नेपालमा विद्यमान जातीय उत्पीडनको अवस्था र डायस्पोरा समुदायको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

इनेप्लिज २०८१ मंसिर ४ गते ०:१८ मा प्रकाशित

जातिभेद विरुद्ध विश्व मञ्चको आयोजनामा यही नोभेम्बर १७, २०२४ का दिन कोलोराडोमा नेपालमा विद्यमान जातीय उत्पीडनको अवस्था र डायस्पोरा समुदायको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिनिधि सभा सदस्य माननीय रणेन्द्र बरालीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व फोरमका अध्यक्ष पदम विश्वकर्माले गरेका थिए । कार्यक्रममा उपस्थित प्रमुख अतिथि माननीय बराली, विशेष अतिथि नारायण श्रेष्ठ तथा अन्य अतिथि र सहभागीहरूलाई रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालका अध्यक्ष तथा फोरमका सदस्य अर्जुन बगालेले स्वागत मन्तव्य तथा कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पारेका थिए । उक्त अवसरमा फोरमका महासचिव अमृत विश्वकर्माले प्रमुख अतिथि माननीय बरालीको व्यक्तित्व र योगदानको चर्चा गरेका थिए । कार्यक्रममा ग्लोबल फोरमका तर्फबाट माननीय बरालीलाई संस्थाका अध्यक्ष विश्वकर्मा र विशेष अतिथि श्रेष्ठले सम्मान गरेका थिए ।

कार्यक्रममा कोलोराडोस्थित विभिन्न सघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूले आआफ्नो धारणा व्यक्त गरेका थिए । कार्यक्रममा हिमानी ट्रस्टका अध्यक्ष कृष्ण मुरारी ढुंगेल, शंखुवासभा समाज अमेरिकाका अध्यक्ष श्रीमती शान्ति श्रेष्ठ, तमु धि, कोलोराडो पूर्व अध्यक्ष चन्द्र गरुङ, एनआरएन अमेरिकाका सदस्य नवराज न्यौपाने, एनआरएन कोलोरोडो च्याप्टरका अध्यक्ष प्रकाश पौडेल, एनआरएन कोलोराडोका पूर्व अध्यक्ष राज ढुंगाना, नेपाल फिल्म सोसाइटी, अमेरिकाका अध्यक्ष नवराज श्रेष्ठ, अनेसास कोलोराडो शाखाका नवनिर्वाचित अध्यक्ष किरण अधिकारी, एएनए अमेरिकाका उपाध्यक्ष विनोद त्रिपाठी, पत्रकार टोपेन्द्र सोनी, जनसम्पर्क समिति अमेरिकाका उपाध्यक्ष धर्मराज श्रेष्ठ, गीतकार ज्ञानेन्द्र गदाल, नेपाली घरका अध्यक्ष बसन्त लम्साल, विशेष अतिथि बरिष्ठ समाजसेवी तथा हेल्पिङ ह्याण्डका अध्यक्ष नारायण श्रेष्ठले आआफ्नो मन्तब्य राखेका थिए । सहभागीहरूको जिज्ञासाको सम्बोधन गर्दै माननीय रणेन्द्र बरालीले नवराज विक, अजित मिजार आदिको हत्या जातकै कारण भएको स्पष्ट पार्दै समाजमा जात व्यवस्था अझै कायमै रहेको र यसको अन्तका लागि समुदायका सबै तह र तप्काका सदस्यहरूको विशेष भूमिका रहने भनाइ राखेका थिए । माननीय बरालीले भूकम्प, बाढी पहिरो लगायत नेपालका विभिन्न घटनाहरुमा डायस्पोरामा रहेका समुदायको विशेष भूमिकाको चर्चा गर्दै विभेदविरूद्धको अभियानमा सरिक रहन पनि विशेष आव्हान गरेका थिए ।

कार्यक्रमको अन्त्यमा सभापतिको आसनबाट सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरिएको थियो । संस्थाका महासचिव अमृत विश्वकर्माले सञ्चालन गरेका उक्त कार्यक्रममा प्रमुख अतिथि र विशेष अतिथिलाई अनुस्का सदासंकरले खादा लगाएर स्वागत गरेकी थिइन् । कार्यक्रममा कोलोराडोस्थित विभिन्न संघसंस्थाका अध्यक्ष, प्रतिनिधि, सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया