शिक्षण र शिष्यसँग जोडिएको गुरु शब्द र सम्बन्ध ! 

इनेप्लिज २०८१ असार ३१ गते १०:५६ मा प्रकाशित

गु’ को अर्थ हो- अन्धकार एवं ‘रु’ को अर्थ हो- प्रकाश। ‘गिरति अज्ञानं इति गुरूः’ अर्थात् अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्नेलाई गुरू भनिन्छ। ब्रह्म भनेको अन्तिम सत्य/ ज्ञान हो । त्यसैले गुरू नै यथार्थ ब्रह्म हो। पौरत्स्य दर्शनलाई आदर्श मान्नेहरूले गुरूपूर्णिमालाई वेद व्यास जयन्तीको रूपमा लिने र मनाउने गर्छन् ।संस्कृतमा व्यासको अर्थ लेखक हो ।वेदको लेखनमा धेरै लेखकहरू जोडिएको भेटिन्छ । वेदको अन्तिम लेखनमा जोडिएको व्यक्ति पराशर र मत्स्य गन्धाका छोरा महर्षि वेद व्यास हुन् । उनले वेद-वेदान्त, अठार पुराण, उपनिषद्हरूको लेखनलाई अन्तिम रूप दिए । सनातन धर्म संस्कृतिलाई जोगाए । यी ग्रन्थहरू नै अहिलेसम्म हिन्दु धर्म र दर्शनका मार्गदर्शक सिद्धान्तहरू बनिरहेको भेटिन्छ ।

गुरूको वर्तमान सन्दर्भ :

आजकाल विद्यालय या शिक्षालयमा अध्यापन गर्ने व्यक्तिलाई गुरू, शिक्षक, टिचर, लेक्चर, प्रोफेसरको रूपमा सम्बोधन गर्ने गरिन्छ ।पौरत्स्य दर्शनका वाल्मीकि,वृहस्पति,वेद व्यास, कालीदास, शुक्राचार्य,दोर्णाचार्य जस्तै अन्य ऋषि र मुनिहरुले आफ्नै आश्रम गुरुकुल या राजकुल ( राजामहाराजाको दरवारभित्र ) को माध्यमबाट शिक्षा प्रदान गरेर भिक्षाटनमा आफुलाई जोडिरहे ।पश्चिमको ज्ञानको प्रवाहसँग जोडिएका सोक्रेटस, प्लेटो, अरस्तु सबै त्यो समयका योग्य शिक्षक हुन र थिए। तर उनीहरूले औपचारिक शिक्षालयमा नै शिक्षाको प्रसारण र वितरण गरे । पश्यात जगतका शिक्षक फाबेलले शिक्षार्थीलाई बिरुवा, शिक्षकलाई माली, विद्यालयलाई बगैंचाका रूपमा उपमा दिएको कारण पनि पश्चिमी शिक्षाको वितरण प्रणाली चाडैं औपचारिक भयो ।

रूसो एक प्रकृतिवादी शिक्षाशास्त्री थिए। उनले बालक स्वतन्त्र जन्मिन्छ, उसलाई स्वतन्त्र रूपमा सिक्न दिनुपर्छ भने विषयलाई महत्त्व दिँदै शिक्षकलाई पथप्रदर्शकको रूपमा कार्य गर्ने पात्र भन्ने मान्यता स्थापित गरे । विकसित र धनी राष्ट्र कहलिएका अमेरिका र आस्ट्रेलियाले मन माफिक धन खर्च गरे र शैक्षिक सुधार गरे तर पनि उनीहरू सन्तुष्टि लिन सकिरहेका छैनन् भन्ने कुरा प्रसिद्ध बेलायती साप्ताहिक ‘दी इकोनोमिस्टमा’ अक्टोबर १८, २००७ मा शिक्षासम्बन्धी एउटा विचारोत्तेजक लेखमा प्रकाशित भएको थियो। त्यो लेख अध्ययन सोधपत्रमा आधारित थियो । त्यहि लेखलाई आधार मानेर अर्को पनि अध्ययन गरियो । विकसित देशमा यस्तो अध्ययन गर्ने प्रचलनमा निरन्तरता छ । त्यो अध्ययन आर्थिक सहयोग र विकास सङ्गठनले विकास गरेको शिक्षाको मापन प्रणालीअनुसार क्यानाडा, फिनल्यान्ड, जापान, कोरिया र सिङ्गापुरमा पनि गरिएको थियो । त्यहाँ त्यो मापनको तरीकालाई श्रेष्ठता हासिल गरेको भन्ने पाइयो । साथै यो अध्ययन प्रतिवेदनलाई सुधारको योजना बनाउने आधार पनि बनाइयो ।उक्त परामर्शदाता संस्थाले त्यो अध्ययनमा तीन महत्त्वपूर्ण बुँदामा छुट्याएर प्रस्तुत गरेको भेटिएको छ ।

