विदेश पढ्न गएका नेपाली छोरीहरू सक्छौ भने नेपाल नफर्कदा नै ठिक !

शशी के.सी २०८० फागुन २२ गते २३:३८ मा प्रकाशित

ओहो यो लेखको टाईटल पढ्दा नै एकथरी देशप्रेमी नेपालीलाई झनक्क रिस उठ्यो होला । माफ पाउँ, पुरै लेख पढिदिनु होला ।

सबैले स्वतंन्त्रसँग बाँच्न पाउनु पर्छ । स्वतंन्त्रता सबैको नैर्सगिक अधिकार नै हो । जुन नेपाल देशमा छैन् । किन छैन ? जेमा पनि ३३ प्रतिशत अधिकार कोटा त दिएकै छौं त भनिहाल्छन् पुरूष बर्गहरू ।धन्यवाद, सक्छौ भने त्यो पनि फिर्ता लग । नेपालमा महिलाको पनि पुरूष सरह समान अधिकार हुनै पर्छ ।

नेपालमा उहिले र अझै पनि छोरीहरू प्रतिको भेदभाव जन्मेर पास्नी गर्दादेखि शुरू भएर बुढेशकाल नमर्दासम्म हुन्छ ।

पहिलो संतान छोरी जन्मिन भने, के भो र अर्को पटक छोरा भईहाल्छनी भन्दि हाल्छन् हेर्न आउनेले । के थाहा अर्को संतान नपाउने पो मन छ की बाउआमाको । अनि ओहो छोरा जन्मेमा कुलको दिपक, वंश धान्ने आदी ईत्यादी । छोरीलाई हदै भने लक्ष्मी आईनसम्म भन्छन् । हो लक्ष्मी त आईन तर त्यो कसका लागि नी ? अंशमा छोरीको हक त छैन नेपालमा । हदै भए दयामायाले बाउआमाले सानो टुक्रा कुनाकाप्चाको जग्गा देलान् । नत्र त उही हो विवाहको बेला दिने खाट, दराज, सोफा । छोरीमात्र हुने घरमा चाहीं छोरीले अंश, जग्गा जमिन , संम्पत्ति पाएका हुन्छन् ।

छोरीको पास्नी ५ महिनामा र छोराको ६ महिनामा गर्नुको कुनै धार्मिक कारण छ त ? धार्मिक कारण हैन भने यो चाहीं ठुलो भेदभाव हो छोरी प्रति ! आमाको दूधसम्म पनि धित पुगुन्जेल खान नपाउनु ! कति हतार ठोस खाना खुवाउन छोरीहरूलाई हैन त ?

हुर्कंदै गर्दा सानोमा चाडबाडमा चाहीं खुबै छोरीको खुट्टा ढोगेर दक्षिणा दिन्छन् । दंग नपर केटी हो हामीलाई देवी नै माने भनेर । खासमा उहिले चलन के थियो भने महिनावारी नहुँदै कन्यालाई विवाह गरेर कन्यादान गरिदियो भने स्वर्ग पुगिन्छ । हो तेही आफु स्वर्ग पुगिने लोभले कन्या पूजा गरेकाहुन् ।

अझ म त छोरीहरूलाई दक्षिणा दिनु भनेको चाहीं सानै देखि माग्ने बनाउनु वा माईतीको आशे बनाउनु हो भन्छु । टिका लाएर देलान की वा किन दिएनन् दक्षिणा, कसलाई, कति दिए तेसैमा अल्मलाउने , संम्पत्ति चाहीं भुटेभाङग्रो केही नदिने !

अनि स्कुल पढ्ने उमेर हुन्छ । भाग्यमानी केही छोरीले सरकारी स्कुल जेनतेन टेक्न पाउलान । जबकी तेही घरका छोराहरूलाई बोडिङ स्कुल पठाउँछन् । स्कुल पठाउने पनि पढेर कमाउन सक्ने बनुन भनेर हैन । केही जान्ने भए विवाह गरेर दिन सजिलो हुन्छ भनेर । विवाहको कुरा आउन थालेपछि त राम्रो केटा छुट्छ भनेर हतार गरेर विवाह गरिदिन्छन् । केहीले जेनतेन १०-१२ कक्षासम्म पढ्न पाउलान् ।

झन् आजकल त नेपालमा नाबालिका र महिला प्रति हुने हिंसाले चरमरूप लिएको छ । घर, समाज ,स्कुल , होस्टेल जताततै असुरक्षित । नानीहरूलाई बचाउनै गार्र्हो भई सक्यो । बलात्कारको शिकार हुनेदेखि सानैमा मारिन्छन् । अझै कति नेपाली छोरीहरूले आत्मा सम्मान गुमाईदिनु वा मरिदिनु पर्ने हो र अब जन्मने नँया पुस्ताका छोरीहरू सुरक्षितसँग नेपालमा बाँच्न पाउलान् ?

