आषाढ शुक्ल पूर्णिमालाई गुरु पूर्णिमा भनिन्छ । यसलाई व्यास पूर्णिमा पनि भनिन्छ । वेदलाई ४ भागमा विभाजन गर्ने १८ पुराण र श्रीमद्भागवत, देवीभागवत र महाभारत जस्ता उच्चतम ग्रन्थहरु लेख्ने उनै वेदव्यासको जन्म दिन हो आजको दिन ।
गुरु पूर्णिमामा गुरु व्यासको पूजा अर्चनाका साथै आफ्ना गुरुलाई सम्मान गरी टीका दक्षिणा दिई मनाउने चलन छ । आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्दा भाव प्रकटगरी मनाउने गरिन्छ। यस दिन गुरुका रुपमा ज्ञानको पूजा गर्ने गरिन्छ। गुरुप्रति श्रद्दा र सम्मान प्रकट गर्दै यस दिन गुरुपूर्णिमा मनाउने गरिन्छ।
गुरुको प्रशंसा गर्दै तलको श्लोकमा यसरी व्यक्त गरिएको छ –
अज्ञानतिमिरान्धस्य ज्ञानांजन शलाक़या ।
चक्षुरुन्मीलितं येन तस्मै श्री गुरवे नम: ॥
अर्थात् अज्ञानरुपी अन्धकारबाट अन्धा भएको आँखालाई ज्ञानरुपी प्रकाशले खोलिदिने यस्ता गुरुलाई नमन गर्दछु ।
वेदव्यासलाई अजर अमरका रुपमा अष्ट चिरन्जिवीमध्येका एक चिरन्जीवी मानेर जन्मोत्सव आदिमा यिनको पूजा पनि गरिन्छ ।
अष्ट चीरन्जीवीको स्मरणीय श्लोक – मार्कण्डेय बलिर्व्यासो हनुमांश्च विभीषण । कृपो द्रौणी परशुरामो ऽष्टैते चीरजीविन ।।
यो श्लोकमा भनिएका मार्कण्डेय ऋषि, दैत्यराज बलि, वेद व्यास, हनुमान, विभीषण, कृपाचार्य, द्रोणाचार्यका पुत्र अश्वत्थामा र परशुरामको स्मरण गर्नाले पनि मनुष्यको आयु धेरै लामो हुनसक्ने कुराको वर्णन गरिएको छ ।
गुरु वेदव्यासको जन्मकथाको ईतिहास –
गुरु वेद व्यास महाभारतका रचयिता मात्र नभई महाभारतकै एक जिवन्त पात्र हुन्, महाभारतका भीष्मपितामह र व्यास नाताले सौतेला दाजुभाई हुन् ।
सत्यवतीका पिता माझी थिए, डुंगा चलाउने काम गर्थे । छोरी सत्यवतीले पनि त्यो काम सिकेकी थिईन्, एकदिन सत्यवतीले पराशर मुनिलाई डुंगा तारिदिँदा समागम भई गर्भ रहन पुग्छ र फलत: व्यासको जन्म हुन्छ । यसकारण व्यास सत्यवतीका विवाहहुनु अघिका पुत्र हुन्, यिनका पिता परासर मुनी हुन् । आफ्नी जन्म माताको खोजीका क्रममा ब्यास हस्तीनापुर दरवारसम्म पुग्दछन् । यिनै व्यासले महाभारतका सकल घटनाक्रमलाई लेखेका हुन् । व्यासले दत्तात्रेय गुरुलाई पनि सिकाएको कुरा पुराणमा पाईन्छ । यसकारण व्यास गुरुका पनि गुरु हुन् । व्यासका तीनवटा अन्य नाम पनि प्रचलित छन् ती हुन् – कृष्ण द्वैपायन, वादरायणि, र पाराशर्य । पछि
राजा शन्तनुले सत्यवतीलाई बिवाह गर्दछन्, राजाले ससुरालाई सत्यवतीका तर्फवाट भएका सन्तानलाई सिंहासनमा बसाउने वाचा गर्दछन् र यस अघि नै शन्तनुले पुत्र भिष्मलाई राजकुमार घोषणा गरेर उत्तराधिकारी ठहर गरिसकेका हुन्छन् । पछि भिष्मले आफ्नो पिताको वाचा थाहापाएर पितालाई वचनमा अडिग रहनका लागि आफू स्वयमले राजकुमारबाट हटेर सिंहासनमा कुनै दावी नगर्ने घोषणा गरेका हुन्छन्, जसकारण उनी भीष्मपितामह बन्न पुग्छन् ।
वेदव्यासका सन्तानको बारेमा अझ रोचक प्रसंग महाभारतको कथामा वर्णित छ ।