पहिलो- योग्यतम शिक्षकहरूको व्यवस्था गर्नु,दोस्रो- योग्यतममध्ये पनि योग्यतम शिक्षकहरूको छनोट गरी बहाली गर्नु,तेस्रो- विद्यार्थीहरू जहाँनेर पछि पर्छन् तत्काल ,कार्यस्थलमै उनीहरूलाई शैक्षिक सहयोग उपलब्ध गराउनु।

यी तीन बुँदालाई शिक्षाक्षेत्रमा व्यवहारिक रूपमा कार्यान्वयन गर्ने वातावरण बनाउन सक्ने हो भने शैक्षिक क्षेत्रमा कम लगानी मै ठूलो सुधार हुने निश्चित छ । तर नेपालमा शिक्षाको सुधारका लागि कार्यस्थललाई आधार बनाएर अध्ययन नगरि विद्वानको पढाइ र बुझाइलाई आधार बनाएर शिक्षा सुधारको नियम,कानुन बनाउने र लागू गर्ने अबस्था छ । सिक्ने र सिकाउनेविचमा देखिएको अन्तर यसरी पत्ता लगाउने प्रचलन बनाइयो । यति गर्दागर्दै पनि बेलायत,अमेरिका र अष्ट्रेलियाले शिक्षामा गरेको लगानी अनुसारको सुधार र उपलब्धि हासिल गर्न अझै सकिएन भन्ने निष्कर्ष निकालेको पाइन्छ । जहाँ बालबालिकाको शिक्षासँग अभिभावकको प्रत्यक्ष उपस्थिति र सहभागीता अनिवार्य छ । विद्यालयको आवश्यकता अनुसार अभिभावक विद्यालयमा पुग्नै पर्ने ब्यवस्थासँग बालबालिकालाई यहाँ जस्तो घरमा एक्लै छोडेर हिड्न कानुनले नै पाइन्न ।

शिक्षाको सुधारसँग जोडिएको अर्को पक्ष शिक्षक र शिक्षकको योग्यता हो । त्यसको लागि माथि उल्लेख गरेको प्रकृयाको अनुसरण गर्दा दक्षिण कोरिया, सिङ्गापुर र हङकङ आदि देशमा उत्कृष्ट स्नातक र स्नातकोत्तरलाई मात्र शिक्षकमा बहाली गरिएकाले कामकाजी,व्यवहारिक,जन उत्तरदायी र जीवन उपयोगी शिक्षा बन्न सकेको कारण गुणस्तरीय शिक्षाको रूपमा परिभाषित गरियो ।

जबसम्म शिक्षण सिकाइमा ,अभिभावकको प्रत्यक्ष सहभागीता सहितको निगरानी,भौतिक साधन र शैक्षिक सामग्रीको समुचित प्रयोग गर्ने दृष्टिकोण विद्यालयका व्यवस्थापक , प्रशासक र शिक्षकहरूमा विकास हुदैन,यो क्षमताको प्रयोगको चेत शिक्षकहरूमा खुल्दै खुल्दैन । चेत नखुलेसम्म त्यो व्यक्तिमा साधनको समुचित प्रयोगको सक्षमता विकास भएकै हुँदैन ।त्यो चेत नखुलेको अवस्थामा शैक्षिक दर्शन ,तालिम, ज्ञानका अन्य प्रचुरताले शिक्षण सिकाइमा उल्लेखनीय परिर्वतन ल्याउन सकिँदैन ।

छिमेकी राष्ट्र भारतका पूर्वराष्ट्रपति सर्वपल्ली राधाकृष्णनले भनेका छन् !- ‘देशको उत्तम मन र मस्तिष्क भएका व्यक्तिहरूलाई मात्र शिक्षक बनाउनुपर्छ।’

त्यस्तै पूर्वराष्ट्रपति एपीजे अब्दुल कलामका शब्दमा ! – ‘शिक्षकहरू राष्ट्रका मेरुदण्ड हुन्।’

