“देख्बे किन्तु बादल छेक्बे” [व्यङ्ग्य निबन्ध]

कृष्ण प्रधान, सिलीगुड़ी, उत्तरबङ्गाल (भारत) २०८० असार १८ गते २३:५६ मा प्रकाशित

दार्जिलिङ तीनवटा ‘T’ शब्दले प्रसिद्ध छ भन्ने कुरो मैले सुगालेजस्तो दोहोऱ्याइ रहन पर्दैन । ती तीनवटा ‘T’मध्ये पहिलो ‘T’-ले Tourist, दोस्रो ‘T’-ले Tea, अनि तेस्रो ‘T’-ले Timber बुझिन्छ । तर दार्जिलिङकाहरू प्रायः नै रौसे स्वभावका छन् । यसैले कुनै -कुनै उल्लाहले ती प्रसिद्ध तीनवटा ‘T’ बाहेक अरु दुइवटा ‘T’ थपेर दार्जिलिङमा पाँचवटा ‘T’-लाई प्रसिद्ध बनाएका छन् । थप दुइवटा ‘T’ हुन् यथाक्रमले ‘T’ -ले Tongba र अन्तिम ‘T’-ले Tanatan । चौथो ‘T’ Tongba ले दार्जिलिङमा नाम कमाएको युगौं बितिसक्यो । तर अन्तिम ‘T’ Tanatan ले भने भर्खर भर्खरै प्रसिद्धि पाउऩ थालेको देखिन्छ । चौथो ‘T’ Tongba को प्रसिद्धिबारे सबैलाई थाहा भएकै कुरा हो । तर अन्तिम ‘T’ Tanatan (तानातान) भने रङ्गरुट नै छ । तरै पनि यहाँको राजनीतिमा अहिले तानातानले हुँड़ीबिड़ी मच्चाएको छ । राजनीतिमा पनि तानातान अनि पर्यटनको क्षेत्रमा पनि तानातान । दार्जिलिङमा कुनै गा़ड़ी रेल स्टेशको छेउमा पुग्यो कि होटलका भास्को दा गामा (एजेण्ट ?)हरू गाड़ीमा चमराजस्त तुर्लुङै झुण्डिएर गाड़ीभित्र रहेका यात्रुहरूलाई होटलको निम्ति तानातान गर्न थाल्छन्। अझ बङ्गाली टुरिष्टहरू छन् भने ता जानी नजानी बङ्ला भाषा बोलेर हत्तु पार्ने गर्दछन् ।

मेरो ससुराली दार्जिलिङ । दार्जिलिङ पुगेपछि मेरो अस्थायी शिविर जेठी सासूको होटलमा ठिक्क पारिएको हुन्छ । होटल मालिक्नीकै ज्वाइँ भएका नाताले होटलका स्टाफदेखि लिएर म्यानेजर लगायत होटलका एजेण्टस् (दार्जिलिङे भाषामा HD अर्थात् होटल दलाल) सबैले मलाई पर्यटन मन्त्री जतिकै आदर सत्कार गर्छन् । जदौ हजूर गर्छन् । ससुरालीमा मेरो चरण स्पर्श भयो कि के गरुँ कसो गरुँ हुन्छ । काम दाम केही हुँदैन । दिनभरि होटल एजेण्टसकै हुद्दामा बसी आफू पनि HD नै भइदिनुपर्छ । गर्नु पनि अरु के र ? नेताहरूकहाँ यसो भेट्न जौं भने मोराहरूलाई बोसो लागेर छोइ सक्नु छैन । मोराहरू पात्तिएर, मातिएर बुरुक बुरुक भएको समयमा म हुतिहारालाई कहाँ समय दिने हुन् र !

