गोविन्द गिरी प्रेरणा
सन् २००० को जुलाई । म पहिलोपल्ट लेसिलभानिया स्टेट पार्कमा मनाइएको भानु जयन्तीमा सामेल भएको थिएँ । भर्जिनियाको वुडब्रिजमा अवस्थित त्यो पार्कमा सम्पन्न भानु जयन्तीमा भाग लिन म फिफ्टिन हण्ड्रेड मास एवेन्यूबाट सँगै कोठामा बस्ने साथी राजु गौतमको साथमा पुगेको थिएँ ।
एकातिर वारवीक्यू भैरहेको थियो । पोलेका कुखुराका साँप्राहरुको मिठो सुगन्ध ब्याप्त थियो ।
अर्कोतिर वाटर मेलोनका चानाहरु रातै ठूलो किस्तीमा थियो ।
भलिवल प्रतियोगिता पनि भैरहेको थियो । नजिकै देखिने पोटोम्याक नदीको ओकाक्वान वे मेरा लागि महासागरजस्तै लागिरहेको थियो, जहाँ तिब्र गतीमा डुङ्गा चलाएर आनन्द लिनेहरु थिए र किनारमा ती दृष्यमा रमाउने हामीजस्ता दर्शक थियौं ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको रातो ब्यानरमुनि राखिएको भानुभक्तको तस्वीरमा माल्यार्पण गर्दै भानु जयन्तीको कार्यक्रम शुरु भएको थियो । भानुभक्तीय रामायणको स्वरबध्द पाठले मलाई विसं २०३६ सालको असार २९ गते भानुभक्तको जन्मस्थल चुँदी रम्घा पुग्दा त्यहाँका स्कूले बाबु नानीहरुले मीठामीठा स्वरमा रामायण पढेको सम्झना दिलाइरहेका थिए ।
त्यो दिनको सम्झनालाई मैले त्यसवेला गरेको पहिलो अमेरिका यात्राको संस्मरण “गुडबाई अमेरिका” मा विस्तृत रुपमै उल्लेख गरेको छु ।
म सन् २००० को डिसेम्बरमा नेपाल फर्किएँ ।
सन् २००२ मा फेरि अमेरिका आएँ र करिव एक बर्ष बस्दा पनि मैले यही पार्कमा मनाइएको भानु जयन्तीमा सामेल भएँ ।
अनि सन् २००४ मा अमेरिकामै बस्ने गरी आएपछि त हरेक सालजसो नै यही पार्कमा बर्षेनी सम्पन्न हुने भानु जयन्तीमा निरन्तर सहभागी भैरहें ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अर्थात् अनेसासको नेतृत्वमा संस्थापक अध्यक्ष होमनाथ सुवेदी थिए । उनको घर हर्नर रोड, उडब्रिज । लेसिल्भानिया पार्क पनि नजिकै । त्यसैले भानु जयन्ती त्यहाँ मनाउन सहज र सुलभ देखिएको हुँदो हो ।
भानु जयन्तीको त्यो समारोह भानु जयन्ती मात्र नभएर एकप्रकारको उत्सव नै हुन्थ्यो । सबैले केही न केही खानाका परिकार ल्याउँथे । यसको चाँजोपाँजो अवश्य नै होमनाथ सुवेदीको हुन्थ्यो । होमनाथजीका छोरा, बुहारीहरु, छोरी ज्वाईहरु, उनकी धर्मपत्नी लगायत नाता गोतासमेत सो उत्सवमा सहयोग गर्न सहभागिताका लागि मरिमेटेको देखिन्थ्यो ।
भर्जिनिया राज्यको अलिक दक्षिणी भेगमा भए पनि भर्जिनिया, वाशिङटन डिसी र मेरिल्याण्डको बाल्टिमोरबाट समेत सो उत्सवमा निकै उत्साहपूर्ण सहभागिता हुन्थ्यो ।
शुरुमा अनेसासको केन्द्रिय कार्य समितिले मनाउने गरेको भानु जयन्ती केन्द्रिय अध्यक्षको नेतृत्व परिवर्तनसँगै अन्य स्थानमा मनाउने परम्पराको पनि शुरुवात भयो । तर पनि अनेसासको डिसी मेरिल्याण्ड भर्जिनिया च्याप्टरको स्थापनापछि केन्द्रको समेत सहभागितामा लेसिल्भानिया पार्कमा भानु जयन्ती मनाउने परम्परा निरन्तर रह्यो ।
म आफू अनेसास डिसी मेरिल्याण्ड भर्जिनिया च्याप्टरको अध्यक्ष भएको बेला साहित्यकार कवितारामलाई सो समारोहमा सम्मान गरेको क्षण यौटा सुखद क्षण अनुभव हुन्छ ।
यसरी च्याप्टरले केन्द्रको साथमा मनाउने भानु जयन्तीको यौटा रोचक पक्ष थियो, अनेसास पुरस्कारको घोषणा । अनेसासका मुख्य पुरस्कारसहित अञ्चल पुरस्कारहरुको पनि स्थापना गरिएको थियो, जुन आज छैन, ती सबै पुरस्कारहरुको भानु जयन्तीका अवसरमा घोषणा गर्ने र लक्ष्मी जयन्तीका अवसरमा वितरण गर्ने परम्परा बनेको थियो । आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीमा पुरस्कारको घोषणा र महाकवि लक्ष।मी प्रसाद देवकोटाको जन्मजयन्तीमा पुरस्कार वितरण साहित्यिक महत्व र ती प्रतीभाहरुसँग नाम जोडिनाले निकै चाखलाग्दो र महत्वपूर्ण उत्सव झैं सबैले अनुभव गर्न सक्थे ।
अनेसास पहिला जस्तो हर्नर रोडमा छैन । झाँगिएर, फैलिएर विश्वब्यापि भएको छ । वाशिंटन डिसी मेरिल्याण्ड भर्जिनिया च्याप्टर पनि मेरिल्याण्डमा बेग्लै च्याप्टरको स्थापनासँगै भर्जिनिया र वाशिंटन डिसीमा साँघुरिएर डिसी मेट्रो च्याप्टर र मेट्रो कमिटी हुँदै साहित्यिक गतिबिधिमा रमेको छ । तर बर्षेनी भानु जयन्तीमा लेसिल्भानिया पार्कमा हुने उत्सव चाहीं खट्किन्छ ।
वाशिंटन डिसीमा भानुको सालिक स्थापनाका लागि कुरा धेरै पहिल्यै उठे पनि स्थापना गर्न सकिएको थिएन । यौटा कसैले भानुको पत्थरको सालीक बनाएर पठाइदिएका थिए । केही बर्ष त्यो सालीकलाई ओसार्दै भानु जयन्ती मनाउने वा अनेसासका सम्मेलनमा ल्याउने लैजाने गरेको देख्न पाइन्थ्यो । अहिले त्यो सालीक कता होला, धेरैको जिज्ञासा छ । त्यो भन्दा पनि त्यस सालीकले स्थायी वास नपाएको किन होला, त्यो प्रश्नले जवाफ खोजेको छ ।
लेसिल्भानिया स्टेट पार्कले भानु जयन्ती सम्झिरहेको छ ।
२९ जुलाई २०२४, फल्स चर्च, भर्जिनिया, अमेरिका ।
प्रतिक्रिया