अर्थात् योग्य र श्रेष्ठ शिक्षकहरूद्वारा नै विकसित राष्ट्रको निर्माण हुन सक्छ। यही प्रसङ्गसँग गुरु या शिक्षक भन्ने भावनात्मक पक्ष पनि जोडिन जान्छ । हामीलाई सुन्दा र हेर्दा अर्थ एउटै लाग्ने गुरु र शिक्षक शब्दको गहिरो अन्तर पत्ता लगाउन अझै समय लाग्छ । यी दुई शब्दविचको अन्तर पत्ता लागेको दिनबाट हामी जस्ता देशले शिक्षामा सुधार गर्न सक्छन् ।

सय वर्षपूर्व शैक्षिक सुधार गर्ने उदेश्यले अमेरिकामा शिक्षक सङ्घ र समुदायले शिक्षकहरू स्वयंले पालन गर्नुपर्ने आचारसंहिता पारित गरेका थिए। त्यसको मुल उद्देश्य शिक्षकहरूमा व्यक्तिगत, सामाजिक र पेसागतविकासका लागि न्युनतम गुणहरू हुनुपर्ने विषय उल्लेख गरिएको थियो।

त्यस आचारसंहितामा रहेको शिक्षकको व्यक्तिगतगुणहरु :

१, राम्रो स्वास्थ्य,आकर्षक व्यक्तित्व, मधुर स्वर, रुचि र उत्साह, धैर्य र सहनशीलता, प्रेम र सहानुभूति, आत्मविश्वास, नैतिकता र चरित्रवशिक्षकको
२, सामाजिक गुणमा पक्षपातरहित, स्पष्ट वक्ता, मानवीय सम्बन्ध कायम गर्ने, सेवाभाव- क्रियाशील, विनोदप्रिय, नेतत्त्व गर्ने क्षमता र समुदायको ज्ञान आदि।


पेसागत गुण :

शिक्षकको प्रमुख गुण भनेको पेसागत गुण हो। विषयवस्तुको उच्च ज्ञान, शिक्षण कौशल, बालमनोविज्ञानको ज्ञान, शिक्षण पद्धति, विधि र प्रविधिको ज्ञान, उत्तरदायित्व बोध, जिज्ञासु र अध्ययनशील, खोज आदि हुनुपर्ने देखाएको छ।

निष्कर्षमा शिक्षक या गुरूका विषयमा स्थापित मूल्य मान्यता र आदर्शलाई पश्चिमी देशहरूले शतप्रतिशत स्वीकार गरे र मात्रै शिक्षामा परिवर्तन गर्न साथै हुन सक्यो । अहिले पश्चिमी देशहरूले शिक्षाको क्षेत्रबाट बौद्धिकताको आर्जन मात्रै होइन आर्थिकसामाजिक पक्षको पनि उल्लेख्य लाभ लिएका छन् ।


पौरत्स्य दर्शनले गुरूको विषयमा यसरी चर्चा गरेको पाइन्छ ।

१, देव गुरू बृहष्पति २, असुर गुरू शुक्राचार्य। यसरी हेर्दा शिक्षक राजनीति र देशको निर्माता हुन् भने जस्तै शिक्षक विनाशकर्ता पनि बन्न सक्छन्।

पौरत्स्य दर्शनले गुरूलाई ब्रह्मा भन्नुको अर्थ हो- बालबालिकाको सर्वाङ्गीण विकासमा शिक्षकले सिर्जनात्मक शक्तिको विकास गर्न तथा विष्णु जस्तै हेरचाह, रेखदेख, पालनपोषण गर्न तथा महेश्वरले जस्तै अज्ञान, गलतमार्ग, गलतविचारको नाश गर्नु,गराउनु र कुशल नागरिक / मानिस बनाउन सक्नु भनेको हो । तर शैक्षिक सुधार चाहानेले अभावमा आवश्यकताको प्रचरताले सु- स्वाद परिकार सम्भव नभएजस्तै असल, योग्य शिक्षकको अभावमा असल शिक्षा सम्भव छैन।भन्ने कुरा पहिचान गर्नैपर्छ ।

