मेक्सिकन ह्याटमाथि बारूद छरिरहेका मान्छे

इनेप्लिज २०८० जेठ २७ गते ९:५४ मा प्रकाशित
  • डा . दामोदर पुडासैनी किशोर

स्ट्रोलरमा अडेस लागेको आकाश ओक ट्रि का पातहरू हल्लाउँदै
इन्द्रेनीमाथि उमार्दैछ आठौँ रँग

सुतिरहेको शहरलाई
भिक्टोरिया जस्टिस आवाज दिँदैछिन्
टेल मी दायट यु लभ मी – लाउडस्पीकरमा

मरूभूमिहरूमा जन्मिदैछ ग्रीन वेदर

ल्याम्पपोष्टमा झुण्डिएको साइनबोर्डले
जीवन अधकल्चो बताइरहेछ
बादल बिष्फोट गर्दैछ
हरितस्तम्भ – पाइन ट्रि

जीवन भनेकै अधकल्चो हो
बताउँदै वयेली खेल्दैछ छुरो हावा

आँगन अघिल्तिर काठको धूलोमा
हिउँका जरालाई आधारस्तम्भ बनाएर
उम्रन खोज्दैछन् बटरफ़्लाई र ह्याबिकस मनहरू

मन कति जम्यो हिउँ जसरी
वा , पग्लियो बाफ बनेर
मैले कसैसँग सोध्न भ्याएको छैन

घरअघिल्तिर ,पार्कमा र सडक किनारमा
फुरफुर गर्दैछन् भर्खर फक्रेका मेक्सिकन ह्याटहरू
कसैको मनमा सुवास दियो कि दिएन मेक्सिकन ह्याटले
मैले गुराँस र मखमली ढुँगामाथि उमारेर
मान्छेको मन गोडमेल गर्न भ्याएको छैन

फूलका हाँगामा एशिडका सिरिन्ज घोच्नेहरू
हिजो थिए
आज छन्
भोलि घटने सुरसार छैन

शान्तिमै सुहाउँछ मेक्सिकन ह्याटपनि
बारूद छरिरहेका मान्छेहरूलाई त
फूल र अत्तरकोपनि अर्थ हुँदैन

मिटरब्याजपीडितहरू
र ,नक्कली भुटानी सरणार्थीहरूको क्रन्दनलाई
सिरानी बनाएर सुत्न
गुप्त सम्मेलन चलिरहेछ
यस्ता सम्मेलनका शृँखलाहरू
लामै चल्नेछन् शून्यबाट शुरू नगरेसम्म

मेक्सिकन ह्याट
र ,रातो गुराँसको दुरतामा
चलिरहेछ भीषण कम्पन

शहरमा सन्नाटा जारी छ

-२०८० जेठ १२ (२०२३ मे २६) शुक्रवार
टेक्सस, अमेरिका

प्रतिक्रिया