परिचय

विमला निरौला , अमेरिका २०८१ जेठ २४ गते ९:३९ मा प्रकाशित

हेरेको जन्म-कुण्डलीभन्दा केही पृथक्
जानेको भवना र बिचारभन्दा केही भिन्न
देखेको विगत,वर्तमान र भविष्यभन्दा फरक
सायद बुझ्न नखोजेर वा बुझ्न नसकेर
भो अब नबिथोल
मेरा यी एक युगसंग हराएका पलहरु
हातेमालोमा रमाएका क्षणहरु |

कमजोर हैन मौनताभित्रको शालिनता
विफल कदापि हैन सहनशीलता
भाष्करझैँ सत्यको सुवास फैलिने छ
कण कण ढाकेर आकाश
हिम्मत, विवेक, अनुशासन र हौसला
चार घोडाझैं यी अदृश्य ऊर्जा
अनि भरोसा बनेर कलम प्रिय सारथी |

कर्म कर्तव्यमा समर्पित
समयको अतुलनीयता
निः स्वार्थ त्यागको निरन्तरता
परिश्रम, पौरख र सेवामा
अंकुरित हुँदै झांगिएका
यी पसिनाका वृक्षहरू |

हिंड्नु , कुद्नु , दौडिनु र चढ्नु
साहसको प्रतिफल र स्वभावको भिन्नता
समय, सन्दर्भ , शुभेच्छा र चाहाना
सिर्जिएर एक युग
लेखेर सिङ्गो इतिहास
सजाएर दस्तावेजहरु |

जीवनका मैदानहरुमा
स्वीकारे योग्य योद्धा
आत्मबलको कवचमा
सरस्वती, लक्ष्मी, दुर्गा र काली
समेटेर आफैंभित्र
साक्षी बसेको प्रिय समय
संकल्पेर आफूलाई |

पूर्णचन्द्रको रात ,
फूलहरुको पुंकेशर
ऋतुकी कि वसन्ती
अनि यो धराको
परिचय ||

विमला निरौला , अमेरिका

प्रतिक्रिया