गुरुको सम्मानका लागि विशेष दिन मानिन्छ आजको दिन
प्राचीन कालदेखि नै नेपाल भारत लगायतका मुलुकमा गुरुको भूमिका महत्त्वपूर्ण रहेको छ । विशेष गरी पूर्वीय सभ्यतामा गुरुलाई उच्च स्थान र सम्मान दिने चलन रहेको छ। यो कुरा अहिलेको आधुनिक कालमा पनि जारी रहेको देखिन्छ ।अर्को पौराणिक मान्यता अनुसार भगवान् शिवले गुरु पूर्णिमाकै दिनबाट सप्त ऋषिलाई योग सिकाउन थालेका थिए भनेको पनि पाईन्छ ।
बौद्ध धर्म मान्नेहरूले पनि गौतम बुद्धको सम्झनामा गुरु पूर्णिमा मनाउने गर्छन् । उनीहरूका मान्यतामा गौतम बुद्धले यसै दिन आफ्नो पहिलो उपदेश दिएका थिए ।
अहिलेको सन्दर्भमा गुरुलाई २ प्रकारमा विभाजन गर्न सकिन्छ ।
१.शिक्षा गुरु
अहिलेको आधुनिक शिक्षा प्रणालीसॅगै जीवनमा पढ्न, लेख्न, बोल्न, सामाजिक व्यवहार गर्न, काम, पेशा तथा व्यवसाय गर्न सिकाउने गुरु शिक्षा गुरु हुन् ।
२. दीक्षा गुरु – दीक्षा गुरु भन्नाले सॅस्कार, धर्म – अनुशासन, मन्त्र-तन्त्र आदिको ज्ञान दिई मुक्ति गराउने गुरु दीक्षा गुरु ।
गुरु पूर्णिमाको विशेषता
गुरु पूर्णिमालाई अहिले विद्यालयहरु तथा विश्वविद्यालयहरुमा पनि धूमधामसँग मनाउने गरिन्छ ।
यो दिनमा छात्रछात्राहरूले गुरु महिमा गाउने, उनीहरूको सम्मानका कार्यक्रम राख्ने तथा उपहार दिने समेत चलन चलेको छ।
अहिले समाजमा हरेक कुरालाई आर्थिक कुरासँग जोडेर हेर्न थालियो त्यसले पूर्वीय सभ्यतामा गुरु-शिष्यको जुन खाले परम्परा थियो त्यसमा व्यापक परिवर्तन भई आएको छ।
त्यस्तै सनातन मान्यता अनुसार आफूलाई गायत्रीमन्त्र सुनाउने, धर्म सॅस्कार र कर्मकाण्ड गराउने गुरुलाई यो दिनमा भोजन गराउने तथा गुरु दक्षिणा दिने चलन पनि छ । त्यस्ता गुरुहरू भेट नभएमा विभिन्न माध्यमबाट सम्झना गर्ने र पछि गुरु दक्षिणा पठाउने पनि कतिपयले गर्ने गर्छन् ।
सनातन धर्मावलम्बी र बौद्धधर्मावलम्बीहरुले आजको दिनलाई आफ्नो धर्म तथा पारम्परिक सांस्कृतिक ज्ञानको बाटो देखाउने गुरुप्रति आभार ब्यक्त गर्ने विशेष दिनका रुपमा लिने गर्छन् । चाहे मुस्लिमहरूको मदर्सामा तपाइलाई पढाएका मोल्वी साब हुन् या चर्चमा ज्ञान र सल्लाह दिने पादरी या साना साना हातमा कलम राखेर क ख रा पढाउने र सिकाउने शिक्षक, शिक्षिकाहरू किन नहुन् ? उनीहरुले सिकाएका र दिएका ज्ञानले नै हामीले जीवनको प्रारम्भिक विवेक र चेतना प्राप्त गरेका हौं ।
असल गुरुको प्राप्ती या छनौट अधिकांश समस्या र दूविधाहरुको निरोध हो भनेर भनिन्छ तथापी अहिलेको यूगमा असल गुरु र असल शिष्य दुवैको पहिचान गर्न गाह्रो छ । विज्ञान प्रविधिको अहिलेको यूगमा पक्कै पनि हामीले ज्ञान प्राप्तिका लागि एकलब्यले जस्तो द्रोणाचार्यको प्रतिमूर्ती बनाएर र त्यसैलाई गुरु थापेर सिक्नपर्ने जरुरत छैन । न त गुरुदक्षिणाका रुपमा औंला नै काटेर दिनुपर्ने वलिदान नै । विश्वस्तरका शिक्षाका लागि संस्थागतरूपमा स्थापना भएका विद्यालय, विश्वविद्यालय, शिक्षण पेशा अनि सञ्चारका माध्यमहरुले पनि हामीलाई गुरुरुपी शिक्षा दिइरहेका छन् ।
