चित्रलेखा छन्दकाे अभ्यास गर्दै “छन्दमा टुक्का अभ्यास श्रृङ्खला ७६” सम्पन्न!

इनेप्लिज २०८० असोज १८ गते १०:४४ मा प्रकाशित

काठमाडौँ,
टुक्का साहित्य समाजकाे आयाेजनामा २०८० असाेज १३ गते “छन्दमा टुक्का अभ्यास श्रृङ्खला-७५” सम्पन्न भएकाे छ। ” छन्दमा टुक्का अभ्यासशाला ” मा सञ्चालन भएकाे उक्त कार्यक्रममा छन्द प्रशिक्षक रामशरण न्याैपानेले प्रशिक्षण गर्नु भएकाे थियाे । अभ्यासमा ८ नेपालीभाषी सर्जकहरूकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमकाे सहजीकरण टुक्का साहित्य समाजका अध्यक्ष तथा परिकल्पनाकार ताराप्रसाद चापागाईँले गर्नु भएकाे थियाे ।

विभिन्न छन्दहरू सिकाउँदै छन्दमा टुक्का कविता लेखनकाे विकासगरि नेपाली भाषा साहित्यमा विशेष याेगदान पुर्याउने उद्धेश्यका साथ छन्दमा टुक्का कविता लेखन अभ्यास श्रृङ्खला सञ्चालन भइरहेकाे छ । यस श्रृङ्खलाका सहभागीहरूले वार्णिक छन्द अन्तर्गत चित्रलेखा छन्दमा अभ्यास गर्दै टुक्का कविताहरू सिर्जना गरेका थिए।

कार्यक्रमकाे समापन गर्दै अध्यक्ष चापागाईं तथा प्रशिक्षक न्याैपानेले प्रयाेगवादी नव काव्यिक उपविधा टुक्का कवितामा छन्दकाे प्रयाेग गर्दै केही मात्रामा भए पनि छन्दमा काव्य सिर्जना गर्न प्रेरित गर्दै नेपाली भाषा साहित्यकाे जगेर्ना गर्ने प्रयास गरिएकाे जानकारी गराउदै उत्साहपूर्वक सहभागी भई चित्रलेखा छन्दमा सुन्दर टुक्का कविताहरू सिर्जना गर्नुभएका सहभागी सबै टुक्काकारहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।

~~~~~~~~~~~~~~~~
::::: छन्द चित्रलेखा :::::
~ गण सङ्केत : म भ न य य य
~ २२२ २११ १११ १२२ १२२ १२२
~ ४ र ११ अक्षरमा विश्राम
~~~~~~~~~~~~~~~~

अभ्यासका क्रममा सङ्कलन भएका चित्रलेखा छन्दमा सिर्जना गरिएका केही टुक्का कविताहरू
[१]
१.
खेतीपाती तिर न छ सुविधा, चल्छ उद्योगधन्दा
पार्टी धेरै, घर घर लठुवा, हिँड्छ मागेर चन्दा।
२.
लोभी पापी, पद उपर हुँदा, देशलाई छ हानि
नेपाली हो, अब सजग बनौँ, शीघ्र फेरौँ सिरानी।

✍️

 रामशरण न्यौपाने
भक्तपुर
[२]
माया साँच्दै, रहनु म कसरी?, रोज टाढा बनेर
देख्दा तिम्रो, चुलबुल पन त्यो, रेटियो आँत धेर।

✍️

 ताराप्रसाद चापागाईँ
धुनिबेसी ।
[३]
१.
चाला राम्रो,असल चलनले, बढ्न जाला अगाडि,
थोरै तिम्रो,नजर झुकिगए, गिर्नु पर्ला पछाडि।
२.
हेर्दा हेर्दै, अविरल दुनियाँ, खेप्न थाले दुखाइ,
सारा पीडा,तरतर पसिना,भित्र भित्रै लुकाई।

✍️

 होम प्रसाद नेउपाने
धरान, सुनसरी।
[४]
१.
खैलाबैला  हिमशिखर  अहा हेर तेर्सो छ बाटो ,
स्वर्गजस्तो रमण शिखरमा लाछ मोती छ माटो।
२.
पेसा धान्ने सबल मनुजको पर्न थाल्यो खडेरी ,
आधा मान्छे पर मुलुक पसी किन्न थाले घडेरी।

✍️

 बेदु न्यौपाने
काठमाडौँ
[५]
१.
लेखूँ त्यस्तो रस मिलन भरेको म काव्यार्थ पाना
खोली ढोका अगम मन बनोस् शास्त्र ऊर्जा ससाना ।
२.
खेल्दा भाषासँग कलम कलाले भरी शब्द सारा
मेरो इच्छा छ अथक सवितातुल्य होस् काव्य धारा ।

✍️

 पद्मा काश्यप पाण्डे
पथरी मोरङ
[६]
१.
कैदी  बन्दी सबकन अब लौ मुक्ति मिल्ने जनाए !
गुण्डा सारा दलगत सबकै काम सङ्लो बनाए !
२.
हत्यारा जो दल गत जति छन् दङ्ग देखेर आज,
यस्तो चाला किन अति ठिक भो ? लाग्छ देख्दा नि लाज।

✍️

 विवश पारदर्शी
झापा
[७]
१.
नाना भाँती,जरकमरकमा,कुक्क गर्दै अघायौ
हेर्दाहेर्दै , छलकपट अझै,  दोष आफैं लगायौ ।
२.
माया मानी,गरिब जन यहाँ ,रक्त सारा बगाए
नेता सारा ,बल जफत उही,अर्थ औधी लगाए ।

✍️

 प्रेम थापा “मन”
बागलुङ
[८]
आभा देख्दा सकल मनुजको मुक्त हाँसो खुसीको
लागे जस्तो हुन अब बुझियो त्यो भकारी झुसीको।

✍️

 जमुना आचार्य
सिन्धुपाल्चाेक

::::: जय टुक्का! जय साहित्य!! ::::

प्रतिक्रिया