पुस्तक समीक्षा
वि.सं. २०७३ सालमा म क्षेत्रीय प्रशासकको भूमिकामा क्षेत्रीय प्रशासन कार्यालय, पोखरामा कार्यरत थिएँ । मेरो रुचि पशुपक्षी पालन, मौरीपालन, माछापालन, खेतीपातीप्रति भएकाले कृषि अनुसन्धान निर्देशनालय, लुम्लेको पशुपालन (भैसी, बाख्रा, खरायो), पोखरा लामपाटनको राष्ट्रिय पशु प्रजनन् कार्यालय र भेंडीफर्मका भेंडा, बङ्गुर, भैसीपालन, बाख्रा अनुसन्धान केन्द्र, बन्दीपुरको बाख्रापालन र गोरखा च्याङ्लीको कामधेनु गाईफार्मको स्थलगत अवलोकन गरेको थिएँ ।
बन्दीपुरको बाख्रा अनुसन्धान केन्द्रमा एक जना अमेरिकन नागरिकसँग भेट भयो । उनको नाम डानियल ली लेनी (Daniel Lee Laney) रहेछ । उनी संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियाबासी रहेछन् । समयसमयमा नेपाल आउँदा रहेछन् । बाख्रापालनमा विशेष रुचि राख्ने डानियल विशेष गरी बन्दीपुरको बाख्रा अनुसन्धान केन्द्रमा बसेर बाख्राका सम्बन्धमा जानकारी बाँड्दा रहेछन् । बाख्राका सिङहरू मुठार्ने, खुँरहरू मिलाउने जस्ता काममा पनि सघाउँदा रहेछन् । मलाई उनको रुचि र योगदानप्रति चासो बढ्यो । उनको सम्पर्क नम्बर लिएँ । पोखरा आउँदा भेट हुने सहमति भयो । एक दिन पोखरा आएपछि उनले सम्पर्क गरे । मैले मेरो सरकारी निवासमा उनलाई स्वागत गरेँ । उनीसँग बाख्राका सम्बन्धमा छलफल भयो । उनले बाख्राको दुधको सम्बन्धमा मलाई निकै रमाइलो अनुभव सुनाएका थिए ।
बन्दीपुरको नेपाल कृषि अनुसन्धान परिषद्को बाख्रा अनुसन्धान केन्द्र परिसरमा अमेरिकी नागरिक डानियल लानेयसँग भेट भयो । उनी क्यालिफोर्नियाका बासिन्दा रहेछन् । सुरूमा पेसाले शिक्षक भए पनि रुचि र अभ्यासका कारण बाख्रा पालनको विशेषज्ञता हासिल गरेका रहेछन् । हाल उनी नेपालमा बाख्रापालन सम्बन्धी विश्वव्यापी परियोजना नेपालमार्फत सहयोग गर्दै आएका रहेछन् । उनीसँग पनि बाख्रापालनबारे केही छलफल गर्ने अवसर मिल्यो ।
डानियलको कुरा मलाई अचम्म लाग्यो, रमाइलो पनि उत्तिकै । मैले दुधका लागि पालिने बाख्राबारे जिज्ञासा राखें, “नेपालमा बाख्राको दुध पिउने खासै चलन छैन । यसबारे तपाईंको अनुभव के छ ?” उनले हाँस्तै भने, “नेपालमा दुधका लागि बाख्रा पालेको खासै छैन जस्तो लाग्छ । यहाँ दुधका लागि भैंसी र गाई पालिँदो रहेछ तर दुधका लागि बाख्रा पनि पाल्न सकिन्छ । नेपालमा सम्भवना पनि उच्च छ । हुन त नेपालका लागि नौलो अनुभव हुन्छ तर बाख्राको दुधको पोषणबाट नेपालीहरू लाभान्वित हुन सक्छन् । अमेरिकामा पनि सुरुसुरुमा बाख्राको दुध पिउन गाह्रो मानिएको थियो । यसबारे मेरो आफ्नैरमाइलो अनुभव छ ।”
