काठमाडौँ,
टुक्का साहित्य समाजकाे आयाेजनामा २०८० असाेज ६ गते “छन्दमा टुक्का अभ्यास श्रृङ्खला-७५” सम्पन्न भएकाे छ। ” छन्दमा टुक्का अभ्यासशाला ” मा सञ्चालन भएकाे उक्त कार्यक्रममा छन्द प्रशिक्षक रामशरण न्याैपानेले प्रशिक्षण गर्नु भएकाे थियाे । अभ्यासमा विश्वका विभिन्न देशहरूबाट १० नेपालीभाषी सर्जकहरूकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमकाे सहजीकरण टुक्का साहित्य समाजका अध्यक्ष तथा परिकल्पनाकार ताराप्रसाद चापागाईँले गर्नु भएकाे थियाे ।
विभिन्न छन्दहरू सिकाउँदै छन्दमा टुक्का कविता लेखनकाे विकासगरि नेपाली भाषा साहित्यमा विशेष याेगदान पुर्याउने उद्धेश्यका साथ छन्दमा टुक्का कविता लेखन अभ्यास श्रृङ्खला सञ्चालन भइरहेकाे छ । यस श्रृङ्खलाका सहभागीहरूले वार्णिक छन्द अन्तर्गत मन्दाक्रान्ता छन्दमा अभ्यास गर्दै टुक्का कविताहरू सिर्जना गरेका थिए।
कार्यक्रमकाे समापन गर्दै अध्यक्ष चापागाईं तथा प्रशिक्षक न्याैपानेले प्रयाेगवादी नव काव्यिक उपविधा टुक्का कवितामा छन्दकाे प्रयाेग गर्दै केही मात्रामा भए पनि छन्दमा काव्य सिर्जना गर्न प्रेरित गर्दै नेपाली भाषा साहित्यकाे जगेर्ना गर्ने प्रयास गरिएकाे जानकारी गराउदै उत्साहपूर्वक सहभागी भई मन्दाक्रान्ता छन्दमा सुन्दर टुक्का कविताहरू सिर्जना गर्नुभएका सहभागी सबै टुक्काकारहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।
~~~~~~~~~~~~~~~~
::::: मन्दाक्रान्ता छन्द :::::
~ गण : म भ न त त गुरु गुरु
~ सङ्केत : २२२ २११ १११ २२१ २२१ २२
~ चार र दश अक्षरमा विश्राम
~~~~~~~~~~~~~~~~
अभ्यासका क्रममा सङ्कलन भएका मन्दाक्रान्ता छन्दमा सिर्जना गरिएका केही टुक्का कविताहरू
[१]
१.
बाँझो देखेँ, सबतिर हरे!, गाउँका खेत बारी
उस्तै देखेँ, युवक नहुँदा, बैँसका रम्य नारी।
२.
नेपाली हो, जुरुजुरु उठौँ, चेतना दीप बाली
पुग्छौँ हामी, शिखर कहिले?, काँधमा भ्रष्ट हाली। रामशरण न्यौपाने
भक्तपुर
[२]
खेती बारी सब अब सके राष्ट्र बेचे घडेरी
बाँझा जग्गा पनि सब लुटे आज लाग्यो खडेरी। गुणनिधि घिमिरे
अमेरिका
[३]
लागे ज्यादा परमुलुकमा मर्द बाँकी भएनन्
ओरालोमा मुलुक धसियो बोक्न कोही गएनन्। ताराप्रसाद चापागाईँ
धुनिबेसी
[४]
१.
पाखण्डीको भर किन पर्यौ बुध्दु जस्तै बनेर ?
जानेकै थ्यौ छलबल सबै गर्छ यस्तै भनेर !
२.
भन्छन् हामी गुरु तर सबै मूर्ख जस्तै नमानी,
खस्रा चिल्ला कतिपय कुरा व्यर्थ बोल्छन् नजानी ! विवश पारदर्शी
झापा
[५]
१.
नेपालीको रगत पसिना बग्छ यो भूमिमाथि
वैरीका सामु कलुषित बन्दैछ यो देश साथी ।
२.
बेला हो यो हरतरहले एकता मन्त्र रट्ने
गर्जी गर्जी उठ सकल मैलो तुवाँलो छ हट्ने । पद्मा काश्यप पाण्डे
पथरी, मोरङ
[६]
नौला साथी,अझ पनि तिमी,नाउँमा मात्र हिँड्छौ
स्वार्थी लोभी,कुन रहरमा,दाउमा मात्र भिड्छौ ? प्रेम थापा “मन”
बागलुङ
[७]
१.
हेर्दा हेर्दै बगर हुन गो जिन्दगीको कमाइ ,
खैला बैला सबतिर भयो बस्छु थाप्लो समाई ।
२.
सोझा साधा नरजन मरे ओखती नै नपाई ,
सामन्ती छन् सुख चयनमा स्वर्णशैय्या बनाई । बेदु न्यौपाने
काठमाडौँ
[८]
खेतीपाती अब सब झुले हर्ष मान्दै जवानी,
सुख्खा छैनन् जमिन जननी चल्छ यो जिन्दगानी । भगवती दवाडी
झापा
[९]
फर्के कैयौँ गुरुजनहरू राजधानी तताई
बाधा आफ्ना हृदय भरिका केन्द्रलाई जताई l बाबुराम गौतम
गुल्मी
[१०]
१.
सच्चा यात्री, विचलित मनै सोच्नथाले ,नजाती
शङ्कै शङ्का,कठिन अडिनै बास सर्ने ,छ ताती।
२.
नेता मात्रै, प्रगति पथमा नीति बन्दै ,खरानी
कस्तो जालो,नजर धनमा खान मात्रै ,छ बानी। सुस्मिता अधिकारी
काठमाडाैँ
::::: जय टुक्का! जय साहित्य!! :::::
प्रतिक्रिया