सरस्वती ज्ञान-विज्ञान, कला-शिल्प, संगीतकी देवी हुन् । माघ महिनाको शुक्लपक्षको पञ्चमीलाई वसन्त पञ्चमीको रुपमा मनाइन्छ । माता सरस्वतीको जन्मोत्सवलाई हामी सरस्वती पूजाको रुपमा मनाउने गर्छौं । विधि-विधानपूर्वक पूजा गर्नाले विद्या, वाणी र प्रसिद्धिको आर्शिवाद प्राप्त हुने विश्वास गरिन्छ ।
सरस्वती पूजाको दिन सबै शिक्षण संस्थामा शिक्षक एवं विद्यार्थीले सरस्वती माताको पूजा अर्चना गर्छन् । पहिलोपटक विद्यालय जान तयार हॅुदै गरेका बालबालिकालाई अक्षर आरम्भ गराउने राम्रो साइतको रुपमा यस दिनलाई मानिन्छ । साथै कुनै पनि नयाँ कामको थालनीको सर्वोत्तम साइत हो आजको दिन ।
आज सरस्वती पूजा
माघ शुक्ल पंचमीको दिन मनाउने यस पर्वलाई बसन्त पंचमी, श्री पंचमी अर्थात् सरस्वती पूजा भन्ने गरिन्छ। यसै दिनदेखि ऋतुहरुको राजा बसन्त ऋतु सुरु हुन्छ। बसन्त ऋतुको आगमनको उपलक्ष्यमा बसन्त श्रवण गरिन्छ ।काठमाडौस्थित हनुमानढोका दरबारमा सवारी भई पण्डितहरुद्वारा बसन्त श्रवण गर्ने परम्परा रहेको छ। वैदिक युग देखि नै काम देव र रतिको पूजा गरेर मनाउने गरिएको बसन्त पंचमी आधुनिक कालमा काठमाडौँ हनुमान ढोकाको नासल चोकमा मनाइन्छ । यस अवसरमा राष्ट्र नायकहरु जाने प्रचलन रहेको छ। पुराणमा कामदेव र बसन्तलाई मित्रका रुपमा वर्णन गरिएको छ। यस दिनमा लक्ष्मी र श्री विष्णु भगवानको पूजा गर्ने चलन रहेको छ। सनातनीहरुमा १२ महिनाका १२ देवीहरुको पूजा गर्ने प्रचलन पनि रहेको छ जस अनुसार मङ्सिरमा श्री (धनधान्यदेवी), पौषमा लक्ष्मी, माघमा कमला, फागुनमा सम्पदा, चैतमा पद्मा, बैशाखमा नारायणी, जेठमा धृति, आषाढमा स्मृति, श्रावणमा पुष्टि, भदौमा तुष्टि, आश्विनमा सिद्धि, कार्तिकमा क्षमाको पूजा गरिन्छ। यसबाट सौभाग्य, लक्ष्मी र विद्या प्राप्त हुने विश्वास गरिन्छ। भनिन्छ एकपटक सबै ऋतुहरुले ऋतुराज वसन्तलाइ ८-८ दिन सम्म भेट गरेका थिए र भेटघाटको लागि जसमा ४० दिन लागेको थियो। त्यसै कारणले बसन्त पंचमी चैत कृष्ण प्रतिपदामा नभईकन ४० दिन अघि माघ शुक्ल पंचमीमा मनाउन थालिएको परम्परा रहेको छ। पहिला चैत कृष्ण प्रतिपदामा मनाउने चलन थियो। यसै दिनदेखि गाउन थालिएकि बसन्त राग त्यो बसन्त राग आजसम्म पनि चलिरहेको छ।
सनातन धर्मावलम्बीहरु विद्याकी देवी सरस्वतीको पूजा यसै दिनमा गर्दछन्। सरस्वती ब्रह्माको वाणीबाट उत्पत्ति भएकी ब्रह्माकी पुत्री हुन् । यिनलाई संगीत, कला, साहित्य र विद्याकी खानी मानिन्छ। माघ शुक्ल पंचमीको दिनमा सरस्वतीको जन्म जयन्तीको रुपमा विभिन्न देशहरु भारत तथा नेपाल अधिराज्यभरमा रहेका सबै सरस्वती मन्दिर, पुस्तक, मूर्तिहरु स्थापना गरि पूजा, उपासना र स्तुति पाठ गरेर मनाइन्छ। सरस्वतीलाई महा विद्या, महावाणी, भारती, वाक, शारदा, आर्य, भ्रामी, कामधेनु