गुरूपूर्णिमा हिन्दु पौरत्स्य जगतको ज्ञान विज्ञानका साधकको लागि महत्त्व पर्व हो हिन्दूहरूले महाभारत, श्रीमद्भागवत, अठार पुराण र विष्णु सहस्रनामका रचयिता तथा अपौरूषेय वेदलाई चार भाग लगाउने वेदव्यासको जन्मजयन्तीलाई सम्झेर गुरूपूर्णिमालाई ज्ञानको साधनाको पनि आदर्शको रूपमा मनाउँछन्। यो दिन विद्यार्थीहरूले गुरुलाई फूलमाला अर्पण गर्ने,आशिर्वाद लिने र गुरूहरूबाट टीका थाप्ने चलन छ। यो प्रचलन कहिलेबाट सुरु भयो थाहा छैन तर द्वापर युगको अन्त्यतिर कौरव, पाण्डवभन्दा अघि उत्तरायण नक्षत्रपूणिर्मा अर्थात् गुरूपुर्णिमाको दिन ऋषि पराशर र माझीपुत्री मत्स्यगन्धाका पुत्रका रूपमा व्यासको जन्म भएको मानि गुरुपुर्णीमा मनाउने चलन चलेको भेटिन्छ । आफ्ना छोरा शुकदेवसहित सम्पूर्ण ऋषिलाई वेदवेदाङ्ग पढाएकाले व्यासलाई सर्वश्रेष्ठ गुरु मानिएको हुनसक्छ । त्यसपछिका दिनमा गुरुपुर्णिमालाई आफूलाई शिक्षा दिने गुरुलाई सम्मान गर्न साथै व्यासलाई सम्झना गर्नेदिनको रूपमा लिएको भेटिन्छ ।

सनातनी मान्यताअनुसार सङ्गीत लगायत ६४ कला सिकाउने, गायत्री-दीक्षामन्त्र-वेदमन्त्र दिने आचार्य, उमेर-बुद्धि-बल-अनुभवले पाका व्यक्ति, मातापिता,सासू,ससुरा,मामा र बाजे,बजै,काका र बाह्मण समेतलाई गुरूको रूपमा मानिन्छ ।

 विद्यार्जनका लागि पहिले २५ वर्षको उमेरसम्म ब्रह्मचार्य पालन गरेर गुरुकुलमा गई पढ्ने चलन थियो। त्रेता युगमा  रामसहित उनका भाइ र द्वापरमा श्री कृष्णले पनि गुरुकुलमै,गुरुको सेवा गर्दै अध्ययन गरेको विषय पौरत्स्य शास्त्रमा उल्लेख छ। यो सँगै शिष्यले शिक्षा लिनका लागि,अल्प आहार,गृहको त्याग,स्वान निद्रा ( कुकुरको जस्तो थोरै निद्रा ) बको ध्यान र कागको जस्तो चेष्टा हुन पर्ने आदर्श पनि कानुन जस्तै पक्का थियो ।

पहिले गुरुहरू विद्वान् हुनाका साथै विद्यार्थीहरू पनि विनयी, गुरुभक्त र विद्याव्यासनी थिए। गुरुको मान्यता अरूले होइन स्वयंले प्राप्त गर्ने हो भन्ने कथन रहिआएको छ। गौतम बुद्धले आफ्नो ज्ञानको पहिलो उपदेश गुरूपुर्णिमा कै दिन दिएको भन्ने तथ्य पढ्न पाइन्छ । त्यसै दिनलाई धर्मचक्र प्रवर्तन दिवसका रूपमा बौद्ध धर्मावलम्बीहरूले मनाउने गरिआएका पनि छन्। तर अहिले ज्ञानको दान शिक्षाको प्रदानमा परिणत भएको छ । हिजो भिक्षाटनमा,बनमा तप,जप र ज्ञानको साधनामा जोडिएका गुरुहरु अहिले शिक्षक भएका छन् । शिक्षकसँग उनको परिवार र पारिवारिक आवश्यकता पनि गाँसिएको छ । पहिले भिक्षाटनले गुजारा गर्ने गुरुहरुले अहिले ओहोदा अनुसारको पारिश्रमिक पनि पाएका छन् । गुरुको लागि हिजो जस्तो जङ्गल होइन घरपरिवार सहितको सुविधा,पेसागत दक्षताको लागि तालिम,विद्यालय समयको लागि पोशाक सहितको स्थान,मान पनि छ । तर पनि शिक्षामा नागरिकले अपेक्षा गरेको शिक्षा शिक्षालयले दिन सकिरहेका छैनन् । सरोकारवालाहरुले अरुबेला नसकेपनि हरेक वर्षको गुरुपुर्णिमा र शिक्षा दिवसको अवसरमा यो विषयमा गम्भीरतापूर्वक छलफल गर्नु पर्छ कि ! गुरुपुर्णिमाको उपलक्ष्यमा घरका गुरु जन्मदिने मातापिता,शिक्षालयसँग जोडिएका सम्पुर्ण गुरुहरु तथा अनौपचारिक रुपले अनेकौं विषय सिकाउने सम्पुर्ण मान्यजनप्रति श्रद्धा सहित नमन गर्दै गुरुपुर्णिमाको उपलक्ष्यमा शुभकामना दिन चाहान्छु ।

सीता ओझा

प्रतिक्रिया