एकल हुनु सामाजिक अपराध हो र ?

इनेप्लिज २०८० फागुन १९ गते १७:२४ मा प्रकाशित

घरपरिवार र समाजभित्र अविवाहित बस्नु,बस्नु रुचाउनु या बस्न बाध्य हुनु, सम्बन्ध विच्छेद गर्नु/ हुनु या विधवा हुनु जस्तो विषय मानिसको रहर होइन,स्वतन्त्रता या बाध्यता हो । यी विषयहरु पारिवारिक,नातासम्बन्ध, सामाजिक र आर्थिक सम्बन्ध भएका तर व्यक्तिको रहर र बसमा नभएका सामाजिक सम्बन्ध भित्र अल्झिएका प्रसङ्गहरू हुन । यस्ता विषयहरू व्यक्ति पिच्छे एकै प्रकृतिका हुन्छन् या मिल्छन भन्ने पनि छैन । सबै घटना या प्रसङ्ग फरक फरक परिवेसमा अपर्झट सृजना हुने अकल्पनिय र फरक विषयहरु हुन ।

पूर्विय सभ्यता र सामाजिक कानुनले अप्रत्यक्ष जेलिएका र नेपालको कानुनले तोकेर,कतिपय बेला अडकल गरेर कानुन लागुहुने अवस्था बुझाउने र देखाउने सामाजिक मुद्दा हो भन्दा बुझाउन सजिलो हुने देखिन्छ । यस्ता सम्बन्धहरूको पारिवारिक संरचनामा स्थान र मानको अवस्था सामाजिक मान्यताको हिसावले अझैसम्म एकल र निर्दो देखिन्छ । यस्ता अवस्थाका सम्बन्धहरूले समाजले तोकेको निश्चित सामाजिक मापदण्डहरु पुरा गर्न नसकेको,नभएका कारण अझै व्यवहारिक रुपमा सामाजिककार्यको भुमिकामा दर्जा,स्थान र मान नपाउने अवस्था छ र पाएको देखिँदैन। विभेद विरुद्ध अनेकौं अभियान चलाउँदा पनि सामाजिक संरचनाले अशुभ कहलिनु पर्ने बाध्यताले एकल भएका महिलाहरुले हजारौं पटक रूनु पर्ने अवस्था देखिन्छ । यो र यस्ता ओझेलमा परेका अरू पनि धेरै विषयहरु छन् । ती विषयहरूलाई पनि अधिकारसगँ जोड्दै बहसमा ल्याउन अति आवश्यक देखिन्छ । गणतन्त्र आउँदा पनि समाजले यो दिशा लिन सकेको छैन । राज्य र राजनीतिक दलहरुको कम्जोरी यहिनेर देखिन्छ।

आदिमकालदेखि नै पूर्विय सव्यताले विकास गरेको समाजमा महिला र पुरुषको विवाहको धारण र सम्बन्ध तथा तिनीहरूको कामको सम्बन्धको परिभाषा पनि फरक गरेको पाइन्छ । अहिलेको सन्दर्भमा त्यो परिभाषाको सिद्धान्त समानता र सामाजिक न्यायको तर दृष्टिकोण भने व्यवहारमा पुग्दा महिला र पुरुष दुबैको पितृसत्तात्मक र विभेदपुर्ण नै देखिदै आएको छ। यस्ता सामाजिक असजिलाहरू प्राय : परिवार बचाउने नाममा राज्य, परिवार र नीजि स्वामित्वको व्यवस्था अघि देखि नै विकास गराएर परिवार बचाउँदै ल्याएको भेन्टिन्छ ।यसरी परिवार बचाउँदा एकल अविवाहित ,एकल सम्बन्ध विच्छेद, एकल विधवा,एकल बाध्यात्मक र एकल समलिङ्गीहरुले समस्या ब्यहोर्नु परेको देखिन्छ। परम्परागत मान्यता र अग्रगमनको मान्यताको विजारोपण गर्नेहरुले पनि यस्ता विषयहरुलाई प्राथमिकतामा राखेर,भएका भिन्नता र असमानताका विषयमा चर्चा /वहस गरेको खास भेटिएको छैन । यसरी परम्परागत रुपमा सुरुवात भएका तर वैज्ञानिक आधार नभएका सामाजिक विधि र रितिहरुका वारेमा रुपान्तरित हुने विषयहरु रुपान्तिरत हुनुपर्छ भनेर अहिलेसम्म ठोस रुपमा कार्यक्रम बनाएर कसैले बोलेका छैनन् । एकाद बोलेकाहरुले पनि कुनै एउटा विषयमा कुनै एकदिन कुनै संघ सस्थाले निम्त्याएर केहि सहुलिएत सहित विचार राख्ने अवसर मिल्नेको बेला वा मिल्दासम्म,भन्ने,लेख्ने र बोल्ने बाहेक बनेका नीति कार्यान्वयनमा देखिएका समस्या या ग्यापको विषयमा खासै चिन्ता गरेका पनि छैन ।

