भीडतन्त्र (लघुकथा)

कोमल प्रसाद अधिकारी टिकापुर,कैलाली। २०८० असार १६ गते २३:४२ मा प्रकाशित

कार्यक्रम हुन अझै बाँकि थियो।सायद मुख्य अतिथि आउन बाँकि। श्यामलाल पनि निम्तो मान्न पुगेको। सबैजना एकोहोरो आकाशतिर हेरेको देखेर श्यामलाल पनि आकाशतिरै हेर्न थाल्छ।लाख कोसिस गर्दा पनि आकाशमा केही देख्दैन श्यामलाल।तर, अझै केही देखिन्छ कि भनी राम्रोसँग हेर्‍यो उसले।अथवा यसो भन्दा ठिक होला,कसैलाई सोधीहालौँ भने यत्ति पनि नदेख्ने भनेर उसलाई मनमनै हेप्लान् भन्ने पीर पनि थियो र उसले अझै त्यो अरूले हेरीरहेको ठाउँमै कोण मिलाएर हेर्‍यो। अहँ,केही देखिएन।

हार मानेर भनौँ,नजिकैको मान्छेलाई उसले जिज्ञाशा राख्यो। “खै म आउँदा पनि सबैले हेरिरहेका हुनाले मैले पनि..” नजिकैको मान्छेको जवाफ: “देखिने कुरा नदेख्ने भनेर हियाउलान् भनेर हेरेको जस्तै गर्देको…”

तर, श्यामलाल त्यो मान्छे भन्दा त भिन्न थियो नै..
सोधपुछ गर्दै गर्दै श्यामलाल शुरूमा कसले आकाशमा हेरेको थियो भन्ने पत्ता लगाउँछ र उक्त आकाशमा हेर्ने शुरूवातकर्त्ताकोमा पुग्छ र आफ्नो जिज्ञाशा दोहोर्‍याउँछ..

नेता जस्तो देखिने सुटेड-बुटेड शुरूवातकर्त्ताले मफलर हटाएर उसको घाँटीमा बाँधिएको हार्ड ब्याण्डेज देखाउँदै भन्छ: “यी हेर्नुस्न मलाई त तल हेर्नै मिल्दैन।”

-कोमल प्रसाद अधिकारी टिकापुर,कैलाली।

प्रतिक्रिया