दार्जलिङ खाँटी पर्यटनस्थल । “पर्यटक छैनन् ; दार्जिलिङ छैनन्” यसै भन्छन् यहाँका भुराभुरीदेखि लिएर बूढ़़ाबूढ़ीसम्मैले । “कसैलाई के को धन्दा, के को धन्दा, घर ज्वाइँलाई खानु कै धन्दा” भनेजस्तो जेठी सासूको होटलमा दम्साइ-दम्साइ खानुभन्दा पनि होटलका स्टाफ र एजेण्ट साथीहरूबाट दार्जिलिङमा पैसा खन्याउन आउने पर्यटकहरूबारे कुरा थुत्ने धन्दामै म व्यस्त र मस्त छु । घर ज्वाइँ भए पो होटलका कुकलाई घर ज्वाइँको घुर्की देखाएर किसिम-किसिसका, परिकार-परिकारका व्यञ्जन अर्डर गर्नु । किनभने म ता ठहरिएँ ‘बन ज्वाइँ’ । वर्षमा एकपल्ट मात्रै दार्जिलिङ आउने म । मलाई कसैले ‘पर्यटक ज्वाइँ’ भनिहाल्दा पनि मेरो कुनै आपत्ति हुनेछैन…न कि कुनै विरोध नै । हेनतेन नभनी लाजै पचाएर भन्नु हो भने, मलाई ‘पर्यटक ज्वाइँ’ भनिदिँदा बरू म धेर गजक्क र मसक्क हुन्छु । किनबने यो दार्जिलिङमा ‘वन देवता’, ‘वन झाँक्री एकताका पोपुलर भएजस्तै मलाई ‘वन ज्वाइँ’ वा ‘पर्यटक ज्वाइँ’ -को साटो ‘वन मान्छे’ भनिदिँदा मबाट कुनै विरोध हुँदैन ।

होटलकी मालिक्नीका ज्वाइँ परेकोले मैले पनि होटलमा केही सघाउ ता पुऱ्याउनै पर्छ भन्ने कर्त्तव्य ठानी होटल एजेण्टससित स्टेशनको छेउमा उभी सिलिगुड़ीबाट आउने गाड़ाहरू कुर्न थालेको छु । कुनै गाड़ी आयो कि गाड़ीको पछिल्तिर चमेरोजस्तो तुर्लुङ्ङै झुण्डिएर होटलको निम्ति प्यासे़ञ्जर फकाउने काममा लागेको छु । यो कुरो स्वीकार्नै पर्छ, दार्जिलिङ पर्यटकहरूको शहर हो । दार्जिलिङमा विश्वभरीकै पर्यटकहरू आउँछन् । त पर्यटकहरूमध्ये खास घुम्न आउने बङ्गाली पर्यटकहरू नै हुँदारहेछन् भन्ने छतछती प्रमाण चाहिँ मैले यसैपाली थाहा पाएँ अनि यी बङ्दाली पर्यट्कहरूलाई दार्जिलिङबाट देखिने कञ्चनजङ्घाको मनोरम दृश्यले र टाइगर हिलबाट देखिने सूर्योदयको रमणीय, लोभाइलो दृश्यले नै धेर आकर्षित पार्दोरहेछ भन्ने पनि यसैपाली बुझेँ ।

दार्जिलिङ भ्रमणमा आउने शत-प्रतिशत बङ्गाली पर्यटकहरू भुकभुके उज्यालोमै कञ्चनजङ्घाको मनोरम दृश्य धितमरुञ्जेल हेर्न सकिने होटलमा बस्न नै औधी रुचाउँदारहेछन् । खानेकुरामा सर्वस्व गुमाउन चाहने यी बङ्गाली पर्यटकहरू दार्जिलिङ आएपछि खानु होइन भक्कु घुम्न अनि विशेष कञ्चनजङ्घाको विहङ्गम दृश्य र टाइगर हिलमा घाम उदाएको हेरेर मज्जा लुट्नमै ज्यान मात्र होइन मुटुको मुख थुनेर पैसा फ्याँक्दारहेछन् । बिहानै ब्रेकफाष्टको नाउँमा मुरी, प्याज, सामान्य हरियो खोर्सानी, दालमोठ (चनाचूर !) र चिया मात्रै (त्यो पनि ब्ल्याक टि अरे !) खाने हुनाले दार्जिलिङका प्रत्येक होटलवालहरूले यिनीहरूलाई ‘झालमुरी टुरिष्ट (JT)’ भन्दारहेछन् । चारजना आएका छन् भने चार प्लेट भात, एक प्लेट दाल, एक वा दुइ प्लेट सब्जी, दुइवटा पापड़ भए चल्दोरहेछ । माछा तर हुनैपर्ने । यो कञ्जुस्याइँ होइन पक्कै । हामीहरूजस्ता कहाँ हुँदारहेछन् र परैहरू ! यी मोराहरू ‘सिम्पल लिभिङ् हाई थिङ्किङ्’ भन्ने कुरा यिनीहरूबाटे सिक्नैपर्ने रहेछ हामीहरूले ।

