अमेरिकाको नेपाली दूतावासमा मोती स्मृति कवि गोष्ठी

इनेप्लिज २०८१ भदौ ३१ गते २:३२ मा प्रकाशित

१५ सेप्टेम्वर २०२४, वाशिंटन डिसी

अमेरिका स्थित नेपाली दूतावासको आवासीय भवनको सभाकक्षमा मोतीराम स्मृति कवि गोष्ठीको आयोजना गरियो ।

कार्यक्रमको सुरुमा कार्यवाहक राजदूत कुमार राज खरेलले कविहरूको स्वागत गर्दै दूतावासले नेपाली भाषा साहित्यको क्षेत्रमा पनि काम गर्नु पर्ने दायित्व भए पनि यसमा अलिक ध्यान नपुगेको महसुस गरी प्रातः स्मरणीय युवक कवि मोतीराम भट्टको स्मृतिमा कवि गोष्ठीको आयोजना गरेको बताए।

तीण घण्टासम्म चलेको सो कार्यक्रममा कविहरू वसन्त श्रेष्ठ, जगन्नाथ पौडेल, तारा पराजुली, अशोक नाथ तिवारी, मधुकर अधिकारी, होमनाथ सुवेदी, ,मनोज खड्का, शरद निरौला, पुष्पा खनाल, प्रेम सङ्ग्रौला, नीलकण्ठ सुवेदी, हरिराज भट्टराई, लोकनाथ तिवारी, तीर्थ पाण्डे, नारायण अधिकारी, वासु श्रेष्ठ, सीता पाण्डे, मञ्जु निरौला, प्रकाश नेपाल, सुदीपभद्र खनाल, प्रवीण खड्का, डी.बी. तामाङ, परशुराम तिमिल्सिना, काशिनाथ न्यौपाने, सन्तोष खरेल, गण्डकीपुत्र तथा गोविन्द गिरी प्रेरणाले कविता, गजल, मुक्तक आदि कविता विधाका रचनाहरू वाचन गरेका थिए ।

कार्यक्रममा कवि वसन्त श्रेष्ठले डिसी क्षेत्रको कविता गोष्ठी परम्पराको वारेमा संक्षिप्त मन्तव्य राखेका थिए ।

कवि गोविन्द गिरी प्रेरणाले कवि गोष्ठी संचालनको क्रममा युवक कवि मोतीराम भट्टको व्यक्तित्वका विविध पाटाहरू प्रस्तुत गर्दै उनका विभिन्न गजलहरू समेत वीच वीचमा वाचन गरेका थिए ।

कार्यक्रममा समापनअघि दूतावासका ईकोनोमिक काउन्सिलर युगराज पाण्डेले धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यवाहक राजदूत कुमार राज खरेलले कविता वाचन गर्ने कविहरूलाई सम्मानपत्र प्रदान गरेका थिए ।

सो अवसरमा दिवंगत राजदूत जयप्रताप राणा तथा डा. शंकर प्रसाद शर्माको कार्यकालमा दूतावासले गरेको कवि गोष्ठीको समेत सम्झना गरिएको थियो ।

सो कार्यक्रमको डिसी क्षेत्रको लोकप्रिय मिडिया ईनेप्लिज डटकमका सञ्चालक विश्वराज थापाले प्रत्यक्ष प्रसारण समेत गरेका थिए ।

प्रतिक्रिया