लोकतन्त्र भनेको निर्वाचन हुनु, जित्नु र जित्नेको वर्चस्व स्थापित गर्नु मात्र होइन

बेद प्रसाद घिमिरे २०८१ असोज ३० गते ११:१८ मा प्रकाशित

लोकतन्त्र निर्वाचन हुनु, जित्नु र जित्नेको वर्चस्व स्थापित गर्नु मात्र होइन, लोकतन्त्र निर्वाचनभन्दा धेरै माथिल्लो विषय हो । लोकतन्त्र भनेको बहुमतको सत्ता होइन, त्योभन्दा माथिल्लो कुरा हो । लोकतन्त्र भनेको मुख्यत: सामाजिक न्याय हो । मानवता हो । सत्यको पक्षमा उभिने दृढता हो । र, हो परिवर्तनको अग्रगामी यात्रा ।

लोकतन्त्रमा सङ्ख्याको हैन, सत्यको प्रधानता महत्त्वपूर्ण हुन्छ । लोकतन्त्रमा बहुमतको नभई सामाजिक न्यायको अर्थ हुन्छ । लोकतन्त्र अल्पमत नै सही, व्यक्तिको सर्वोच्चताको कुरा हो ।

लोकतन्त्र यस्तो विषय हो, जसले सभ्यतालाई अझ धेरै मानवीय, उदार र प्रेममय बनाओस् । सत्य र न्यायलाई स्थापित गरोस् । समाजलाई अगाडि जान मद्दत गरोस् । मान्छेको स्वतन्त्रता र स्वाभिमानलाई अझ माथि लगोस् । जहाँ, अल्पमतको पनि अधिकार उल्लङ्घन नहोस् र बहुमत अझ उदार र विनम्र बनोस् ।

यसरी हेर्दा, आधुनिक लोकतन्त्र सङ्ख्याको नभई सामाजिक न्यायको विषय हो । अन्यथा, बहुमतले कसैलाई सिमान्तकृत गर्छ भने त्यो निर्वाचन लोकतन्त्र होइन । अन्यथा बहुमतले आम मान्छेमा हीनताबोध सृजना गर्छ भने त्यो निर्वाचन लोकतन्त्र होइन । अन्यथा, बहुमतले मान्छेलाई विभाजन गर्छ भने त्यो निर्वाचन लोकतन्त्र होइन । त्यो हो, बहुसङ्ख्यकवाद ।

बहुसङ्ख्यकवादीलाई लाग्छ, सङ्ख्या शक्ति हो । तर, लोकतन्त्रले सधैँ सङ्ख्या मात्र हेर्दैन । हेर्छ त सवाल, लोकतन्त्र । मुख्यतः सत्य र न्यायको उच्चतम् अभिव्यक्ति हो । अन्यथा, बहुसङ्ख्यकहरूको वर्चस्व स्थापना गर्ने अर्थमा लोकतन्त्रलाई बुझ्ने हो भने सामाजिक न्यायको अवस्था के होला ? अल्पसङ्ख्यकहरूको स्वाभिमान के होला ?

भन्नैपर्दैन कि यदि सङ्ख्याको मात्र रजगज चल्ने हो भने संसार निकै पक्षपातपूर्ण र अन्यायी हुनेछ । किनभने जहाँ बहुसङ्ख्यकले लोकतन्त्रको बर्को ओढेर शासन गर्छ, त्यो संसार उन्मादी हुन्छ र किमार्थ बस्नयोग्य हुँदैन । यो संसार यसकारण बस्नलायक छ कि यहाँ सङ्ख्याले मात्र काम गर्दैन । अन्यथा, बहुसङ्ख्यकवादले अल्पमतका लागि उभिने एक इन्च जमिन पनि दिने थिएन ।

प्रतिक्रिया