँला तिमीले डसेको ?
✍️ बिबस पारदर्शी
झापा
[८]
१.
कुनै याेजना छैन नेता नि कस्ता,
ल आए त कानै चिरेका नि सस्ता।
२.
दिलासा थियो है अनेकै छ राम्रो,
यहाँ देश कस्तो मिलेको छ हाम्रो ।
✍️ शाेभा आचार्य गाैतम
काठमाडौँ
[९]
झरेका नदीझैँ दुई धार आँसु
परेकाे छ पीडा कसाेरी म हाँसु ?
✍️ ताराप्रसाद चापागाईँ
धुनिबेसी
[१०]
१.
वसन्ती बिहानी सबैथोक राम्रो
चरीका खुसीमा धराधाम हाम्रो ।
२.
मिठाे लाग्छ ऐँसेलु चुत्राे मलाई
कुना कन्दराले गरे छन् भलाई।
✍️ इन्दिरा प्रयास
सानाेठिमी, भक्तपुर
[११]
१.
नलाऊ तिमीले भिजेको सिरानी,
गरेरै म जानी नगर्ने बिरानी ।
२.
कि देऊ तिमीले भरेको जवानी,
गरेको हुँ पूजा जपेरै भवानी ।
✍️ रामप्रसाद पुरी
बादेल खोटाङ।
[१२]
कसैले नसाेच्ने इसारा चलाई ,
अकस्मात् तिमीले छकायाै मलाई ।
✍️ रामकृष्ण दुवाडी
पाेखरा
[१३]
म आशा बचाई निराशा भगाऊँ
बनाई उज्यालो अँध्यारो हटाऊँ।
✍️ सुस्मिता अधिकारी
[१४]
तिमीले अनौठो कहानी सुनायौ
खुसी यो कसोरी निराशा चुनायौ।
✍️ अम्विका अधिकारी
झापा विर्तामोड
[१५]
१.
छ कानै बिरामी अनौठो कहानी,
कसोरी बनाई दिने सौम्य बानी।
२.
बदल्दै निराशा इसारा चलाई,
घमन्डै जलाए सबैको भलाई।
✍️अच्युत घिमिरे
भुटानबाट
[१६]
म तिम्रो स-सानो भरोसा हुनेछु,
लिई उच्च शिक्षा सितारा छुनेछु।
✍️ भगवती दवाडी
झापा
[१७]
नियात्रा उकालो हिँडेको भुलेछौ,
बगैँचा सुनौलो खुसीले फुलेछौ ।
✍️ आर्त अकुलीन
कैलाली
[१८]
१.
लुकाएर राखे बुनेको सिरानी
नठाने मलाई कहिल्यै बिरानी।
२.
हरायो तिमीले दिएको निसानी
कसोरी भुलौंला अनौठो कहानी ।
✍️ बाबुराम गौतम
गुल्मी
[१९]
१.
भएको नबाँड्ने अरूको त खाने ,
कसैको नराखी सबैबाट लाने।
२.
सहेरै बसेका रहेका बुहारी ,
कसैले त खेले छ रात्री जुहारी ।
✍️ बेदु न्यौपाने
काठमाडौ
[२०]
सधैँ एक गाना, मिलाएर गाएँ,
सुगन्धै बिनाको, जुही मात्र पाएँ।
✍️ म्यामराज राई
भोजपुर ।
::::: जय टुक्का! जय साहित्य!! :::::
प्रतिक्रिया