विकास घले गुरुङको “नृत्य तथा नाट्य अध्ययन” पुस्तक सार्वजनिक

इनेप्लिज २०८१ मंसिर २८ गते १५:४८ मा प्रकाशित

शुष्मा पन्थी, काठमाडौँ – समाजमा बहुआयमिक छवि बनाएका निर्देशक विकास घले गुरुङद्वारा लिखित “नृत्य तथा नाट्य अध्ययन” नामक पुस्तक सार्वजनिक भएको छ।  नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान प्रकाशक रहेको उक्त पुस्तक मिति २०८१ मङ्सिर २८ गते प्रतिष्ठानको सभाहलमा नृत्य क्षेत्रका धरोहर बरिष्ठ नृत्य निर्देशक भैरब बहादुर थापाले सार्वजनिक गरेका हुन्। 

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति श्री भुपाल राई, नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका कुलपति श्री नारदमणि हार्तम्चाली, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राईको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा बरिष्ठ नृत्य निर्देशक भैरब बहादुर थापाले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति र नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका कुलपतिको उपस्थिति हुनु पहिलो घटना रहेको स्मरण गर्दै त्यसले आफुलाई गर्व लागेको बताए। 

लेखक गुरुङले आफ्नो पुस्तकमा बि टु जी सिद्धान्तको प्रतिपादन गरेको र त्यसले  नृत्य क्षेत्रमा सहभागी रहेका आम व्यक्ति तथा संस्थाहरुलाई फाइदा पुग्ने प्रतिष्ठानका नृत्य बिभाग प्रमुख बखत बहादुर हमाल (सुवर्ण) ले बताए। 

नृत्य विषयमा एमफिल गर्दै गरेकी नृत्य निर्देशक भावना कार्कीले नृत्य तथा नाट्य क्षेत्रमा अध्ययन तथा सोध गरिरहेका बिद्यार्थीलाई पुस्तक उत्प्रेरक तथा सहयोगी हुने बताइन। 

कार्यकममा पहिलो पुस्ताका बरिष्ठ नृत्य निर्देशक भैरब बहादुर थापा देखि चौथो पुस्ताका नव नृत्य निर्देशक पुजन कपालीसम्मका निर्देशकहरुको उपस्थिति रहेको थियो। 

बहुआयमिक व्यक्तित्व लेखक गुरुङको यसअघि “व्यक्तित्व विकास र सफलता” नामक पुस्तक बजारमा आइसकेको छ।  हाल अमेरिकामा बसोबास गर्दै आइरहेका गुरुङ नृत्य निर्देशकका अलावा चलचित्र निर्देशक, तेक्वान्दोका प्रशिक्षक, मोटिभेटर समेत हुन्।

  

साभार: दुनिया खवर 

प्रतिक्रिया