हामी पाहाड़ेहरूको ढर्रा धेर हुन्छ । हामी पनि उनीहरूजस्तै चारजना कतै घुम्न गएका छौँ भने बिहान गतिलो ब्रेकफाष्ट नभई हुँदैन । दिउँसो खाना पनि उस्तै भव्य । चारजनालाई चार प्लेट भात सँगसँगै चारै प्लेट दाल, चारै प्लेट मासु वा माछा, चारै प्लेट सब्जी अनि पापड़ पनि चारैवटा र सलाद पनि दुइ डबल । अर्थात् सबै ‘फुल’ ; ‘हाफ्’-को ता कुरै छैन । खानु नसकेर फ्याँका-फ्याँक् गर्छौं हामी । यी बङ्गाली टुरिष्टहरूको भनाइ के देखिन्छ भने, भ्रमणको निम्ति खानुमा मात्रै बिनासित्थी पैसा फुर्मास नगरी खानेकुरामा मितव्ययिता हुनुपर्छ भन्ने पाठ चाहिँ यी ‘झालमुरी टुरिष्ट’-बाटै सिक्नैपर्छ हामीले । जीवनको अन्तिम क्षणसम्म पनि खान पाइन्छ तर भ्रमण भन्ने कुरा आजीवन गर्न सकिँदैन ।

होटलमा काम सघाउनु मन लागेर होटलको विशाल डाइनिङ हलमा वेटरको भूमिका पालन गरिरहेछु । दसजना ‘झालमुरी’ टुरिष्ट’-को हुद्दा डाइनिङ टेबल वरिपरि बसेका छन् । पाँचजनाले झोल भएको माछा अर्डर गरेका छन् भने अरु पाँचजनाले मात्रै ‘फ्राई माछा’ । बुझ्दै जाँदा माछाको झोल दसैजनाले बाँड़ेर (शेयर गरेर) खाने निधो गरेका रहेछन् । ‘फ्राई माछा’ त्यसरी नै शेयर गरेर खाने । अचम्मको कुरो, किचनेबाट तात्तातो फ्राई माछा ल्याउँदै एक-एकजनाको भातमाथि राखिदिने भार मलाई परेको थियो । अचानक एकजनाले ‘मैले माछा पाएको छैन’ भनी हुँड़ीबिड़ी मच्यायो । फ्राई माछा खानेहरू पाँचैजनाको थाल-थालमा थप्-थप् माछा राखिदिएको मलाई राम्ररी थाहा छ । फेरि म त्यत्ति भुलक्क्ड़ पनि कहाँ हो र ! डाइनिङ हलमा मज्याङ् भयो । होटलका सबै स्टाफहरू डाइनिङ हलमा थुप्रिए । ‘मैले माछा पाइनँ, मलाई फ्राई माछा चाहिन्छ’ भनी जिद् गर्नेका थालको भातमा होटलकै एकजना उपद्रे स्टाफले हात गाड़े । मोराले आफ्नै थालको भातमुन्तिर आफ्नो भागमा परेको फ्राई माछा लुकाएर राखेका रहेछन् । अन्य सबै स्टाफहरू रन्किए । कति सुरिए । मैले सबैलाई थुम्थुम्याएर कुरा अगाड़ि बढ़्न दिइनँ ।