कहिलेकाही मानिसहरु कसैले बोलेको कुराको आधारमा गहिरो अध्ययन विना बानी बसेको र व्यबहारमा परिर्वतन गर्न नसकेको जस्तो गरेर सामाजिक अपराध गरिरहेका हुन्छन् । हाम्रो बानीमा भएको यहि अर्गेलोका कारण मानिसले आफ्नो मान्यता सितिमिति त्याग्न नसक्ने,त्याग गर्नुपर्ने अवस्था आएमा आफैं कमजोर या पछि पारिएका पक्षहरुमा रहेको महसुस गर्छन र विभेद या अन्यायमा पर्न नै रुचाउँछन। यसरी स्विकार्नु अपराध हो तर स्विकार्छन : त्यो दासत्व या पश्यगमन हो।

यस्ता कुराको हेक्का,सवलहरुले पटकै थाहा पाउदैनन । विवेक नै शून्य भएकाले हो या हुदै नभएर हो, धेरैले बेवास्ता गरिरहेका हुन्छौ । आम नागरिकलाई कानुनले यस्ता कुरा सहन बाध्यकारी बनाएको त छैन तर, सहनेले एकै नासले सहि रहेको हुन्छ । सहनु पर्ने बाध्यता पनि सृजना हुनसक्छ ।त्यो परिवारमा या समाजमा बाच्नकालागि उसले ती कुरा सहन गर्ने बाहेक अन्य उपाय नै नभएको अवस्था पनि हुनसक्छ तर त्यो अनुमान सवलले गर्न नै खोज्दैन । नसहे या अलिक फरक विचार राखे नातासम्बन्ध भित्रबाटै सबललाई पनि एक्लै पारिन्छ,निशेध गरिन्छ र व्यक्तिलाई नै खराब बनाइन्छ ।यस्ता प्रचलन पनि समाजमा प्रसस्तै नभएका होइनन् ।

यसरी कानुनी रुपमा पारविारिक संरचनाभित्र एकलहरुको पारिचय,स्थान र पहिचानको अवस्था संरक्षित, दया र निगाहमा मात्रै छ भन्ने आधार प्रसस्तै भेटिन्छन ।

अहिले पहिले भन्दा समय मात्रै होइन राजनीति र राज्यका कानुनहरु निकै बदलिएको अवस्था छ । समाज र परिवारमा थोरै खुलापन आएको छ । तर महिला र पुरुष विच पुर्विय सव्यताले कोरीदिएको भिन्नताको सीमारेखामा लेख,पढ र जागिरे जीवन बाहेक अरुमा खासै बदलाब आएको देखिन्न । व्यवहारिक जिवनमा त्यस्ता बदलाब नदेखिए पछि मानिसमा भएको यथास्थितिवादी सोचहरुले भित्रभित्रै औंसा पारिरहेको कुरा हेक्का नै नराखि अर्को पट्टी ठोकीन पुग्ने बानीहरु अझै जटिल र जिउदै छन । त्यस्ता कुराले कम्मजोर पक्ष झन कम्मजोर र बलियो अझै बलशाली हुन्छ । पारिवारिक संरचनामा अहिले पनि हाम्रा आनीबानीहरू बोल्दा र व्यबहार गर्दा फरक हुनुको कारण पनि यस्तै प्रवृत्तिको कारण जन्मिएका छन ।अहिले पनि पारिवारिक शक्ति र मर्यादामा रहेकोले अरुलाई प्राय हेपिरहेकै देखिन्छ । त्यसरी गरिएको वर र परको व्यबहार हटाउने कहिले ? भन्ने प्रश्न र उत्तर दुबै आफैँले खोज्नु पर्ने होकी ! जस्तो लाग्छ ।

