लक्ष्मी श्रेष्ठ । जाडोको मौसम त्यसमाथि बिहानै देखि अबिरल आँशु झार्दै गगन सुक्सुकाउँदै रोईरहेछ। थामिने कुनै नामो निशान छैन। जाडो, गर्मी, हिउँ या पानीहप्ताको ५ दिन आफैंसंगको युद्ध जारी राख्नु त छँदैछ।
गोली गठ्ठा बोकेर सिपाहीं युद्धमा निस्के झैं म पनि काँधमा झोला अनि अर्को झोलामा दिउँसोको खाना, छाता र एउटा बाक्लै साहित्यिक खुराक बोकेर बिहान करिब ८ बजे घरबाट गाँस, बास, र कपासको युद्धमा निस्किएँ, आखिर गाँस,बास् को सवाल छ।
चट्ट ट्रेनमा बसेर सरर फोनमा सन्देशहरु पल्टाएँ प्रतिउत्तर दिएँ र एक दुईवटा सन्देश पनि पठाएँ। त्यसपछि झोलाबाट सट्ट पासाँग जीको “ कोरोना कथा” झिकेर पढ्न थालें।
घरमा किताबको दराजमा धेरै साहित्यिक केशेलीहरुको लर्को लागेको छ। पढ्नु छ सबै एकपछि अर्को गर्दै। यो ५६६ पेजको किताब पासांग जीले कोरोना कालमा आफैंले देखेर, भोगेर, महशुस गर्दै आफ्नै अनुभवबाट तयार गर्नुभएको पुस्तक हो। यो पढ्न नसकुन्जेल अर्को किताबमा हात हाल्नु त हुँदै भएन।
साँच्चै भनुँ भने मेरो अध्ययन गर्ने , लेख्ने, ट्रेन अण्डरग्राउण्ड नहुन्जेल फेसबुक हेर्ने र सकेसम्म लाईक कमेन्ट गर्ने ख़ास स्थान भनेको ट्रेन नै हो।त्यसैले ट्रेनमा सिट होस् कि नहोस् उभिएर चाहे ट्रेनको ढोकामा अडेस लगाएर होस् या एउटा हातले ट्रेनको खम्बा समातेर होस् या त ट्रेन स्टेसनमा उभिएर होस् काममा जाँदा आउँदा किताब चाहिं पढ्छु। यसै क्रममा आज त सिटमा मजाले बसेर पढ्दै थिएँ झण्डै मेरो अर्को ट्रेन स्टेसन छुटिसकेछ। यस्तो २/ ३ पटक भैपनि सकेकोछ।
संधैं झैं क्वींस बोरो प्लाजाबाट अर्को ट्रेन लिएँ। एउटी भद्र महिलाले मलाई पुलुक्क हेरिन्। मेरो आँखा पनि उनीसंग जुध्यो। उनी मलाई हेर्दै सौहार्दपूर्ण तरीकाले मुसुक्क मुस्काईन् मास्क भित्रबाट। मास्क भित्र नै लुकेको अनुहार भएपनि मैले पनि उनलाई मिठो मुस्कान फर्काएँ। अचम्मै भएछ संयोगबश उनको र मेरो जाडोको ज्याकेट एउटै कम्पनीको एउटै डिजाईन् र एउटै रंगको पो परेछ। भएन त गज्जब!! मैले त सिट पाईहालें।उनी मलाई बेला बेला पुलुक्क पुलुक्क हेर्दैँथिईन्। म चाहीं किताब तिरै लागें।
पढ्दा पढ्दै “ छोराले रुवाएको दिन” शिर्षक खुब ध्यान दिएर पढ्न थालें हैन कसरी किन पासांग जी लाई छोराले रुवाएछ भन्ने कौतुहलता जाग्यो।
यस शिर्षक भित्र पेज नं ३६३ पेजमा जब बाबु एरोनले आफुले लेखेको चिठ्ठी आफैं पढ्न थाल्यो मैले आफुलाई थाम्नै सकिन।आँखाबाट बलिन्द्रधारा बर्षा भईरह्यो थामिने नामै नलिई जसरी आज गगन रोईरहेथ्यो। तै-तै मास्क र चस्मा पनि भएकोले ट्रेनका मान्छेले म रोएको देख्न पाएनन्।नाक सम्म बगेको आँशुलाई मास्कले झट्ट पुछ्दा चाहीं मेरो
