खै भित्रभित्र मन मेरो भतभती जलेको छ
मैले किन भनेर भनिरहनु पर्दैन
पक्कै तपाईँलाई पनि थाहा नै होला
अस्ति मात्र ठुलो दाइको घर बाढीले ढलेको छ
लालाबाला भोकभोकै होलान्
न त घरमा छानो नै छ
यसपालि त हाम्रो गाउँमा ठुलै आपत परेको छ ।
सरकार यहाँ छ कि छैन खै
हाम्रो मन मरेको छ
किन भनेर नभन्नु है हजुर
नख्खु खोलाले मेरो भाइलाई लगेको छ ।
दशैँ आयो दशैँ आयो भन्छन्
हेर शुभकामनाको होडबाजी चलेको छ
हामी कसरी मनाऊँ खै र दशैँ
गोठसहित खसी बोका सबै बगेको छ ।
घरगोठ बगाएसँगै हिम्मत सबै गलेको छ
आगामी दिन कटाउने कसरी ?
मन र मुटु दनदनी जलेको छ
पीडामा भए पनि आखिर मान्नु छ संस्कृति
हामीभन्दा पपक्कै बलियो रहेछ नि प्रकृति
भड्किलो र देखावटीपन हैन हाम्रो परम्परा
मान्नुपर्छ सबैले संस्कृतिलाई सम्मान गरेर ।
मौलापुर, रौतहट
प्रतिक्रिया