औषधिको तथ्य र असरदेखि चन्द्रमानका तालिकासम्म गुगल अनि यूट्यूब लगायत इन्टरनेटबाट सिक्ने, त्यहिंका श्रोतबाट अध्ययन गर्ने अहिलेका पुस्ताहरुलाई गुरु पूर्णिमाले केहि फरक अनुभव दिन सक्दछ ।
तर संसार जहाँ नै पुगे पनि गुरुतत्वले स्वरुप परिवर्तन गरेको हो, शिक्षा आकाशबाट वर्षिदैन न त आकाशवाणी नै हुन्छ । शिक्षाका श्रोत र हस्तान्तरणकर्ताहरु सबैजना गुरु हुन्, गुरुतत्व हुन् ।
संसार जत्तिकै आधूनिक र ज्ञानहरु जत्तिकै सहज र ब्यवसायिक रुपमा उपलब्ध भए पनि संसारमा गुरुतत्वको दियो अझै बलिरहेको छ, बलिरहने छ । गुरुतत्वको त्यही महत्वलाई आत्मसाथ गरेर हुनसक्छ सनातन संस्कारमा बर्ष पछिको बर्ष र युग पछिका युगहरुमा पनि गुरुहरुलाई अझ आदर र श्रद्धाका साथ हेर्ने गरिन्छ । आउँदा पुस्ताहरुलाई पनि गुरु, ज्ञान र गुरुतत्वको महत्व गुरु पूर्णिमामा दर्शाइने कार्य जारी रहनेछ । अज्ञानता र अचेतनाको अँध्यारोबाट ज्ञान र चेतनाको उज्यालोमा ल्याउने, सही मार्ग प्रदर्शन गर्ने समस्त गुरुहरुलाई आजको दिन कोटी कोटी नमन गरिने गरिन्छ । गुरु मार्फत् प्राप्त गरेको ज्ञान र विवेकले आफ्नो जीवनमा पारेको प्रभावप्रति आभार ब्यक्त गर्दै ज्ञानको पथमा सधैं अगाडी बढ्दै जाने प्रतिज्ञा र गुरुप्रति आभार व्यक्त गर्ने दिन पनि हो गुरुपूर्णिमा ।
“गुरु ब्रह्मा, गुरु विष्णु गुरु देवो महेश्वर,
गुरु साक्षात् परमं ब्रह्मा तस्मै श्री गुरुवे नम:”
अर्थात्
“गुरु नै ब्रह्मा हुन्, गुरु नै विष्णु हुन अनि गुरु भनेकै भगवान शंकर हुन्,
गुरु नै हुन् साक्षात परब्रह्म, यस्ता गुरुलाई म नमस्कार गर्दछु ।”
एकफेर सोचौं न, हामीलाई जिन्दगीले कति धेरै कुराहरु सिकाएको छ । जस्तै हामी कुन सही र गलतमा फरक छुट्याउन सक्छौं, वास्तविक र कृत्रिम कुरा र भावनाको चाल पाउन सक्छौं । तपाई हामीले कुनै बखत सहि कुरा र पथ छान्यौ या छानेनौ भनेपनि हामीले आफ्ना पाइलाहरु कतातिर जाँदैछ भनेर अरुकसैलाई सोध्नै पर्दैन, हृदयको स्पन्दनले आफै हामीले चालेका पाइला र तिनका सारतत्वको बयान दिन्छ । गलत पाइला चाल्दा मनभित्रबाटै एउटा गुरुतत्वले आवाज निकाल्छ, नाँई! त्यसो नगर त्यो गलत हो भनेर तर त्यो आवाज हामी कतिले सुनेर पाइला रोक्छौं त कतिले सुनेर पनि नसुनेको जस्तै गर्छौं । यस अर्थमा हामी सबैको भित्रपनि एउटा गुरुतत्व रहेको छ र सत्यलाई आत्मसाथ गर्नसके गुरुतत्व सदैव उपस्थित रहिरहन्छ । जिन्दगीले हरेक मोडमा हामीलाई केहि न केहि सिकाएरै जान्छ तसर्थ हरेक पाठलाई आत्मसाथ गर्नसके गुरुपूर्णिमाको र गुरुतत्वको सहि उपयोग हुनेछ ।
आफूलाई शिक्षा दिने, दिक्षा दिने, मन्त्र दिने, पढाउने सर, मिस, दाई, दिदि लगायत सबैलाई एकफेर नमन गरौ, संझना गरौं । असल गुरु र असल शिष्य दुबै बन्न सक्नुहोला गुरुपूर्णिमाको हार्दिक शुभकामना ।
प्रतिक्रिया