दायाँ-बायाँ सिटमा बसेको यात्रुहरुले देखेछन् र किन रोएको होला भनेर यसो आँखा तन्काउँदै थिए तर मैले थाहै नपाएको जस्तो गरिदिएँ।हो हामी ठुला मान्छेहरु कत्ति नै आफ्नो बच्चाहरुको बाल मनोबिज्ञान बुझ्यौं भन्ठान्दारहेछौं तर बास्तबमा बुझेका हुँदैनौं भन्ने निचोड निकालें बाबु एरोनले लेखेको त्यो चिठ्ठी उसैले आमा-बाबुलाई पढेर सुनाउँदै गर्दा।
हुनत यो न्युयोर्कमा घर र परिवार चलाउन आमा बाबु दुबै ब्यस्त हुनुपर्नेपरिस्थितिमा बच्चालाई समय दिएर हुर्काउन पटक्कै सजिलो छैन। त्यसैले कुनै कुनै आमा बाबुहरुले मुटु भन्दा प्यारो आफ्नो सन्तानलाई राम्रोसंस्कार पाएर हुर्कोस्, राम्रो पालन पोषण होस्, आफ्नो देश नेपाललाई चिनोस्, माया गरोस् साथै आफ्ना तिनै बच्चाहरुको भविष्यको लागि केही बचत गर्ने उद्धेश्यले अमेरीकामा जन्माएर सानैमा नै नेपाल पठाउँछन्। तर त्यत्तिखेर हामी बिर्सन्छौंकी त्यो हाम्रो
बच्चाको मातृभूमि अमेरीका हो नेपाल हैन। जसरी हामी ठुला मान्छे अमेरीका आएर नागरीकता लिए पनि हामीलाई हाम्रो मातृभूमिको माया र सम्झनाले हरेक पल चिमोटीरहने भएकोले हामी त्यत्ति खुसी हुन् सक्दैनौ भने अमेरीका नै मातृभूमि भएको बच्चा नेपालमा कसरी खुसी हुन सक्छ? जब हामी बच्चालाई
नेपाल पठाउँछौं त्यसपछि ब्यस्तताको कारणले बच्चाहरुसंग प्रतक्ष्य देख भेट हुन् पनि सक्दैन। सायद यही कारणले होला बाबु एरोनले पनि आफ्नो ठुलोबा र ठुली आमालाईनै आफ्नो आमा-बाबु मान्न पुग्यो। जब अमेरीकाको स्कुलमा शिक्षकले बिद्यार्थीहरुलाई आफ्ना आमा-बाबु र परिवारसंगबिताएका मिठा स्मृतीहरुको बारेमा
लेख्न लगाए तर बाबु एरोनले केही लेख्नै सकेन किनकी उसले आफ्नो आमा बाबुसंग बिताएको त्यस्तो खासपलको सम्झना नै थिएन। “ मलाई किन आफुहरुसंग नराखेर नेपाल पठाएको होला?”यही एउटा प्रश्नले हरेक पल उसलाई नराम्रोसंग चिमोटेर उसको भावनालाई रगताम्य पारीरहेको महशुस गरें ।
अहिलेको यी बिभिन्न नयाँ प्रबृधिको कारण पृथ्वीको एउटा कुनाबाट अर्को कुनामा बस्ने आफ्ना मान्छेहरुसंग दिनदिनै या छिनछिनमा नै निःशुल्कअनुहार हेराहेर गरेर कुरा गर्न पाईन्छ। तैपनि त मान्छेको जातलाई नजिक महशुस गर्न, माया गर्न, स्नेह गर्न मान्छेले मान्छेलाई छुनै पर्दछ। कोरोनाकालमा मान्छेहरु पछि सम्म पनि हात मिलाउन नमिल्ने कारणले कुईना कुईना, मुड्की जुधाएर अपनत्व महशुस गरेको र गराएको पनिअमेरीकामा धेरै देखियो।
८/९ बर्ष पहिला सम्म पनि यस्तो नयाँ प्रबृधि को बिकाश भैसकेको थिएन। धेरै हाम्रा नेपाली परिवारले आफ्ना बच्चाहरुलाई नेपालमा आफ्ना परिवारको रेखदेखमा पठाएको देख्दा,सुन्दा मेरो मन नराम्रोसंग कुडिन्थ्यो। एकातिर म आमा भएर सोच्थें र आफ्नो मुटुको टुक्रालाई आफुबाट अलग्याउँदाको पीडाको महशुस गर्थें। यसरी आमा- बाबुले बच्चालाई आफूबाट अलग राख्दा बच्चाको बाल मनोबिज्ञानमा के असर पर्छ होला भनेर अर्कोतिर सोच्थें!