दुइ–दुइवटा फ्राई माछा हत्याउऩे दाउमा आफ्नै भातमुनि माछा छोपेर हाकाहाकी हामीलाई लट्याउने, छक्याउने अनि ‘जो चोर ; उसैको ठूलो स्वर’ भने झैं माछा नपाएको निहुँमा हामी सोझा-सिधा नेपालीहरूलाई लठुवा बनाउऩु मात्र होइन धम्क्याउने समेत मूर्ख प्रयास गरेको देख्दा हाम्रो नेपाली अकादेमीलाई बङ्ला अकादेमीले आफ्नै थालको भातमुनि छोपेको झल्झल्ती, छ्याङ्छ्याङ्ती देखेँ । दार्जिलङ जीटीए अन्तर्गत हजारौ-हजारौं एस एस सी (स्कूल सर्भिस कमिशन) उत्तीर्ण उम्मेद्वारहरूका भाग्य, झर्झराउँदा यौवन राजनीतिको भातले छोपेको अनुभव भयो मलाई । त्यहीँको त्यहीँ त्यो पनि दिउँसै हाकाहाकी आँखा छल्न सक्ने यी बङ्गील टुरिष्टको आँट र साहस र छल गर्ने बुता देखेर जिल्ल परेँ म । माछा पाइनँ कि पाइनँ भनी ढाँट बोल्नु मात्र होइन होटलमा रड़ाँको मच्याउने ती बङ्गाली टुरिष्ट महोदयलाई मैले केही भनिनँ ।

दार्जिलिङ अन्तर्गत रहेका ठूल्ठूला सरकारी कार्यालयहरू ढुक्कैले, हाकाहाकी तल मधेसतिर स्थानान्तर गरेर दार्जिलिङलाई खोक्रो बनाइसक्दा पनि कोही बोल्न सक्तैनन् भने जाबो एउटा फाई माछाको सामान्य टुक्रा भातमुनि लुकाउँदा के भन्ने र (!) भन्ठानी ती माछा खान नपाएर आँत छिनेका ढाँट, छट्टु, झालमुरी टुरिष्टको थालमा एउटा मात्र होइन दुइ-दुइवटा ठूल्ठूला फ्राई माछा किचेनबाट ल्याएर तिनको थालमा थपक्-थपक् राखिदिएँ । होटलका स्टाफहरू कसैले मलाई केही भन्ने आँट गरेनन् किनभने म होटलकी मालिक्नीको ज्वाइँ न ठहरिएँ । ती झालमुरी टुरिष्टले मलाई ट्वाल्-ट्वाल् हेर्दै भने – “खोमा करून् स्यार । एकटु छेलेमानुसी कोरते इच्छे कोरलाम् तो…।” (माफ गर्नोस् सर, सामान्य केट्केटीजस्तो व्यवहार गर्नु मन लाग्यो र ) ।

उनको पिठ्यूँमा धाप मार्दै भनेँ, – तिमीले ता फ्राई माछाको सामान्य एक टुक्रा मात्रै तिम्रा भातमुन छोपेर तिम्रा जातिको परिचय दियौ । तर तिमीहरूको राजनीतिले हामी तमाम् गोर्खेहरूको भाग्य नै छोपेको छोप्यै छ । तिमीहरूका राजनीतिको दावपेँचले दार्जिलिङबाट सबै ता उतै लगिसकिएको छ । भातले माछा छोपेर माछा पाइऩँ भनेर फेरि माछा माग्नु कुनै ठूलो कुरो होइन । सक्छौ भने राजनीतिको दावपेंच चलाएर, छक्का-पञ्जा, जालःझेल गरेर वा हामी सबैलाई मक्ख पारेर हाम्रो यो कञ्चनजङ्घाको विहङ्गम दृश्यलाई पनि छोपिदेऊ । सक्छौ भने विश्व नै मक्ख प्क पर्ने हाम्रो टाइगर हिमबाट झुल्किँदै गरेको घामलाई पनि छोपिदेऊ ।