एउटै रक्त सम्बन्धका छोरा र छोरीविचमा आमाबाबुले गर्ने गरेको या रहेको विभेद होस या फरक रक्त सम्बन्ध भित्र गाँसिएको ज्वाइँ र छोरीको नाता या सम्बन्ध नै किन नहोस ! महिला नै अन्यायमा पारिरहेका हुन्छौ । त्यस्तै गाँसिएको नाता र रगतको नाता छोरी र बुहारीविच पनि हामीले व्यबहारमा निकै भिन्नताहरु गर्ने गरेका प्रसस्तै उदाहरणहरु छन । रक्त सम्बन्धभित्र गरिने यस्ता व्यवहारगत विभेदहरु निकै निन्दनीय र निकृष्ट प्रकृतिकै देखिन्छन तर पनि हामी परिवार बनाउने नाममा आफुलाई परेपछि मौन या चुपचाप बस्छौ ।यो अर्को समस्या हो।

अहिले पनि घरघरमा छोराछोरीको विवाह घर धान्न र व्यवहार टार्न गर्ने प्रचलन मै छौ । त्यसैले घर भित्र श्रीमान र श्रीमती विच हुने र गरिने व्यवहारमा पनि निकै सुधार हुन जरुरी देखिन्छ । परिवारमा महिला एकल बस्नु सामाजिक अपराध ठानिन्छ । एकल बसे माता पिताको सम्पुर्ण पक्षको हेरचाह एकलले गर्नुपर्छ भन्ने मान्यता पनि जोड्ने गरिन्छ । अविवाहित छोरी एक्लै बस्ने हक्कै हुन्न झै गरि निगरानी र कटाक्ष गर्ने प्रचलनहरुका साथै सामाजिक अपराध नै गरे झै गरि घर परिवार भित्रैबाट हेपाइ र र्दुवचन सहन गनुपर्ने अवस्थाहरु पनि प्रसस्तै छन । यस्ता व्यवहार संविधान विरोधी ,कानुन हातमा लिने र मानवअधिकार विरोधी गतिविधिहरु नै हुन् गर्न हुन्न भन्न सामाजिक अगुवाले पनि सक्दैनौं ।त्यो सँगै उनीहरुको सम्पतिको हक, मौलिक हक, स्वतन्त्रताको हक हो भनेर मुख खोल्न नसकेर समाजमा महिलामाथि प्रसस्तै हिंसा भएका घटना पनि देखेका छौ ।

व्यक्तिले विवाह गर्नु या नगर्नु व्यक्तिकै स्वतन्त्रताको कुरा हो । विवाह सामाजिक आवश्यकता हो अहिलेको खुला समाजभित्र यस्ता कुरामा व्यक्तिको बाध्यता होइन,आर्थिकसामाजिक आवश्यकताले गरिन्छ। तर हामी व्यक्तिलाई जवरजस्त गर्दै पारिवारीक दवाव सृजना गरेर विवाह गराउछौ । विवाह पछि परिवारिक संरचनामा हुने फेरबदल र थप आर्थिकसामाजिक भार र योजनाका बारेमा सोच्दैनौं । परिवार आफैं बन्छ र चल्छ भन्ने परिकल्पनाले थपिएको सदस्यलाई अमैत्री वातावरण बन्छकी भनेर सोच्नु भन्दा बढि अनेकौं पारिवारिक अपेक्षा पुरा गराउनेतिर लाग्छौ । यहि नेर विचारमा भिन्नता आउछ र अन्तरविरोध जन्मन्छ । अन्तरविरोधको व्यवस्थावनकालागि मैत्रीपुर्ण व्यवहार र आयस्रोत नै पहिलो आवश्यकता हो भन्ने हेक्का हुदाहुदै पारिवारिक कलह वा तनावले मानिस मनो सामाजिक समस्यामा पर्ने र समाधानकालागि छुटिने,विरामी पर्ने,डिप्रेसजमा जाने,विदेशीने र आत्महत्यासम्म गर्ने अवस्थामा पुग्ने हुनसक्छ। यो सामाजिक अस्वस्थता हो । यस्तो अबस्थामा पनि महिला या पुरुष एकल हुनसक्छ । यहाँ पनि एकल भएको महिला असुरक्षित र जोखिममा नै हुन्छ ।

