यस पटक पनि तीज, दशैं,तिहारजस्ता महत्त्वपूर्ण पर्वहरु घरदेशबाहिर रहनुपर्दाको विशाल सन्नाटा महशुस गर्दैछु।एक त घरपरिवारबाट टाढा रहंदाको भारी मन, अर्को मायाको छहारी बुबा गुमाउँदाको भयानक पीडाबीच दशै तिहार गुजार्दैछु।
त्यसो त दशैं तिहार बाल्यकालमा जसरी महत्वका लाग्थे त्यो घट्दै गएको अनुभव छ मसंग।अर्को कुरा हामी पहाडमा जन्मेर हुर्कने अनि पहाडी मलकाजको गुण बोक्नेहरुसँग दशैंको विशिष्टता अलि फरक छ।
अलि विशिस्ट छ।अहिले म सम्झन्छु।महिनौं अघिदेखिको भब्य तयारी।दशैं तिहारका लागि अनिवार्य नयाँ लुगा चाहिने त्यो पनि बालिघरे ठुलदाइले पुरानो तन्नामा कुम्लो पारेर बोकिल्याएको कल(लुगा सिलाउँने मेसिन)ले सिलाएको नयाँ लुगाको वास्नाले मन फुरुङ्ग पार्ने,घरदेखि परपरसम्म बाटो खनेर सिनिक्क पार्नुपर्ने,आफ्नै खेतीको धान भिजाएर चिउरा कुट्दै गर्दा गाउँभरि बज्ने त्यो ढिकीको सुमधुर संगीत,कतै जांड पकाउँने हतारो कतै माटोका ठुलाठुला बातामा रक्सी पार्ने चटारो ,रातो माटो कमेरो माटो पहेलो माटो खन्न टाढा टाढा जानुपर्ने,सालघारी पुगेर डोकोभरि सालको पात टिपेर ल्याउनुपर्ने,दुनाटपरी गाँस्नुपर्ने, घर छेपेर चिटिक्क नपारेसम्म दशैं घरसम्म नआउने,फर्सीको बियाँ फिलुङ्गेको अचार नमग्मगाएसम्म,बारीवाट टिपिल्याएको पहेंलो काक्राको खल्पी ढुङ्ग्रे बाँसको भाडोमा अमिलो नभएसम्म दशैं नभित्रने, घरघरमा अनिवार्य मार हान्नुपर्ने,तौलीखेतमा पिङ हाल्नुपर्ने,तोरन झैं टाँगिएको डोरीमा बुइगल(घरको तेस्रो तला)भरी कुर्कुचे र सख्खरचिनी केरा झुन्डिएको देखेपछि,पुजाकोठामा बढेमानको बरनी टपरीमा एक अंगालो पहेंलो रङ्को जमरा लहलाएपछि, भएजति हतियार जम्म्मा गरेर साद लगाइसकेपछि ठुलोबुबा बुबाले दुर्गा थापेर दुर्गा पुजा गर्दै मालसिरी गाएपछि,शानले दशै घरर्भित्र छिर्थ्यो।
र ,पो दशैं दशैंजस्तो लाग्थ्यो।शहरमा आजभोलि दशैं एक्लै आउँछ एक्लै जान्छ।न त्यो पहिलेको उमंग न सुवास दिने फूल न हर्षले नाच्ने पुतली,लाग्छ,आधुनिकताका नाउमा नछुट्नुपर्ने केहि मौलिकता छुट्दैछ्न् ,सम्झनैपर्ने केहि संस्कारहरु विस्मृतिभित्र पर्दैछन् ।संस्कृति हाम्रा परिचय हुन् ।
जहाँ पुगेपनि आत्मसात गर्नुपर्छ जस्त्तो लाग्छ।कता कता लय छुटेजस्तो,कतै ताल नमिलेजस्तो देखिन्छ हेर्दा।म भने छुटेको ताल,नमिलेको लय र बज्न बाँकी एउटा सुन्दर संगीत सम्झिइरहेछु पर्खिरहेछु।अनि आफ्नै अविस्मरणीय विगतहरु र बारम्बार झस्काइरहने तमाम अतितहरु सम्झेर यस पटकको दसैं तिहार एउटा दुर क्षितिजबाट चिहाइरहेछु।
बेलबारी नगरपालिका मोरङकी पुर्व उपप्रमुख रहेकी साहित्यकार पराजुली हाल अमेरिकामा छिन।
प्रतिक्रिया