को नामले पनि सम्बोधन गरिन्छ। शास्त्रमा सरस्वतीको लक्षण श्वेत वस्त्र धारण गरेकी, गोरो वर्णकी, सदा मुस्कुराई रहने, सर्वोतम रत्नद्वारा निर्मित आभूषणले सुसोभित भएकी, एक हातमा विणा, एक हातमा पुस्तक, एक हातमा स्फटिक माला र एक हातमा अभय मुद्रामा रहेकी चतुर्भुज राजहंसमाथि सवार भएकी भनेर बताइएको छ। खासगरी विद्यार्थीहरुले यो पर्वलाई महत्त्वका साथ मनाउँदछन्। सरस्वतीका मन्दिरमा गई दर्शन र पूजा गर्दछन्। स-साना नानीहरुलाई अक्षर आरम्भ गराउने प्रचलन पनि यहि दिन रहेको छ। जो पढ्नमा अलिकति ढिला सुस्ती गर्दछन् उसलाई ॐ नम: बागीश्वराय: दैनिक पढाउनु भएको खण्डमा राम्रो रहने छ। काठमाडौँ उपत्यका भित्र पशुपतिको जय बागेश्वरी, स्वयम्भुको सरस्वती, चाँगु नारायणको फर्पिङ्ग, बल्खु, हाँडीगाउँ, लेलेको सरस्वतीको मन्दिरमा यस दिन दर्शनार्थीको भिड लाग्दछ। लेलेमा सरस्वती कुण्ड र ज्ञान कुण्ड नाउँका दुई कुण्डहरु छन्। विं.स ५२६ को सिला लेखमा लेले र सरस्वती कुण्डका बारेमा धेरै ठुलो उल्लेख भएको पाइन्छ। त्यस हिसाबले लिच्छवी काल अघिनै लेलेले तीर्थको रूपमा ख्याती पाएको बुझिन्छ। त्यहाँको कुण्डमा स्नान गर्ने र कुण्डको जल तीन पटक पिउनाले बोल्न नजान्नेको बोली फुट्ने र वाक्य शुद्ध हुने विश्वास गरिन्छ। बौद्ध धर्ममा पनि सरस्वतीलाई बोधिसत्ता मन्जुश्रीका रुपमा ज्ञानका प्रतिकका रुपमा पूजा गरिन्छ। त्यसैले त्यस दिन सरस्वती र मन्जुश्रीको मन्दिरमा दर्शनार्थीको भिड लाग्दछ।
भक्तपुर स्थित हनुमन्ते खोलाको पूर्व भागमा एउटा देवाली गर्ने ठाउँ छ। त्यहाँको सानो मन्दिर भित्र एउटा मूर्ति छ। त्यसलाई चौरमा बस्ने सरस्वती भन्दछन्। ती सरस्वतीलाई लासाबाट ल्याएको भन्ने भनाइ पनि छ। तिनलाई निल सरस्वती भन्दछन् र बौद्ध मार्गीहरु मन्जुश्री भन्दछन्। लाजिम्पाटको गैरेधारा स्थित निल सरस्वती ठूलो मन्दिर रहेको छ। त्यस मन्दिरमा सरस्वतीको पूजा अघिल्लो दिन मूर्तिमा तेल घस्न जाने विद्यार्थीहरुको भिड एकदम बढी लाग्दछ। श्री पंचमीका दिन पौराणिक कालमा भक्ति पूर्वक कलश स्थापना गरेर नैवेद्य गणेश, सूर्य, अग्नि, विष्णु, शिव देवताको पूजा गर्नुपर्छ। त्यसपछि सरस्वतीको पूजा गरी ताजा नौनी, दहि, दूध, धानको लाभा, तिलको लड्डु, नरिवल, जल, मुला, बयर, बेल, अदुवा अर्पण गर्नु पर्दछ। सरस्वतीलाई स्वेत रंग प्रिय छ त्यसैले स्वेत पुष्प, स्वेत चन्दन, स्वेत वस्त्र, शंख आदि अर्पण गर्नुपर्छ। त्यसपछि देवीको ध्यान गर्नुपर्छ। अष्टाक्षरी मन्त्रले पूजा गरिएको छ। ॐ श्रीं रिं सरस्वत्यै नम: यस अष्टाक्षरी मूल मन्त्रको जप गर्नुपर्छ। यो मन्त्र विद्या, बुद्धि, सौभाग्य प्रदायक मन्त्र हो त्यसको कारणले गर्दा सरस्वती कवजहरु पनि यसरी पाठ गर्नु भएको खण्डमा माता सरस्वतीले विद्या, बुद्धि, यस, कृति, मान, सम्मान, इज्जत, पद प्रतिष्ठा प्राप्त हुन्छ ।