यसरी मन भित्र धेरै पटक द्वन्द र अन्तर्द्वन्द्व चलिरहन्थ्यो। चाहे नेपालका आमा-बाबुले आफ्नो सन्तानलाई आफ्नो काखबाट अलग्याएर बोडर्समा राखेर पढाउँदा होस् या अमेरीकामा बस्ने आमाबाबुले आफ्नो सन्तानलाई नेपाल पठाउँदा होस् ।
मैले धेरै परिवारका आमा-बाबुलाई बिन्तिभाउ गर्दैआफ्ना बच्चाहरुलाई आफुबाट टाढा नराख्नुस् भनेर अनुरोध गरेकीछु। किनकी मलाई किन किन आफ्नो बच्चाहरुलाई आफुबाटअलग्याएरराखेको चित्तै बुझ्दैनथ्यो। मलाई लाग्थ्यो ति बच्चाहरु आफ्नो परिवारबाट टाढा रहँदा उचित समयमा आमा-बाबुको माया, स्नेह नपाउँदा उनीहरुको वाल मनःस्थितिमा कस्तो प्रभाब पर्ला?
समय त खोला जस्तै निरन्तर तलतिरै बहिरहन्छ। चाहे जत्तिकै आमा-बाबुले धन सम्पत्ति कमाउन् या वच्चाले धेरै प्रगती गरोस् के त्यो आमा, बाबुर बच्चाहरु विच बितेको समयको दुरी फेरी बिना गाँठो जोडिन्छ त? आमा-बाबुले सन्तानबाट पाउने सन्तान सुख लिने त्यही उमेर फर्कन्छ त?
बच्चाहरु ठुलो भएर पखेटा लागेपछि स्वाबलम्बि बनेर आत्मनिर्भर हुन पछि आमा बाबुको गुँड त छोडीहाल्छन् त्यसमा कसैको दुईमत नहोला तरत्यो सानो उमेर जहाँ बच्चाहरुलाई हरेक दिन आफ्नो आमा-बाबुको माया र स्नेहमा लडिबुडी गर्दै आमा-बाबुको सकारात्मक निर्देशनमा हुर्किनु पर्नेआबश्यकता हुन्छ त्यही उमेरमा उसलाई उसको भविष्यको चिन्ता गरेर आफूबाट अलग्याईदिने हो भने मलाई लाग्छ पक्कै पनि त्यो वालमस्तिष्कमा सकारात्मक सोंचले बास् लिन सक्दैन। अनि बच्चाहरुबाट समाजमा आवश्यक पर्ने ब्यबहारीक ज्ञान नपाउउँदा आश्चर्य मान्ने कुरा त हुँदै भएन।
मेरी छोरी मिली सायद ८ बर्षकी हुँदा एकदिन मैले त्यस्तै कसैले आफ्नो बच्चालाई नेपाल पठाएको कुराको शिलशिलामा छोरीको विचार बुझ्न‘छोरी तिमी पनि नेपाल जाउ है म पठाईदिन्छु नि! अनि अलि ठुलो भएर आउन’ मात्र के भनेकी थिएँ, छोरी त रिसाएर चित्त दुखाउँदै “ ए हजुरले मलाई मात्र नेपाल पठाउने?
