सुरेन उप्रेती पाँचथर हाल एडमण्टन क्यानडा
अगष्ट २६ शनिवार साँझ २०२३ का दिन अमेरिकी केन्द्रिय समय साँझ ८बजे ,त्यस्तै गरी नेपाली समय आईतवार बिहान ७बजे स्रस्टा साँझ अमेरिकाले कवि भूपी शेरचनको सम्झना साँझको आयोजना गर्यो । कार्यक्रममा गीतकार कवि तथा साहित्यकार प्राध्यापक डाक्टर कृष्णहरी बरालले भूपीका कविताहरुमाथि चर्चा गर्नु भयो । भूपीको लेखनशैली अनि विम्वको प्रयोगले नेपाली कवितामा नयाँ आयाम थपेको कुरा श्रीबरालले बताउनु भयो । त्यस्तै गरी अर्का बक्ता साहित्यकार प्राध्यापक मन्जु तिवारी (काँचुली)ले भूपी सँग एउटै मन्चमा कविता वाचन गरेका अनुभवहरु सुनाउनु भयो । भूपीको कविता वाचनशैली पनि बेजोडको थियो । उहाँको कविता वाचनहुन थालेपछी पुरै सन्नाटा छाउँथ्यो । उनका कविता सुन्न मानिसहरू लालायित भएका हुन्थे । उनी लोकप्रिय र जनप्रिय कवि थिए । स्रष्टाका सृजनाहरुलाई जती धेरै मानिसहरु समक्ष पुर्याउन सक्यो तवमात्र स्रष्टा अजर बन्न सक्दछन् । त्यस्तै गरी साहित्यक पत्रकार सँघका अध्यक्ष एवम् शङ्कर लामिछाने प्रतिष्ठानका अध्यक्ष, साहित्यकार राधेश्याम लेकालीले भूपीसँगका साहित्यिक यात्राका बारेमा आफ्ना अनुभूतिहरु सुनाउनु भयो । भूपीको सालिक निर्माणमा धेरै पहिला देखि पहल शुरु भएको र नारायणचौरमा स्थापना हुनेकुराको जानकारी गराउनु भयो ।
साहित्यकार, अनुवादक, गणतान्त्रिक कविता आन्दोलनका सूत्रधार श्यामल (हरी अधिकारी )ले भूपी शेरचनसँग २०३५ सालमा भेट भए देखि भूपीसँगका पलहरुको चर्चा गर्नु भयो । जनताका भावना समेटिएका कविताहरू लेख्न देवकोटा गोपालप्रसाद रिमाल र भूपीमात्र सफल भएको कुरा बताउनु भयो । घण्टाघरलाई लाहुरे बनाएर निर्जिवलाई सजिव विम्व दिए । सानो लेते खोलालाई बिशाल नदी सँग तुलना गरे । होचिमिन्ह र भियत्नामका जनतासङ्ग नेपाली जनतालाई एकाकार गरेर कवितामा प्रस्तुत गरे ।उनले कवितालाई अन्तरास्ट्रीयकरण गरेका छन् । अर्का वक्ता कवि, लेखक, निर्देशक, कलाकार, सर्वनाम थिएटरका सँस्थापक, साहित्यकार ,प्राध्यापक अशेष मल्लले २०३३ देखि उपत्यकामा भूपी दाइ आफ्नो अविभावक भएको कुरा बताउनु भयो । कान्ती भाउजुको माया, आफु जन्मिएको परिवारमा पाउँने भन्दा कम थिएन । भूपी आफुलाई आफ्नो लेखन र दर्शनले देवकोटाको अशल सन्तान भएको बताउनु हुन्थ्यो । तीसको दशकका अधिकाँश कविहरूलाई मार्गदर्शन गराउने कवि भूपी हो ,श्री मल्लले भन्नु भयो । पन्चायतकालको त्यो कठोर परिस्थितिमा पनि जनचेतना जगाउने कविता लेख्न चानचुने कुरा थिएन । भूपीको विम्व र व्यँग्यको प्रयोगले नयाँ आयाम ल्यायो । उनको व्यङ्ग्य र विम्वलाई पञ्चायतकालिन सेन्सर गर्नेहरूले पत्तै पाएनन । उनको कविता सङ्ग्रह घुम्ने मेचमाथि अन्धो मान्छे ले २०२६सालमा साझा पुरस्कार प्राप्त गर्यो ।
कार्यक्रममा भूपीकी छोरी कविता शेरचनले भूपीका ऐतिहाँसिक र दुर्लभ तस्विरहरू प्रस्तुत गर्नु भयो । भूपीका सुपुत्र भुपेश शेरचनले बुबा सँगका रमाइला पलहरूको स्मरण सुनाउनु भयो । कविता शेरचनले भर्खरै आफ्ना पिता भूपीको बारेमा पुस्तक निकालेको र अन्तराष्ट्रियकरण होस भनेर नै अँग्रेजी भाषामा निकालेको कुरा बताउनु भयो । भूपीकी पत्नी कान्ती शेरचनले सबैका कुराहरु सुनेर आफु स्तब्ध बनेको कुरा व्यक्त गर्नु भयो । स्रष्टाहरूका स्मरणहरु सुनेर परिवारका सदस्यहरू र सहभागीहरुका आखा रसाएका थिए । कार्यक्रमलाई नै भावुक बनाएको थियो ।
कार्यक्रममा एनआरएन अमेरिकाका उपाध्यक्ष नेत्र पाण्डेले साहित्य सँगीत र कलामा निरन्तर लागिरहने कुरा बताउँदै भूपी प्रति सम्मान व्यक्त गर्नु भयो । स्रष्टा साँझ अमेरिकाका महासचिव बैकुण्ठराज आचार्यले स्वागत गर्नु भएको कार्यक्रममा एनआरएन अमेरिकाकी अभियन्ता रिता देवी प्रधान पनि सरिक हुनु हुन्थ्यो । कार्यक्रमलाई सुरेन उप्रेतीले सहजीकरण गर्नुभएको थियो । स्रष्टा सुनिता बस्नेत थापाले भूपीको बारेमा लेखिएको आफ्नो मुक्तक सुनाउँदै पुस्तकहरूलाई अन्तर्राष्ट्रियकरण गर्नु पर्नेमा जोड दिनु भयो । कार्यक्रमलाई इनेप्लिज डटकमको फेसबुकबाट लाइभ प्रसारण गरिएको थियो । सुनिता बस्नेत थापाले सबै सहभागीहरुलाई धन्यवाद दिँदै कार्यक्रमको समापन भएको थियो ।
कार्यक्रमको लाइभ भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला :
https://www.facebook.com/enepalese/videos/293822049924079
प्रतिक्रिया