सरस्वती उत्पतिको कथा
सृष्टि निर्माणका समयमा सर्वप्रथम आदि शक्तिको प्रादुर्वभाव भयो । देवी महालक्ष्मीको आह्वानमा त्रिदेव अर्थात शिव, विष्णु, ब्रह्मा उपस्थित भए ।
त्यसपति देवी लक्ष्मीले तीन देवतालाई आ-आफ्नो गुण अनुसार देवी उत्पन्न गर्नका लागि स्तुति गरिन् । माता लक्ष्मीको प्रार्थना स्वीकार गरेर तिनै देवले आ-आफ्ना गुण अनुसार देवीको आह्वान गरे । सबैभन्दा पहिला भगवान शिवले तमोगुण महाकाली प्रकट गरे, भगवान विष्णुले रजोगुणवाट माता लक्ष्मीको र ब्रम्हाजीले आफ्नो सत्वगुणबाट देवी सरस्वतीको आह्वान गरे ।
ब्रम्हाजीले सृष्टिको निर्माण गरेपछि जव आफूले बनाएको सृष्टिको मृत शरीरको भाँति शान्त वा स्वरविहीन भयो, तब ब्रम्हाजी उदास भए । उनले आफ्नो व्यथा विष्णुलाई भने । विष्णुले ब्रम्हालाई भने, उक्त समस्याको समाधान माता सरस्वतीले गर्न सक्छिन् । माता सरस्वतीले ब्रम्हाको अनुरोधमा जसरी वीणाको तारमा स्पर्श गरिन्, त्यसैगरी ‘सा’ शब्द प्रस्फुटन भयो । यो शब्द संगीतको सप्तसुरमा प्रथम सुर मानिन्छ ।
यस ध्वनिले ब्रम्हाजीको मूक सृष्टिमा स्वरमय ध्वनिको संचार भयो । हावाको, सागरको, पशु पंक्षि एवं अन्य जीवको आवाज आउन थाल्यो । यसबाट ब्रम्हाजी प्रशन्न भएर सरस्वतीको वाणीको देवीको नामबाट सम्बोधन गर्दै वागेश्वरी नाम दिए ।
बसन्त ऋतुका नामबाट यसको नाम वसन्त पञ्चमी
यसलाई वसन्त पञ्चमी पनि भनिन्छ । वसन्तको शाब्दिक अर्थ हो- मादकता । यस समयमा धर्तीमा उत्पादन क्षमता बढ्छ, रुख बुट्यानमा नयाँ पालुवा पलाउँछ । वसन्त पाँच दिनअघि वसन्त ऋतु आरम्भ हुन्छ । यही यामलाई ऋतुहरुको पनि राजा भनिन्छ । वसन्त पञ्चमीमा कमदेव एवं रतिको पूजा गरिन्छ । यसै दिन माता सरस्वतीको जन्मोत्सव पनि मनाइन्छ ।
पूजा मुर्हूत
यस पूजाको शुभ समय बिहान ७ बजेर ५० मिनेटदेखि ११ बजेर ५६ मिनेटसम्म रहेको छ । यदि यो समय उपलब्ध हुन नसके यो दिन जुनसुकै समयमा पनि गर्न सकिन्छ ।
घर, विद्यालय, मन्दिर जहाँ पनि सरस्वती पूजा मनाउन सकिन्छ । पौराणिक कथन अनुसार सबैभन्दा अघि भगवान श्रीकृष्णले सरस्वतीको पूजा गरेका थिए । रातको समयमा सबै दैनिक कामबाट निवृत्त भएर नुहाई, ध्यान गरेर माता सरस्वतीको तस्विर वा मूर्ति स्थापना गर्नुपर्छ । यसपछि कलश स्थापित गरिन्छ र गणेशजी एवं नवग्रहको विधिवत् पूजा गरिन्छ ।
सरस्वती पूजा गर्दा सबैभन्दा पहिला उनलाई नुहाइदिने चलन छ । त्यसपछि माताको सिन्दुर र अन्य श्रृंगारको वस्तु चढाउने र फूलमाला चढाउने चलन छ । यससँगै सरस्वती कवचको पाठ गरिन्छ ।