विवाह पछि शुरू हुन्छ अर्को संघर्ष ! घरधन्दा , चुलाचौका , बच्चा जन्माउने आदी । छोरा जन्मिहाले जिन्दगी सुखी । नत्र छोरा जन्माउने आशमा कति छोरी पो जन्माउनु पर्ने हो कति पटक झण्डै मरेर ।

श्रीमान गतिलो भए त महिलाले दुख सबै सहन्छन् । तर श्रीमान हेला गर्ने वा अरू महिलातिर आँखा लगाउने परेमा त्यो बैवाहिक संम्बन्धको अन्त्य संम्बन्धबिच्छेदमा गएर टुंगिन्छ।

फेरी अर्को दुख शुरू ! भन्नलाई त छोरीको दुईवटा घर भन्छन् । सुख पाउन्जेलमात्र हो । तर जब दुख पाउँछन् “छोरीको जिन्दगी न घरको न घाटको” माईतीले हेर्दैन । घरकाले पनि निकालिदिन्छन् ।माईती असल वा छोरीमात्र भएको घर रहेछ भने केही सहयोग मिल्ला । नत्र त उही श्रीमानको घरकासँग अंश मुद्दा , माना चामल, संम्पत्ति र संतानको हकहित, अधिकारको लडाईं ।

श्रीमान गतिलो भए त महिलाले दुख सबै सहन्छन् । तर श्रीमान हेला गर्ने वा अरू महिलातिर आँखा लगाउने परेमा त्यो बैवाहिक संम्बन्धको अन्त्य संम्बन्धबिच्छेदमा गएर टुंगिन्छ।

अझ संम्पत्ति नदिनलाई आफ्नै संतानलाई जन्मदर्ता र नागरिकता नबनाईदिने पापी बाउ पर्र्यो भने चाहीं आमाले कुन अड्डा र कसलाई मात्र गुहार्नु अनागरिक संतानको न्याय खोज्दै । नेपालको कानुनमा बुबाको नामबाट मात्रै नागरिकता बन्छ । हो, आजकल नँया कानुन अनुसार आमाको नामबाट पनि नागरिकता पाईन्छ । तर त्यो सोचे जस्तो सजिलो छैन्। फलामको चिउरा चपाए बराबर रहेछ । बुबा नभएको , हराएको , बलात्कृत भएर संतान भएको , विदेशी बुबा भएको आदी अनेक कुराहरू अदालतबाट प्रमाणित गराउनु पर्छ ।

बुढेशकाल भएपछि महिलाका अर्को दुख शुरू “संतानले नहेर्ने “। भएभरको संम्पत्ति अंशबण्डा गरेर लगिहाल्छन् छोराहरूले । आमा रित्तो । आमाको नाममा केही संम्पत्ति भए “जिउनी” पाउने आशले पनि हेर्लान । संम्पत्ति छैन भने त हेलाको पात्र ! चाहे जतिसुकै आमाको महिमा गाएर गीत, कथा, कविता रचिएको भएपनि। संतानले आमाबुबाले अंश दिएनन् भने मुद्दा गर्छन् । तर आमा त धरति माता, जननी पो त । मुद्दा त परे जाओस्, घरको ईज्जत बचाई राख्न, आफ्नो दुखसम्म सहेर अरूलाई सुनाउँदिनन्।

तर यस्तो नेपाली समाज हुँदाहुँदै पनि भाग्यमानी केही छोरीहरू विदेशसम्म पढ्न पुगेका छौ भने दिलो ज्यान लगाएर पढ्नु र आत्म निर्भर बन्नु । हो, सबैलाई आफ्नो जन्मभूमी प्यारो लाग्छ । विदेशबाट नेपाल आजै फर्कि हालौं जस्तो पनि लाग्छ । सोच एकछिन, माथि उल्लेख गरिएको विवाह पछिको भाग चाहीं तिमीहरूले पनि नेपालमा भोग्नु पर्ने हुन सक्छ ।

तर यस्तो नेपाली समाज हुँदाहुँदै पनि भाग्यमानी केही छोरीहरू विदेशसम्म पढ्न पुगेका छौ भने दिलो ज्यान लगाएर पढ्नु र आत्म निर्भर बन्नु । हो, सबैलाई आफ्नो जन्मभूमी प्यारो लाग्छ ।

