भगवानले धेरै आमाहरु बनाए तर अनेसासकी आमाको सृष्टि गर्न केही समय लागेको थियो रे, किनकि अनेसासकी आमा आदरणीय नन्दादेवी सुवेदी एक असल, कोमल, साधारण र सिधा नारी हुनुहुन्थ्यो ।
नारीमा धेरै गुणहरु भरिपूर्ण हुनुपर्छ हो त्यो गुण स्वर्गीय नन्दादेवी सुवेदी आमामा थियो र उहाँ अनन्त कालसम एक अमर नारी भएर रहनु हुनेछ।
उहाँमा सबै प्रकारका परिस्थितिहरु सम्हाल्न सक्ने गुण थियो, क्षमता थियो र त आजसम्म हामी सबैको मन मुटुमा रहनु भएको छ।
स्वर्गीय नन्दादेवी सुवेदी आमाले सबै बच्चाहरुको हेरचाह गरेर सबैलाई खुशी राख्न सफल हुनुहुन्थ्यो,
खुट्टामा लागेको सानो चोटदेखि हृदयमा लागेको ठूलो भन्दा ठूलो चोटसम्मलाई उहाँले आफ्नो मातृत्व र सहनशिलताले निको पार्न सक्ने क्षमता थियो । उहाँमा सबैभन्दा ठुलो गुण त्यो थियोे कि आफू अस्वस्थ हुँदापनि आफ्नो हेरचाह सकेसम्म आफैं गर्दै दिनभर छोराछोरी, नाति- नातिना, इष्टमित्र र परिवारको निम्ति लगातार काम गर्न सक्नु हुन्थ्यो । उहाँको दैनिक क्रियाकलाप देखेर भगवान पनि छ्क्क पर्दथे र भन्ने गर्थे रे-
यिनी बाहिरबाट हेर्दा धेरै नाजुक छिन् तर भित्र धेरै बलियो छिन। भगवानले उहाँसङ्ग हरेक परिस्थिति सम्हाल्ने शक्ति देख्नु भएको थियोे, उहाँ कोमल हुनुहुन्थ्यो तर कम्जोर भने होईन ।
एकदिन फेरि भगवानले भन्नु भएको थियोे रे- उनी सोच्न त सक्छिन् नै, परिस्थिति अनुसार बलवान भएर लड्न पनि सक्छिन भनेर, त्यसैले त आज हामीले पनि उहाँ आमा नन्दादेवी सुवेदीलाई महान मानेका छौँ । भगवानले दिएको नारी शक्ति उहाँमा अद्दुत थियो, आज उहाँसङ्ग भएको शक्ति नै हरेक सन्तानको बल, हिम्मत बनेको छ जसले सम्पूर्ण हामी अनेसासका छोराछोरीहरुलाई प्रोत्साहित गरेको छ। उहाँ आफ्नो घरमा आएका पाहुना आफ्न्त अनि साथीभाइलाई देखेर सार्है खुसी व्यक्त गर्नु हुन्थ्यो, हर समय हामीसङ्ग ठट्टा गरेर घरमा रमाइलो वातावरण बनाउनु हुन्थ्यो ।उहाँको आतिथ्य अनि प्रेममा कुनै शर्त थिएन बरु गहिरो प्रेम अनि माया थियो तर कहिलेकाहीँ आफ्नाले धोका दिएभने उहाँलाई चित्त दुख्ने गर्दथ्यो।
साँच्चि नै मैले देखे अनुसार, मैले अनुभव गरे अनुसार आमा नन्दादेवी सुवेदीमा हरेक परिस्थिति सम्हाल्ने क्षमता थियो। उहाँ असल गृहिणी मात्र नभएर अनेसास कै एउटी असल आमा, अनेसासकी जननी हुनुहुन्थ्यो ।
उहाँलाई २००९ मा केन्द्रबाट ठुलो सम्मान मिलेको थियो त्यो सम्मान अनेसासकी जननी, चम्किलो तारा भनेर गरिएको थियो जसको मैले संयोजक भएर कार्यक्रम गरेकी थिए जतिबेला म केन्द्रिय कमिटीमा कोषाध्यक्ष थिए। उहाँ न्यूयोर्क आएको बेला हाम्रोमा बस्न मन पराउनु हुन्थ्यो किनकि मलाई छोरीको दर्जा दिनु भएको थियो ।
उहाँको घरमा बारीमा फलेका बारीमा उमारेका खानेकुराहरु मेरोमा ल्याईदिएको कुरा ताजै सम्झना छ।
उहाँहरुको घर गएको बेला आफ्नै करेसाबारीमा फलेको फर्सी, खुर्सानी अनि घिरौला मलाई कोशेली भनी पठाईदिएको कुरा सम्झेर आँखाबाट आँसु नै झर्यो!
हामीसङ्ग हिजोका दिनमा बिताएको त्यो पल अनि सम्झना अविस्मरणीय रहने छ, जबसम्म अनेसास रहनेछ, हामी रहनेछौ उहाँलाई सँधै मन- मन्दिरमा राक्ग्नेछौ।
उहाँ असल, इमानदार, कोमल, सिधा अनि सरल नारी भित्र पर्नु हुन्थ्यो ।
अन्तिममा उहाँको एउटा गल्ती हुन्थ्यो त्यो हो सबैलाई मायाँ गर्दागर्दै आफ्नो महत्त्व आफैं बिर्सनु् हुन्थ्यो ।
आज उहाँ यश धर्तीमा नरहेपनि, उहाँको दर्जा संसारकै महान आमाहरुभित्र पर्दछ अनि उहाँलाई जहाँ हुनुहुन्छ म छोरीको, मेरो प्रणाम छ।
आज उहाँको भौतिक शरीर यश धर्तीमा नरहेपनि उहाँसङ्गै बिताएका ती अमुल्य समय नै अब जीवन्को सम्झना बन्नेछ।
तपाईं जस्ता आमा फेरि – फेरि यो धर्तीले पाओस् ।जूनी- जूनीसम्म अनेसासको इतिहास बनाउन तपाईंले जुन भूमिका खेल्नु भएको छ त्यो सँदैव हाम्रो मन- मस्तिष्कमा रही रहनेछ, तपाईं जस्तो आमा बन्न सबैले प्रयास गरुन् । सबैलाई प्रेरणा मिलोस्।
बैकुण्ठमा वास होस् ।
परमात्मासङ्ग मिलन होस् आमा।
जय अनेसास जननी
जय अनेसास
कमला प्रसाईं
हाल- न्यूयोर्क
भुतपुर्व अनेसास केन्द्रिय कोषाध्यक्ष
भुतपुर्व अनेसास केन्द्रिय सल्लाहकार
अनेसास पुरस्कार प्रायोजक ( केहीबर्ष)
हाल- अनेसास ट्रष्टी सदस्य
स्वर्गीय नन्दादेवी सुवेदी
प्रतिक्रिया