यदी मलाई एक्लै नेपाल पठाएर मलाई Abandon (त्याग) गरिस्यो भने म त कहिल्यै पनि हजुरको मुख हेर्दिन”।
छोरीको यो कुराले मेरो मन झसक्क झस्क्किएको मात्र हैन मेरो मनमा गहिरो छाप पनि पार्यो। जुन कुराले मलाई बाल मनोबिज्ञानलाई केलाउनपनि अझै मद्धत गर्यो।
न त नेपालमा हुँदा न अमेरीकामा आएर म र मेरो श्रीमान् को दिमागले छोरीलाई हामीबाट टाढा राख्ने कुरा कहिल्यै सोच्न नै सक्यो। हामी सन. २००३ डिसेम्बर २१ मा पहिलोपल्ट अमेरीका घुम्न आउँदा छोरी ३ बर्ष ५ महिनाकी मात्र थिईन्। घरमा आमा, बुवा र परिवारले “छोरी सानी छेउसलाई घरमै
छोडेर गए तिमीहरुलाई यो जाडोमा घुम्न सजिलो हुन्छ। यति सानो बेलामा घुमेको बच्चाले सम्झिन पनि सक्दैन” भन्ने सल्लाह दिनु भएको थियो। तर हामीले छोरीलाई पनि संगै घुमाउने निर्णय गर्यौं। यो निर्णयले छोरीको बाल मष्तिष्कमा राम्रो प्रभाब परेको हामीले महशुसगर्यौं।
मेरो विचारमा यदी हामी सन्तान जन्माउने हिम्मत गरेर सन्तान सुख पाउने अभिलाषा राख्छौं भने आफ्नो सन्तानलाई पनि आफ्नो दैनिक दुःख र सुखसंग परिचित गराएर जीवनको उकालो र ओरालोमा संगसंगै यात्रा गराउनु हामी आमा-बाबुको कर्तब्य हो, न कि आफ्नो दैनिक जीवन सहज बनाउनको लागि अथवा बर्तमानसंग लुकाछुपी खेल्दै छोरा-छोरीको उज्जवल भविष्यलाई सम्झेर आफुलाई हुर्काई, बढाई, पढाई आफ्नो खुट्टामा उभिएर सन्तान जन्माई पालन पोषणको
ज़िम्मेवारी लिन हिम्मत गर्ने आफ्नो सन्तानको पनि छोराछोरी यानि नाति या नातिनीको पनि हेरविचार गर्नबाध्य तुल्याउनु।
हो मान्छेको जीवनमा आफ्नो नाती र नातिनीसंग खेल्ने र समय बिताउने रहर हरेक हजुरबुवा र हजुरआमाको हुन्छ त्यसलाई रहरको हिसाबमा मात्र सिमित रहन दियो भने रमाईलो हुन्छ होला न कि उनीहरुले बुढेसकालमा पनि हरेक दिन नाति नातिनी हेर्नुपर्ने पुरै ज़िम्मेवारी दिएर घरको चारदिवार भित्र नै बाँच्न नपरोस्। हुनत यो कुरा कतिपय यहाँहरुलाई झट्ट मन नपर्न पनि सक्छ। तर शान्त दिमागले सोच्नुस् त भोलिपर्सी यहाँहरुकोछोरा छोरी हुर्केर नाती, नातिनी जन्मिसकेपछि यदी तपाईंहरुको छोरा छोरीले हरेक दिन बच्चा तपाईंलाई जिम्मा लगाएर काममा जाने गरे भने ??
बिदेशमा बसेका छोरा छोरीले उनका बच्चाहरुलाई नेपाल पठाएर आफूलाई हेर्ने जिम्मा लगाए भने? “छोरा छोरीको सन्तान काखीको घाउ” भन्नेउखान त सुन्नु भएकै होला यहाँहरुले। साँच्चै भन्नु पर्दा एउटा बच्चालाई उसको आमा-बाबु भन्दा प्यारो र नजिक अरु कोही हुनै सक्दैन चाहे हजुरआमा, हजुरबा र
अरु परिवारले जत्ति नै माया गरुन्।यो तितो सत्यबाट हामी मुख मोढ्न सक्दैनौं।ओहो! किताब पढ्दा पढ्दै अनि यी कुराहरु मनमा खेलाउँदा
खेलाउँदै म उत्रने स्टेसनमा ट्रेनको ढोका पनि पो झण्डै बन्द भएको। मनैमन हास्दैहत्तार हत्तार ओर्लेर पासांग जी को “ कोरोना कथा” लाई झोलामा राखी आफ्नो बाटो लागें।
लक्ष्मी श्रेष्ठ
सुन्दरीजल, काठमाडौं
हालः न्यूयार्क, यु.एस.ए.
प्रतिक्रिया