बजगाईंले ‘कागजको मन्त्री’ ल्याए

इनेप्लिज २०८० असार ६ गते १०:३३ मा प्रकाशित

ईनेप्लिज, काठमाडौं, २१ जुन

बेलायत निवासी साहित्यकार कृष्ण बजगाईंको १५ औं साहित्यिक कृति तथा ५ औं लघुकथासङ्ग्रह ‘कागजको मन्त्री’ बजारमा आएको छ । यस अगि उनको ‘यन्त्रवत’, ‘रोडम्याप’, ‘कवच’ र ‘सम्वैधानिक पत्नी’ लघुकथासङ्ग्रहहरु प्रकाशित छन् । नियात्रा, कथा, लघुकथा, बालकथा, हाइकु र कवितामा कलम चलाउने बजगाईं डायोस्पोराका सक्रिय र चर्चित साहित्यकार हुन् ।

वि.सं. २०४१ सालमा पत्रिकामा कविता प्रकाशित गरेर औपचारिक लेखन यात्रा सुरु गरेका बजगाई नेपालमा रहँदा साहित्य लेखन, सम्पादन र साहित्यिक संघसंस्थामा सक्रिय थिए । परदेशको भूमिमा पनि व्यस्तताका बाबजुद २३ वर्षदेखि लेखन, सम्पादन र साहित्यिक सस्थाको नेतृत्वदायी भूमिका छन् ।

कागजको मन्त्री लघुकथासङ्ग्रहमा समसामयिक राजनीति, वेथिति, विसंगती, प्रेम, यौन, डायोस्पोरा आदि विषयका सटिक र चोटिला कथाहरु छन् । वि.सं. २०४५ देखि लघुकथा लेख्न थालेका उनी लघुकथाका स्थापित स्रष्टा हुन् ।

बजगाईंको एक लघुकथा नेपाल सरकारको कक्षा १२ को पाठ्यक्रममा, दुई लघुकथा म्यान्मार(बर्मा)को नेपाली विद्यालयको कक्षा ९ मा, चार नियात्रा नेपालका त्रिभुवन विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयको स्नातक तहको पाठ्यक्रममा र २१ वटा बालकथा सरकारी र निजी विद्यालयको कक्षा ४, ५, ६ र ७ मा पढाई हुन्छन् ।

बजगाईंले १६ वर्षदेखि बेलायतबाट साहित्यिक वेब पत्रिका समकालीन साहित्य डट कमको प्रकाशन तथा सम्पादन गरिरहेका छन् । उनी ६ वर्षदेखि नियमित प्रकाशित भइरहेको नेपाली भाषा साहित्यको अनुसन्धानमूलक अन्तर्राष्ट्रिय जर्नल ‘प्रवासन’ का प्रधान सम्पादक तथा समकालीन साहित्य प्रतिष्ठान बेलायतका संस्थापक अध्यक्ष हुन् ।

भुँडीपुराण प्रकाशन काठमाडौंबाट प्रकाशित ‘कागजको मन्त्री’ नेपालभरका मुख्य पुस्तक पसल र संसारभर ‘किताब यात्रा’ र ‘थुप्रै डटकम’ मार्फत अनलाइनबाट बिक्री भइरहेको छ ।

प्रतिक्रिया