लघुकथाः रोपाइँ

विवेक शर्मा गौतम हाल टोखा -३ काठमाडौं । २०८० असार १५ गते १३:०१ मा प्रकाशित

रोपार्नी प्रमिलाले झ्याम्म हिलोले कोदारलाई छ्‌यापिन । बाउसे केदारले आली लगाउँदै थियो । ल है आज के के हुन्छ भन्दै सबैजना हाँसे।

केदारले टाढैबाट बिउको हातो प्रमिलाको नजिकै फ्यात्त फ्याँक्यो । पुरा कपडा भिज्यो। प्रमिलाले “हो ? निउ खोज्या हो ?”भनिन्। केदारले पनि “हो !” भन्यो । हलीले रैमट्यान गिजलगाजल पारेर लेदो बनाएको हिलोले झ्यापै छ्‌यापी दियो। दुवै जनाले हिलो छ्‌यापाछ्याप गरे। प्रमिलाले केदारलाई हिलोमा पल्टाएर उत्तानो पारिन् । फेरी सबै गलल हाँसे। ऊ पनि के कम प्रमिलालाई समाएर हिलोमा पर सम्म लताऱ्यो। रोपार्नीले त्यो दृष्य देखेर आज दुई हल गोरु लागेका छन छिट्टै हुन्छ भनेर व्यङगे गरे। । सबै गलल हाँसे ।

अर्को जोडी रोपार्नी असली र दुम्सी साँइलोका बिच घमासान पऱ्यो। दुम्सी साँइलोले जोडले हिलो छ्याप्दा असलीको एउटा आँखो प्याट्ट फुट्यो । कोलाहल मच्चियो । आँखा बाट धरधरी रगत बग्यो । डराए। सबै जना आत्तिए । केहि बेर धान रोप्ने काम रोकियो ।

पुलिसले घटना तुरुन्तै थाहा पायो । पुलिस आएर दुम्सी साइँलो र असलीलाई घटना स्थल बाटै लिएर गयो। उनीहरुलाई पुलिसले खेतबाट हिंडालेको एक छिनपछि गार्ड सहित सेता दौरा सुरुवाल लगाएका खेतका मालिक टुप्लुक्क आइपुगे ।

मालिकले सबैलाई सुनाउँदै भने “ती दुबैको जिम्मा म लिन्छु।” “आज असार पन्ध्र,अफिस भित्र गमलामा धान रोपेर आएको छु।” “सकभर करोड,नत्र लाखौं त ! आइहाल्छ नि !” भन्दै चौकि तिर छुटाउन हिडे।

(राष्ट्रिय धान दिवशको सन्दर्भमा)
२०८०/०३/१५

-विवेक शर्मा गौतम हाल टोखा -३ काठमाडौं ।

प्रतिक्रिया