मुख खोल्नै हुन्न, चुप्प लागेर बस, घर भित्र पस !

इनेप्लिज २०८० मंसिर ५ गते २२:०३ मा प्रकाशित

तिमी भन्छौ ‘सामन्ती राजा’ फर्काउनु पर्छ

अपराध र अराजकताका पुराना र नयाँ डनहरूले,

पराइको निर्देशनमा क्वाप्प निलेको हिन्दु राष्ट्र, 

फर्काउनका लागि आन्दोलन चर्काउनु पर्छ    

तर म भन्छु, विनम्र भएर भन्छु, सोंचेर भन्छु 

जङ्गली राक्षसहरूको रजाइँ अझै चल्न दिनुपर्छ  

यिनका पछि लाग्ने र काँध थाप्ने स्यालहरूलाई, 

यिनैले बालेको आगोमा आत्मदाह गर्दै जल्न दिनु पर्छ ! 

पुगेकै छैन, छोएकै छैन यी जिउँदा लासहरूलाई 

आफ्नै घरमा दन्दनि सल्केको आगोले,

अझै डढ्न देऊ आगोको ज्वालामा परी, 

शती जान देऊ राक्षसहरूको, मर्न देऊ उनीहरूलाई !

खरानीका लागि घर जलाउनेहरूको देशमा 

आफ्नै आमा बलात्कार गर्नेहरूको देशमा 

म सहानुभूति राखेर कसरी हेरूँ कान्छा ?

हजार राजा छँदैछन, एउटा राजा ल्याऊँ कसले भन्छ ?? 

त्यसैले कर्फ्यु लाग्न देऊ, मसान घाट बन्न देऊ, 

मुख खोल्नै हुन्न, चुप्प लागेर बस, घर भित्र पस !      

– रामप्रसाद खनाल

प्रतिक्रिया