झालमुरी टुरिष्ट मेरो कुरा टाउको निहुराएर सुन्दै गए म अनवरत् बोलिरहेँ कि बोलिरहेँ – दार्जिलिङको छातीमा गजधम्म भएर बसेका ठूल्ठूला सरकारी कार्यालयहरू ह्याँकुलाले मिचेर तल मधेसतिर लगेजस्तै सरकारी विज्ञप्ति जारी गरेर यहाँबाट देखिने कञ्चनजङ्घा र टाइगर हिल समेतलाई सक्छौ भने उतै लगेर हामीलाई हिस्रिक्कै पारिदेऊ. । तिमीहरू कसैलाई कसैले आपत्ति गर्ने छैनन् ; न कि विरोध नै गर्नेछन् । किनभने न ता दार्जिलिङे नेताहरूमा त्यो आँट छ न ता दार्जिलिङे जनताहरूमा नै । सहँदा-सहँदा- सहँदा, राजनैतिकको लोपऱ्याइँले हिस्रिक्क पर्दा-पर्दा थेत्तर भइसकेका छन् यहाँको निमुखा जनताहरू । यहाँका जनताहरू मात्रै किन राजनीतिक गरिटोपल्ने नेताहरू समेत पारी देखिने विहङ्गम कञ्चनजङ्घा झैं चूप छन् : मौन छन् । यसैको फायदा उठाएर तिमीले तिम्रै थालको भातमा फ्राई माछा लुकाएजस्तै राजनीतिको भातभित्र तमाम् गोर्खेहरूको योजना, इच्छा, आकाङ्क्षा लुकाइएको छ । छोपिएको छ । कञ्चनजङ्घाको मनोरम दृश्य र टाइगर हिलमा घाम उदाएको हेर्न आतुरिने ए झालमुरी टुरिष्टहरू हो ! छेकिदेऊ तिम्रा राजनीतिको भातले हाम्रो कञ्चनजङ्घालाई छेकिदेऊ । सक्छौ भने टाइगर हिललाई पनि राजनीतिको भातले ग्वाम्मै छोपिदेऊ ।

सक्छौ भने हाम्रो विश्व सुन्दर पवित्र कञ्चनजङ्घालाई तिमीहरूको भिक्टोरिया मेमोरियलको माथितिर टुप्पोमा उझिण्डो बनाएर थपक्कै राखिदेऊ । लैजाऊ ! लैजाऊ !! लैजाऊ !!! हाम्रो सबै ता तिमीहरूले लगिसक्यौ, थुतिसक्यौ । अब रहेका दुइवटा प्राकृतिक भ्यू पोइण्ट लगिदिँदा हामीलाई केही फरक पर्दैन । हाम्राहरूलाई के कञ्चनजङ्घा के टाइगर हिल । घरको कुखुरा सागै बराबर । कञ्चनजङ्घा र टाइगर हिल पनि तिमीहरूले हात पारेपछि तिमीहरू कोही पनि दार्जिलिङ आउनेछैनौ सायद । आफ्नो मतलब पूरा भएपछि कसले कसको पो कदर गर्छ र ? हाम्रो सम्बन्ध विच्छेद होओस् । अहिले पनि कुन सम्बन्ध नै राम्रो छ र हाम्रो ? तर तिमीहरूले हाम्रा कञ्चनजङ्घा र टाइगर हिल लगिदियो भने कम्तिको पनि हामी स्वतन्त्र ता भएर बाँच्नैछौं । हाम्रो आफ्नै आँगनमा मादल घन्काउँदै हामी बारुले कम्मर मर्काइ-मर्काइ नाँच्नेछौं । हिजोआज मादल घन्काउँदा पनि हामीले बम पड़्कायो भनी तिमीहरू शङ्का गर्छौं । माछा पाइऩँ भनेर बिनासित्थी डङ्का पिट्नेले सामान्य कुरामै शङ्का गर्नु अस्वाभाविक होइन र ? तिमीलाई थाहा छ कि छैन को’नि (!) अहिले हामी तोङ्बा र फिप्सिङमै मक्ख छौँ । हामीलाई लुतो कनाई केही छैन । तिमीहरूका राजनीतिले यसलाई कुन दृष्टिकोणले हेर्ला को’नि ? तर यहाँका रैथानेहरूले यसलाई ढुङ्गा खोज्दा देवता पाएे जत्तिकै ठानिरहेका छन् ।