मानिसलाई कुन बेला के रोग लाग्छ ?कस्तो घटना या र्दुघटनाका कारण मिनेट भरमा जिवन समाप्त हुने हो भनेर अनुमान गर्न नसक्निने कुरा हो । यसरी हेर्दा मनिसको जिवनको कुनै भरोसा छैन । यस्ता असमाहिक कुरा महिला या पुरुष जो कोहिलाई पर्न सक्छ । हाम्रो समाजले यस्तो घटना घटेर बनेको एकलप्रति गर्ने गरेको व्यवहारमा पनि चुक्ने गरेको छ। यस्तो बेलाको व्यवहार क्रुर देखिन्छ । त्यहि विपत पुरुषलाई परे दाहसंस्कार नसकिँदै घाटैदेखि विकल्पका बारे चर्चा गर्ने र विकल्प सोच्ने कुरा अनौठो मानिन् ।सतीजानबाट रोके पनि महिलालाई सर्वत्र नङ्गिग्याएर कुरुप पारिन्छ । यसरी कुरुप पारिएकीलाई विधुवाको संज्ञा दिएर अशुभको प्रतिक बनाएर सामाजिक मर्यादाबाट उडाइन्छ । यसरी भएकी विधवाले गुमाएका पतिको नाम जपेर हजारौ चुनौतिको सामना गर्न वाध्यपार्ने पनि हाम्रै समाज र हामी नै हौं,होइन र ?

विवाह व्यक्तिको जिवनको आवश्यकता, चाहाना र योजनाभित्रको निर्णय हो भन्ने मान्यता विरुद्ध सामाजिक र पारिवारिक इज्जतको परिभाषामा राखुन्जेल समाज र परिवारमा यस्ता कम्मजोर स्थानमा रहेकामाथि विभेद भैरहन्छ विशेष गरेर यस्ता विषयमा हेक्का राख्नु पर्ने राज्य , देश चलाउने राजनीतिक दल र सामाजिकअभियान्ताहरुले हो तर उनीहरुका छलफलमा यी विषय खास परेका देखिन्नन् । परिर्वतनले ल्याएका यस्ता विषयहरु परिवारको आवश्यकतासगँ जोड्नु हुदैन । यसरी जोड्दा गाँसिने पारिवारक बोझले विवाहित दम्पतिले नाता सम्बनधका आवश्यकता पुरा गर्न सक्दैन र सम्बन्ध नै जटिल बन्छ । यहिक्रमले परिवारमा अपारर्दशिता जन्मन्छ र सम्बन्ध विच्छेद हुन पनि सक्छ । मानिसले विवाह सम्बन्ध बनाउनकालागि गरेको हुन्छ,विछोड हुन होइन । एकल बस्नु/ विवाहित या अविवाहित अथवा सम्बन्ध विच्छेद गरेर या सम्बन्धमा दरार सृजना भएर आमावुवासँग शरणमा बस्ने छोरीलाई पनि एकलकै दर्जा दिइन्छ र परिवार भित्रैबाट उपेक्षाको सुरुवात गरिन्छ । यसरी पनि एकलमाथि विभेद गरिएको छ ।