‘ऊँ ऐं सरस्वत्यै नमः’ मन्त्रलाई एक सय आठपटक जप गरेर सरस्वतीको आरती गरिन्छ । सरस्वती मिश्री, दूध, दही, तुलसी, मह मिलाएर पञ्चामृतको प्रसाद बनाएर चढाउने प्रचलन छ । यसका साथमा खिरको प्रसाद अर्पण गर्ने गरिन्छ ।
सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी ।
हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे ।।
प्रथमं भारती नाम द्वितीयञ्च सरस्वती ।
तृतीयं शारदा देवी चतुर्थ हंसवाहिनी।।
पञ्चमं तु जगन्माता षष्ठं वागीश्वरी तथा।
सप्तमं चैव कौमारी अष्टमं वरदायिनी।।
नवमं बुद्धिदात्री च दशमं ब्रह्मचारिणी।
एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी।।
द्वादशै तानि नामानि त्रिसन्ध्यं य पठेन्नरः।
जिव्हाग्रे वसते तस्य ब्रह्मरूपा सरस्वती !!!श्रीपञ्चमी अथवा बसन्त पञ्चमी सनातनीहरुको एक विशेष पर्व हो । यस दिन विद्याकी देवि सरस्वतीलाई विभिन्न किसिमले पूजाआरधाना गरी मनाइन्छ । यो पर्व हरेक वर्ष माघ शुक्ल पञ्चमीको दिन पर्दछ । विभिन्न किंवदन्ति अनुसार सृष्टिको प्रारम्भिक कालमा भगवान विष्णुको आज्ञानुसार ब्रह्माले जीवहरुको सृष्टि गर्नु भयो जसमा विशेष त मनुष्य योनीको रचनामा गरिसके पछि भगवान ब्रह्मा खुशी हुनु भएन वहाँलाई केही कुराहरुको कमी भएको भान भयो र फेरी विष्णुको अनुमति लिएर वहाँले आफ्नो कमण्डलुबाट जल पृथ्वीमा छर्नु भयो, पृथ्वीमा जलकण छरिने बित्तिकै कंपन हुनथाल्यो । यसपछि वृक्षहरूका बीचबाट एक अद्भुत शक्तिको उत्पत्ति भयो । यो प्राकट्य एक चतुर्भुजी सुंदर स्त्रीको थियो जसको एक हातमा वीणा तथा अर्को हातमा वर मुद्रा थियो । अरु दुई हातहरूमा पुस्तक र माला थिए । ब्रह्माले देवीसित वीणा बजाउने अनुरोध गरे । जब देवीले वीणाको मधुरनाद गरिन्, संसारका समस्त जीव-जन्तुहरूलाई वाणी प्राप्त भयो । जलधारामा कोलाहल व्याप्त भयो । हावा चल्दा सरसर आवाज आउँन थाल्यो अथवा शव्दको प्रादुर्भाव भयो । तब ब्रह्माले ती देवीलाई वाणीकी देवी सरस्वती भनी नामकरण गर्नु भयो । सरस्वतीलाई बागीश्वरी, भगवती, शारदा, वीणावादिनी र वाग्देवी, सरस्वती, शारदा, जगत्माता, कौमारी, वरदायिनी, कामधेनु आदि हजारौँ नामहरूले पूजा गरिन्छ । यिनी विद्या र बुद्धि प्रदातृ मानिन्छिन् । संगीतको उत्पत्ति गरेको कारण यिनी संगीतकी देवी पनि हुन् भनिन्छ । स्वर, सङ्गीत, ताल, लयकी श्रोत सा रे ग म प ध नि सा देखि नृत्यकला, कार्यकुशलता, ज्ञानको भण्डार, वास्तुकला, शिल्पी, प्रविधि, हातको सीप, वाणीको माधुर्य, गला र कलाको निरन्तर साधनाबाट साध्य प्राप्तिमा प्रेरित गर्ने सरस्वतीका विभिन्न साधना र पूजा अर्चना गरी मनाइन्छ ।
