परिवर्तनको सूत्र 

इनेप्लिज २०८१ असोज ९ गते २३:५७ मा प्रकाशित

विष्णु शीतल

मानिसहरु भन्ने गर्छन, “नेपालमा गरिबी छ अशिक्षा छ, असुरक्षा छ , विकास छैन । राजनीति फोहोरी छ , भ्रष्टाचार छ , राम्रालाई भन्दा हाम्रालाई मौका छ जताततै, अराजकता छ अनुशासन हिनता चरम अवस्थामा छ । “ इत्यादि ईत्यादि । यी सबै झुट हो म भन्दिन तर सतप्रतिशत सत्य पनि हैन । माथि भनिएका वा लगाइएका आरोप( म यसलाई मातृभूमि प्रति गरिएको संगिन आरोप मान्छु) हुन । म विदेशमा छु , कहिले कही अरु अरु देशतिर पनि गईरहेको हुन्छु , त्यहाँ पनि गरिबी अशिक्षा असुरक्षा असुविधा देख्छु । एउटा दुईटा उदाहरण राखौ । एक पटक जर्मनीको कोलन शहरबाट भाडाको कारमा फ्रान्स जाँदै थिएँ । पेरिस पुग्नै लाग्दा धेरै बेर जाम भयो । ड्राईभरलाई कारण सोधें । उनले भने – सडकमा माग्नेहरुले बाटो छेकेर जाम भएको हो । म छक्क परें । सोचें मेरो देशमा यसरी बाटै जाम हुने गरी मागेर खानु पर्ने स्थिति छैन हौ । यति बिकसित देशमा पनि यस्तो रहेछ , हामी अलि बढी अराजक त भएनौं , भन्ने ठान्छु । अर्को उदाहरण दिन्छु – हामी जापानी जनतालाई सभ्य ठान्छौं र जापानलाई सम्पन्न मुलुक । एक दिनको कुरा हो । म केही साथीहरुसंग टोकियोबाट ट्रेनमा कतै जाँदै थिएँ । हाम्रै अगाडि एक जना ब्यक्ति यसरी चिच्याए कि त्यो डब्बामा भएका सबै यात्रु तर्सिए । यदि ती व्यक्ति मानसिक विरामी हुन भने यस्तो विकसित देशमा किन विरामीलाई एक्लै छाडियो ? यदि खराव बानी भएको मानिस हो भने उसले जस्लाई पनि नोक्सान पुर्याउन सक्छ । उसलाई प्रहरीको निगरानीमा राख्नु पर्ने थियो । यस्तो किन भएन ? म अलि दुखी हुन्छु । म बसेको देश अमेरिकामा ३८-३९ करोड जनसंख्या छ , यहाँ घरबारबिहिनहरुको संख्या हेरौं कति छ !!! सरकारी तथ्यांक हेरौ – ७ लाख- १ बर्ष २०२२-२०२३ मा ७० हजार मानिस घरबार विहीन भएछन । सरकारी लेखामा नआएका यस्ता मानिसको संख्या कति होला ? यस्तो किन भयो ? दैवी विपत्ति, प्राकृतिक प्रकोपले हो ? हैन । ब्यबस्थापन गर्न नसकेर हो । के नेपालमा बर्षमा यसरी १२ % जनसंख्या घरबार विहिन भएको छ ? छैन । विश्वमा खुसी र सुखी मध्येमै पर्छन नेपालीहरु ।

देश मात्र गरिब छ जनता धनी त हैन तर सुखी छन नेपाली । देश धनी हुन नसक्नुमा केही भूराजनीतिक कारणहरु छन र देशभित्र अराजकता बढी छ । यसलाई नियन्त्रण गर्न नपुग ऐन कानुन बनाउने, भएका ऐन कानुन पालन गर्न गराउन प्रतिबद्ध र ईमानदार हुने, २-४ वटा मेघा परियोजना शुरु गर्ने जसले १०-१५ लाख मानिसलाई रोजगारी दिन सकुन । छिमेकी मित्रराष्ट्रहरुसंग सुमधुर सम्बन्ध कायम गर्ने । खास गरी भारतसंगका पुराना र असमान सन्धी संझौता खारेज गर्ने र दुई मुलुकका मुद्राको स्थिर सटही दर हटाउने । यसले हाम्रो देशको आर्थिक संकुचनलाई मद्दत गरिरहेको छ यता तिर कसैको ध्यान गएको छैन । अन्य केही मुलुकलाई छाडेर दुई देश बीच मुद्रा सटही दर यस्तो (भारत नेपाल १=१६०)स्थिर हुदैन । सन १९७० ताका विश्वमा औद्योगिक क्रांति हुदै गर्दा ९० प्रतिशतभन्दा बढी स्थिर सटही दर हटाईयो तर नेपाल भारत बीच अझै क़ायम छ । यसले नेपालमा ठूलो लगानी र ठूलो आयात-निर्यातलाई बाधा पुर्याउछ, पुर्याईरहेको छ । यस सम्बन्धी थप चर्चा पछि गरौला । ठूलो आर्थिक उन्नतिका लागि, देशलाई नै सम्पन्न बनाउनका लागि यस्ता अबरोधहरु हटाउदै जानुपर्छ । राज्यको मूल नीति राजनीति हो । राजनीतिले नै हो देश बनाउने । राजनीतिमा समर्पित भएर लाग्नेले नै हो देशमा परिवर्तन ल्याउने । आम मानिसको दायित्व नीति निर्माण र कार्यान्वयन गर्नहरुलाई सहयोग गर्ने हो । सकिन्छ भने आफ्नो दृष्टिकोण अगाडि सार्ने र जनताबाट अनुमोदन गराउने हैन भने आफ्नो दृष्टिकोणले जनानुमोदन नपाउन्जेल भईरहेकोलाई सभ्य ढंगले सुधार गर्ने । यो नै समस्या समाधानको उत्तम उपाय हो । मेरो भनाईको सार नेपाली गरिब छैनन , देश गरिब छ । यसको मुख्य कारण राजनीतिक नेतृत्व मात्र हैन । हाम्रो सतही बुझाई र अराजक प्रबृति हो । यसलाई हामीले अवश्य सुधार गर्नु पर्छ ।

प्रतिक्रिया