यस्ता पारिवारिक अन्तरविरोधहरूले दम्पतिमा मन मुटाव र समस्या सृजना हुन्सक्छ / भएको छ । विशेषगरी विवाहित ज‍ोडीहरूले आफ्नु स्वार्थ सिद्ध गर्न नपाएपछि अविवाहित केटीहरुलाई परिवारसगँ नमिलेको अरोप लगाउछन । घरभित्र आमाहरुको छोरा हुँदा बुहारीलाई गर्ने व्यवहार र छोरा नहुँदा गरिने बुहारीप्रतिको व्यवहारमा निकै अन्तर हुनेगरेको देखिन्छ । यस्ता घरमा बुहारी एकल भएर बाच्नै सक्दैनन्।

नवआगन्तुक महिलालाई पिडा भइरहेको र सुनुवाई नभएकै कारण पतिपत्नि विच अविश्वास बढ्ने र विस्तारै दरार सृजना भैरहेको हुन्छ। यस्तो विषयले सम्बन्ध जोडिएर आएको महिला विस्तारै घरपरिवारको बन्धनमा बाँधिनु पर्ने प्रचल हाम्रो समाजमा छदैछ । यसरी घरधन्दामा लागि पर्नु चाहिँ परिवारको खुसी मान्ने हाम्रो प्रचलनले बुहारीको योग्यता र क्षमताको मुल्याकंन गर्न चुक्छन । यस्ता कुराले विस्तारै जोडिएको नाताकी बुहारीको आत्मसम्मानमा चोट पर्नजान्छ । यसको पुर्ति उनले आफ्नो पहिलो नाताको पतिको भुमिकामा खोज्छिन । त्यो स्पभाविक हो तर यस्तो भुमिकामा पति कम्जोर भएको कारण ब्यवस्थापन गर्न नसकेर पन्सिरहेको कुरा मातापिता र अन्य रक्त सम्बन्धले बुझ्दैनन्,देखिन्न र खोज्दैनन् । विधि व्यवहार र घोचपेचको प्रचलनले पनि परिवारभित्र अनेकौ समस्याहरु उत्पन्न भएर सम्बन्ध विच्छेद भएका घटना पनि प्रसस्तै छन ।

वास्तवमा परिवारभित्र पतिको सबैसगँ पहिलो नाता हुन्छ । व्यवस्थापन पनि पतिले नै गर्ने हो तर हाम्रो समाजले घरभित्रको ब्यवस्थापनमा पुरुषको कुनै दायरा न बनाइदिएकै कारण अनेकौ समस्याहरु सृजना भएका छन । यस्ता समस्या पुरुषको हुर्काइमा भएको जटिलताको कारण पनि कहिलेकाहिँ महिलाले सम्बन्ध विच्छेद गर्नपर्ने अवस्थामा पुग्छन र एकल बन्नु पर्ने बाध्यता देखिन्छ । पृष्ठभुमिका अनेकौ अपमाननलाई गौण बनाएर पुन: महिलालाई नै आरोप लगाएर अपराधि बनाउने र हेप्ने प्रचलन विवाहित तर सम्बन्ध विच्छेद गरेका एकलहरुले व्यहोर्नु पर्ने बाध्यता पनि कम छैनन् साथै सम्बन्ध विच्छेद नै नगरि सासु ससुरा लगायतलाई सिहारेर बसेका एकलहरुको ब्यथा अझै चर्को छ।

अहिले पनि महिलाको होस या पुरुषको विवाह नगर्नु या नहुनुलाई त्यो व्यक्तिको अथवा परिवारको समस्या ठानिन्छ र अपराध मानिन्छ । ठानिने मात्रै होइन कतिपय बेलामा चरित्र हत्या गर्दै चोर या बोक्सिको शंकाको दायरामा राखि अपराधी पनि बनाइन्छ । त्यतिमात्रै कहाँ हो र ! उसको आर्थिक, सामाजिक हकबाट नै बन्चित गराइन्छ । यसो गरिरहँदा नाता सम्बन्धका सबै एकपक्षमा लागेर एक्लयाउदा दङ्ग पर्ने अरु हुन्छौ र गछौ किन ?