श्रीपञ्चमीका दिन कामदेव र रतिको पनि पूजा गरिन्छ। वसन्तका प्रतीक कामदेव र उनकी स्त्री रतिको विशेष स्मरण गर्ने दिन वसन्तको आगमन उत्सव वसन्तराग गाउने पनि चलन रहेको छ। जीवनलाई शृङ्गारिक बनाउन वसन्त रागले प्रेरणा दिन्छ। काव्यविनोदी, स्रष्टा, सर्जक, साहित्य, कलाका साधकहरूका लागि वसन्तराग साधनाको श्रोत नै हो। कला र गलाका पारखीहरूका लागि सरस्वती साधना गर्ने प्रमुख दिन श्रीपञ्चमी भनौँ वसन्त पञ्चमी नै हो ।
वसन्त पञ्चमीको दिनलाई जन्मोत्सवको रूपमा पनि मनाइन्छ । सरस्वतीको रूपमा यिनी हाम्रो बुद्धि, प्रज्ञा तथा मनोवृत्तिहरूकी संरक्षिका हुन्। हामीमा जो आचार र मेधा छ त्यसको आधार भगवती सरस्वती नैं हुन् । यिनको समृद्धि र स्वरूपको वैभव अद्भुत छ । उत्साह, लगनशीलता र अथक प्रयासलाई नै सफलताको प्रेरक मान्ने देवी विद्याकी खानी नै हुन् । सबैभन्दा उत्तम धन भनेको विद्या नै हो । विद्याहीन व्यक्ति भाग्यबाट पनि टाढा रहन्छ। नैतिकता, लज्जा, त्याग, सेवा र समर्पण भाव नै विद्याका गहनाहरू हुन् ।
विद्याकी देवी सरस्वतीलाई विभिन्न व्यक्तिहरुले विभिन्न तवरले पूजा अर्चना गर्ने प्रचलन छ । बौद्धधर्मीहरूले उनलाई मञ्जुश्रीका नामले चिन्दछन् भने उनका विभिन्न स्वरूपका चिन्तन गर्दै बालबालिका अक्षरारम्भ गर्छन् । बुद्धिजीवीहरू विशेषज्ञता प्राप्त गर्ने प्रयास गर्छन्। वाहन राजहंसले दूध र पानीलाई सहजै छुट्याउन सकेझैँ ठीक वा बेठिकको सही पहिचानको ज्ञान, बुद्धि, संयम र विवेक प्रदायिनी देवी सरस्वतीको कृपा प्रसादबाटै मानव मस्तिष्कको अथाह ज्ञान प्रयोग गर्दै आजको संसार विज्ञानमय बनेको छ र सर्वसुलभ सुविधा प्राप्त गरेको छ। संस्कार, सभ्यता र संस्कृतिकी श्रोत महादेवी सरस्वती जयन्तीका दिन नाक, कान, छेड्नेदेखि अन्य शुभकार्यहरू आरम्भ गर्दा कुनै साइत जुराउनु पर्दैन। विद्यार्थीहरू घरै बसेर पनि सरस्वती साधना गर्छन् भने विद्यालय, महाविद्यालय वा आ आफ्ना पराक्रम स्थलहरूमा वा मन्दिर विशेषमा उनको उपासना गर्ने गर्छन् । धातु या मूर्तिमा वा प्रतिमा या उनका चित्र अङ्कति फोटोहरू सजाएर आफ्नो साधनालाई निरन्तरता दिने सन्दर्भमा साधकहरू देवीलाई मनपर्ने दही, दूध, घ्यू, मह, चिनी, नैवेद्यहरू, फलफूल, मिठाई, कपुर, वस्त्र, भेटी, चन्दन, अगरु, शफ्, बेल, मूला, लड्डु नरिवल आदि अर्पण गर्ने गर्छन् ।
सरस्वतीका प्रसिद्ध पीठहरूमध्ये काठमाडौँ उपत्यकामा जयवागीश्वरी, स्वयम्भूमा मञ्जुश्री, हाँडीगाउँ, बल्खु, गैह्रीधारा, भक्तपुरको थाकलमाठको सरस्वती मन्दिर र हनुमानघाटको नीलसरस्वती, ललितपुरको लेलेस्थित सरस्वती मन्दिरहरूमा सरस्वती जयन्तीका दिन विशेष भीड लाग्ने गर्दछ। तराई क्षेत्रमा माटाका सरस्वती मूर्ति बनाई पूजागर्ने चलन छ । मूर्तिमा प्राण प्रतिष्ठा गरी धूमधाम पूजा र बाजागाजा गरी जलाशयमा बिसर्जन गर्ने चलन देखिन्छ। सरस्वतीको सेवाले व्यक्ति हरेक क्षेत्रमा सफल हुने मान्नेता रही आएको छ ।
प्रतिक्रिया