लाग्ला मिस नेपाल भएकी श्रीखंला खतिवडा त अमेरिकाको हार्वड विश्व बिधालय पढेर नेपाल फर्किन , म किन नफर्कने ! के तिम्रो बाउआमा नेपालमा आर्थिक , सामाजिक रूपमा संम्पन्न छन् ? र नाम चलेका राजनितिज्ञ हुन उनको वुवा जस्तो वा विवाह गर्न लागेको प्रेमीको परिवार पनि आर्थिकरूपमा संम्पन्न छन् त उनको जस्तो ? त्यस्तै उनी आफै पनि केही समय नेपालमा काम गरेर अमेरिका पढन गएकी थिईन् । शायद नेपाल फर्कदा पनि तेंही संस्थाको जागिर पाउन सकिन होला ।
तर नेपाल पुगेर जिरोदेखि आफै नै सबै कुराको शुरूआत गर्नु पर्ने हो तिमीहरूले भने चाहीं नेपाल फर्केर पछुतो नै होला । बरू विदेशमा जिरोबाट शुरू गरेर आर्थिकरूपमा संम्पन्न हुन सकिन्छ ।

एकजना कलेज पढ्दाको साथीलाई धेरै बर्षपछि फेसबुकमा भेंटे । उनको रोचक कथा छ । उ र उनको दाई दुबैले डाक्टर पढ्नको लागि जाँच दिएका थिए । सित्तैमा पढ्न नाम निक्लेन दुबैको। दाई भन्दा पनि उनी पढाईमा असाध्यै राम्रो थिईन् । तर घरको आर्थिक अवस्था मध्यम खालको , छोरालाई जेनतेन, रिनपान गरेर विदेश डाक्टर पढ्न पठाए । उनी त छोरी न परिन । बि.एस्सी र एम. एस्सी नेपालमा नै पढेर स्कलरसिपमा सित्तैमा पिएचडी गर्न विदेश लागिन । उनी आजकल त विदेशमा कलेज पढाउने गर्दिरहिछन् । अझ रमाईलो त तिनको फेसबुकको फोटोहरू हेर्दा, कुनैबेला हेला गरेर डाक्टर नपढाएको छोरी , आजकल त बाउआमा तिनै छोरीसँग विदेशमा नै बस्नेरहेछन् ।

समाज , ईष्टमित्र छ भन्छौ भने, नेपाली समाज सुखमामात्र हो संगसंगै नाच्ने । जब तिमी दुख अनि आपतमा हुन्छौ ।साथै कानुनी लडाईं लड्नु पर्ने हुन्छ । सहयोगको त आशै नगर, साक्षी बसिदिनेसम्म कोही भेटिन्न ।आफ्नो लडाईं आफै नलडी हुन्न् !

साँच्चै नेपाल र नेपाली प्रति एकदमै माया छ भने विदेश बसेर पनि सेवा गर्न सकिन्छ । अमेरिकामा रहेका डाक्टरको केही समुह बर्षको एकपटक मेडिकल सिविर गर्न नेपालको गाउँ गाउँ पुग्छन् । केहीले नेपालमा गैर नाफामुलक संस्था खोलेरै पनि महिलालाई सीपमुलक तालिम , स्वास्थ, खानेपानीको व्यवस्था , गरीब , टुहुरा बालबालिकाहरूलाई आफ्नो खर्चमा स्कुल पढाई रहेका छन् ।

नेपालमा भुकम्प, कोरोनाको महामारी, बाढी पहिरो आदी प्राकृतिक बिपत पर्दा विदेशबाट आर्थिक सहयोग गरिरहेका हुन्छन् । त्यस्तै सोसलमिडिया टिकटकमा अष्ट्रेलिया र अमेरिकाबाट रानी दिदी र जग्गु दिदी नामक एकाउन्टबाट दुईजना नेपाली नारीहरूले मानसिक स्वास्थ संम्बन्धी जानकारीमुलक सित्तैमा काउन्सलिंग सेवा , टिप्सहरू संसारभरका नेपालीभाषीहरूलाई दिएको देख्छु । आखिर माया नै त गर्ने हो नेपालप्रति, नेपाल नै नफर्के पनि गर्न त सकिने रहेछ त !

साँच्चै नेपाल र नेपाली प्रति एकदमै माया छ भने विदेश बसेर पनि सेवा गर्न सकिन्छ ।

घर परिवार समाजसँग त लडेर अधिकार माग्न वा लिन सकौला । कानुन , “ नेपालको कानुन दैवले जानुन “भन्ने उखान जस्तै महिलाहरूको लागि “कुनै देशको नागरिकले पाउने पूर्ण अधिकार सहितको कानुन छैन” नेपालको । जस्तो सुकै अवस्था आउँदा पनि कानुनसँग लड्न सक्ने क्षमता, तागत छ भने चाहीं विदेश पढ्न गएका छोरीहरू नेपाल फर्क । नत्र विदेश मिलेसम्म मिलाएर बस्दा नै ठिक !

( यो लेख मेरो आफ्नो निजी बिचारमात्र हो )

आउँदै गरेको ११४ अंन्तराष्ट्रिय महिला दिवसको शुभकामना !

शशी के.सी

शशी के.सी

लेखिका

प्रतिक्रिया