घाम झुल्केको हेर्न बिहान ३ बजी भित्रमा हिँड़िसक्नुपर्छ । होटलमा बस्ने यी झालमुरी टुरिष्टहरू रातिदेखि नै टाउकामा बाँदरे टोपी (मङ्की क्याप्) ख्वाप्पै लाएर अनि घिच्रामा क्यामेरा भिरेर निदाउँदा रहेछन् । कति ता खाटमा खबरकागत ओछ्याएर जुत्तासितै पनि सुतेका देखेँ । टाइगर हिलमा सूर्योदय हेर्नु पाउनुलाई पनि गतिलै भाग्य चाहिन्छ । सात-सात पल्टसम्म टाइगर हिलमा सुर्योदय हेर्न गएका तर एकैपल्ट पनि सूर्योदय हेर्न नपाएका झालमुरी टुरिष्ट पनि भेटेँ यहीँ दार्जिलिङमा । सूर्योदय हेर्न पाउनेहरू हर्षले गजक्क र मसक्क हुँदै होटलमा फर्केर झालमुरी खानेहरू पनि देखेँ भने सूर्योदय हेर्न नपाउने अभागी झालमुरी टुरिष्टहरू निगुरमुण्टो लाएर होटलमा फर्की रिसिप्सनको सोफामा बसी गनगन गरेका पनि देखेँ । सोफामा हरेशलाग्दो पाराले थ्याच्चै बसी एकजना झालमुरी टुरिष्टलाई सोधेँ- “कि दादा ! देखा होलो ता कोञ्चोनजोङ्घा ?” (…सनराइज हेराइ भो के ता ?) ।

एकै श्वाशमा उनी बोले – “धूर…सकाल सकाल कोष्टो, टाका पयसार नोष्टो ।” (ठैट ! एकाबिहानै कष्ट, रुपियाँ-पैसा नष्ट ) ।

आफ्नो होटलमा प्यासेञ्जर तान्नलाई बाह्र-बत्तीसका कुरा गर्नुपर्दोरहेछ भन्ने कुरो पनि यहीँ बुझेँ । झालमुरी टुरिष्टलाई, “हाम्रो होटल अरु होटलभन्दा राम्रो छ…सस्तो छ…पाइक परेको ठाउँमा छ” भन्दा उनीहरू प्रत्येकको ओंठमा एउटै वाक्य झुण्डिएको हुँदोरहेछ – “होटलेर जान्ला दियो को़ञ्चोनजोङ्घा देखा जाबे तो ?” (होटलको झ्यालबाट कञ्चनजङ्घा देखिन्छ होइन ?) ।

प्रत्येक होटल एजेण्टको ओंठ-ओँठमा पनि एउटै जवाफ झुण्डिएको हुँदोरहेछ – “ह्याँ सर । देख्बे किन्तु बादल छेक्बे ।” (हजूर सर….देखिन्छ तर बादलले छेकिन्छ ) ।

कञ्चनजङ्घालाई कहिले बादलले छेक्छ, टाइगर हिलको सूर्योदयलाई पनि बादलले छेक्छ । यो नै प्रकृति हो । फेरि कहिले बादल उघ्रिन्छ छ्याङ्ङै । यो पनि प्रकृति नै हो । प्रकृतिले कसैलाई काखा र पाखा ठ्याम्मै गर्दैन । प्रकृतिले कहिल्यै कसैलाई पटक्कै छक्याउँदैन । तर हाम्रो यो पाहाड़लाई राजनैतिक षड़यन्त्रको बादलले छेकेको (छोपेको ?) युगौं भइसक्यो । राजनैतिक बादलले हामीसित छल गरेको युगौं बितिसक्यो । सिङ्गो पाहाड़ मनग्गे हाँसेकी मनोरम दृश्य हेर्न यी पाहा़ड़वासीहरू काकाकुली छटपटेका युगौं बिसिसक्यो । तर पनि खै कसैले अहिलेसम्म लछारपाटो लाउन सकेन।

यो राजनैतिक षड़यन्त्रको कालो बादल कहिले फाट्ने हो भन्ने आशा र लोभमा यी झालमुरी टुरिष्ट झैँ हातमा तोङ्बा र फिप्सिङ समातेर ‘बन्बो टुरिष्ट’ भई चौरस्ता परिक्रम गरिरहेको छु….कि परिक्रमा गरिहेछु…..। -X–X–X–X–X–X–X–X–

-कृष्ण प्रधान, सिलीगुड़ी, उत्तरबङ्गाल (भारत)

प्रतिक्रिया