सर्लाहीमा बज्जिका भाषाको पहिलो राष्ट्रिय बज्जिका कविता प्रतियोगिता हुने भएको छ । बज्जिका साहित्य समाज सर्लाहीको आयोजना तथा सदरमुकाम मलंगवामा रहेको लक्ष्मी इन्टरप्राइजेज एन्ड जेनरल सप्लायर्सको सहयोगमा सर्लाहीमा पहिलोपटक राष्ट्रिय बज्जिका कविता प्रतियोगिता हुन लागेको हो ।
राष्ट्रिय जनगणना २०७८ अनुसार सर्लाहीको कुल जनसंख्या ८ लाख ६२ हजार ४७० मध्ये बज्जिका मातृभाषाको रुपमा ५ लाख ०९ हजार ५८८ र पितृभाषाको रुपमा ५ लाख ३१ हजार ९७२ ले बोल्ने गरेका छन् । सर्लाही जिल्लामा मातृ तथा पितृ भाषाको रुपमा सबैभन्दा ठुलो रहेको बज्जिकामा साहित्यको विकास भर्खर हुन थालेको छ । सर्लाहीमा पहिलोपटक राष्ट्रियस्तरको बज्जिका कविता प्रतियोगिता हुन लागेको आयोजक संस्थाका अध्यक्ष रामचन्द्र महतो कुशवाहाले जानकारी गराउनु भएको छ ।
संस्थाका सचिव मुकेशकुमार मिश्रको विशेष पहलमा लक्ष्मी इन्टरप्राइजेज एन्ड जेनरल सप्लायर्सका सञ्चालक सुबास गुप्ताले प्रतियोगिताको व्यवस्थापन गर्नुभएको छ ।
मंसिर १ गते शनिवारका दिन हुने प्रतियोगिताको लागि कात्तिक २१ ग्ते साँझको ५ बजेसम्म कविता पठाइसक्नुपर्ने सचिव मिश्रले जानकारी गराउनुभएको छ । प्राप्त कवितामध्ये प्रारम्भिक छनौटमा परेका १० कविताका रचनाकारलाई अन्तिम वाचनको लागि बोलाइने प्रतियोगितामा प्रथम हुनेलाई ११ हजार, द्वितीय हुनेलाई ७ हजार र तृतीय हुनेलाई ४ हजार एक सय रुपैया नगदका साथै प्रमाणपत्र प्रदान गरिने सचिव मिश्रले जानकारी दिनुभएको छ । कविता एक सय पचास शब्दमा हुनुपर्ने बताइएको छ ।
बज्जिका भाषामा सर्लाहीमा पहिलोपटक राष्ट्रियस्तरको कविता प्रतियोगिता हुन लागेकोमा उत्साह देखिएको छ । बज्जिका साहित्य संगम रौतहटका अध्यक्ष किशुनदयाल श्रीकृष्णले साहित्यकारहरुमा निकै उत्साह देखिएको बताउनु भएको छ ।
यसअघि रौतहटको गढीमाई नगरपालिकाले पहिलोपटक राष्ट्रियस्तरको बज्जिका कविता प्रतियोगिताको आयोजना गरेको थियो।
प्रतिक्रिया