त्यस्तै परिवारमा अविबाहित या एकल महिला देखेपछि जल्दा बल्दा अन्य सदस्यहरुले जेष्ठ नागरिकलाई पुर्णरुपाा संरक्षण गर्ने जिम्मा लगाउने र आफु पन्सने प्रचलन पनि प्रसस्तै देखिन्छन । यसरी पन्साउने कुराले पारिवारभित्र बल र शक्तिमा हुनेले सामाजिक न्याय गरेको ठहर गर्छ र ? एकल हुनु या बस्नुको अर्थ उसको वैयक्तिक स्वतन्त्रताको हरण या तिलान्जली दिनु हो र ! यस्ता विषयमा हाम्रा कानुनहरु अझै किन मौन छन ?पारिवारिक दायित्व र जेष्ठ नागरिकप्रतिको दायित्वमा कानुन किन मौन छ ?

आधुनिक परिभाषामा परिवारको व्याखा व्यक्ति स्वयम मात्रै रहे पनि परिवार हो भनेर परिभाषित गरेको अवस्था देखिन्छ । हरेक व्यक्तिको आर्थिक, सामाजिक,सास्कृतिक र राजनीतिक सम्बन्धहरु हुनेगर्छन । त्यहि सम्बन्धको आधारमा व्यक्तिले सामाजिकआर्थिक सम्बन्ध बनाएको हुन्छ। यस्तो हक स्वतन्त्रता पुर्वक उपभोग गर्न पाउनु पर्छ भन्ने मान्यता र चिन्तन अझै हाम्रो समाजमा विकास हुन र गराउन सकेका छैनौ किन ? समाज रुपान्तरणकालागि यो र यस्ता विषयको वहस गर्नु पर्ला नि ।
अविवाहित या एकल भएका कारणले व्यक्तिको सामाजिक मान मर्दन हुनु या गर्नु सामाजिक अपराध हो । नेपालको संविधानको भाग तीन धारा १६ र १७ ले व्यवस्था गरेको सम्मानपुर्वक बाच्न पाउने हक र स्वतन्त्रताको हक प्रति राज्यका कार्यान्वयन गर्ने निकायको निस्कृयताको कारणले यस्ता नागरिकलाई हुन र पर्न गएका अनेकौं समस्याको संबोधन अबका निर्वाचित जनप्रतिनिधिले गर्नुपर्छ साथै ठोस नीति पनि बन्नु पर्छ होला नि ?

महिला एकल हुनु या विवाह नगर्नु या नहुनु,सम्बन्ध विच्छेद गर्नु अथवा छुट्टिएर बस्नु, सामाजिक अपराध होइन । विवाह सामाजिक आवश्यकता हो तर व्यक्तिलाई बाध्य पार्ने या जर्वरजस्ति गर्ने विषय होइन ।परिवारभित्र तेस्रो लिङ्गी भएर बाँच्नु पनि एकल हुनु नै हो । यस्तो अवस्थामा अनेकौं यातायात दिएका सयौं घटनाहरु अझै ताजै र हुँदै पनि छन्।यस्ता प्रकृतिका पारिवारिक हकको उपभोग गर्ने कुरालाई सरल तरीकाले बुझ्ने प्रचलनको विकास गरौँ। अनिमात्रै पारिवारिक सद्भाव कायम भै परिवार सबैकालागि मैत्री बन्नसक्छ । परिवारभित्रको भुमिकामा गरिएको निशेध वैचारिक दरिद्रता हो, यसले सम्वृद्धि प्राप्त गर्न सकिन्न भन्ने कुराको अनुभुति परिवारको व्यवस्थापन गर्ने,आर्थिक,सामाजिक पहुँचमा हुनेले बुझन्न सक्यो भने मात्रै परिवारमा सन्तुलन कायम हुनसक्छ होला ।

सीता ओझा
अध्यक्ष
महिला अध्ययन केन्द्र

प्रतिक्रिया