बाख्राको दुधबारे डानियलको अनुभव सुन्न थप जिज्ञासा जाग्यो । मेरो जिज्ञासा शान्त पार्दै डानियलले भने, “बच्चा छोरा बिरामी भैरहन्थ्यो । अस्पताल जाँदा ‘गाईको दुधको एलर्जी’ भन्दै बाख्राको दुध पिलाउन सुझाव दियो डाक्टरले । हाम्रो पनि बाख्राको दुध पिउने चलन थिएन । मैले श्रीमतीसँग सल्लाह गरें तर उनी मानिनन् । ‘बाख्राको दुध आफ्नो बच्चालाई पिलाउन नदिने’ भनिन् । तैपनि मैले दुधालु बाख्रो किनेर घरमै ल्याएँ । सानन जातको त्यो बाख्राले दैनिक २–३ लिटर दुध
दिन्थ्यो । बाख्राको दुध दुहे पनि श्रीमतीले छोरालाई दुध नपिलाउन अडान लिइन् । उनको विचारमा ‘बाख्राको दुध मानिसले खाने होइन’ भन्ने रहेछ । हाम्रो ठाउँमा मेरो श्रीमतीको मात्र होइन, सबैको सोचाइ त्यस्तै थियो । मैले श्रीमतीलाई धेरै सम्झाएँ । अनुनय–विनय गरें । डाक्टरले ‘छोरालाई गाईको दुधको एलर्जी भएको’ भनेको कुरा पनि बताएँ तर उनी मान्दै मानिनन् ।”
लामो सास फेर्दै, निधार खुम्च्याएर हाउभाउसहित डानियलले थपे, “धेरै सम्झाएपछि अलि कठोर निर्णय गर्दै श्रीमतीले ‘तिमी लगातार एक हप्ता बाख्राको दुध पिऊ, यदि तिमीलाई त्यस्तो केही बिसन्चो भएनछ भने अनि छोराका लागि सोचौंला’ भनिन् ।”
डानियलले भने, “श्रीमतीको अनुरोधअनुसार मैले एक हप्ता लगातार बाख्राको दुध पिएँ । बाख्राको दुधको परीक्षण ममाथि भए जस्तो लाग्यो तर डाक्टरले नै सल्लाह दिएकाले ढुक्क थिएँ । लगातार एक हप्ता बाख्राको दुध पिउँदा मेरो स्वास्थ्यमा कुनै समस्या देखिएन, बरु राम्रो पो देखिएछ । त्यसपछि छोरालाई बाख्राको दुध पिलाउन श्रीमती तयार भइन् तर आपूm भने पिउन मानिनन् । बाख्राको दुधले छोराको स्वास्थ्यमा सुधार हुँदै गयो, गाईको दुधको एलर्जी हरायो । बाख्राको दुधले एलर्जी गराएन । बिस्तारै घरमा बाख्रा थपियो । सबैले बाख्राको दुध पिउन थाल्यौं । “तपाईंले बाख्राको दुध पिउनुभएको छ ?” डानियलले मलाई सोधे ।
‘छैन’ को भावमा टाउको हल्लाउँदै भनें, “हाम्रो संस्कारमा बाख्राको दुध औषधिका रूपमा प्रयोग भए पनि दैनिक पिउने हिसाबले दुहेको पाइँदैन । अनि राम्रा, दुधालु बाख्रा पनि छैनन् हामीकहाँ ।” डानियललाई भनेँ, “नेपालमा बाख्राको दुध पिउने चलन छैन । यो नौलो विषय हो ।” उनले भने, “हो ! बाख्राको दुध पिउने कुरा म युवा छँदा अमेरिकामा पनि नौलो थियो । मैले छोरालाई दुध पिलाउन बाख्रा पालेर परीक्षणस्वरुप आपैm पिएपछि मात्र मेरी श्रीमतीले स्विकारिन् तर मेरी सासू भने ‘बाख्राको दुध पिउने’ भनेर व्यङ्ग्य गर्थिन् ।
मैले उनले सुनाएको बाख्राको दुध सम्बन्धी कथा मेरो पुस्तक “सिकाइ र सहयोग” मा समेटेँ । डानियल नेपाल आएको समयमा उनसँग सम्पर्क गरी मेरो कार्यालयमा बोलाएँ र मेरो पुस्तक “सिकाइ र सहयोग” उपहार दिएँ । मेरो पुस्तक नेपालीमा लेखिएकाले डानियलका लागि भाषिक रूपमा सहज थिएन, तैपनि उनले आफूसँग सम्बन्धित पुस्तक खुशीसाथ लिए ।
डानियल ली लेनी विद्यालयका शिक्षक हुन्, बाख्रा पालनकर्ता हुन्, बाख्राको गुणहरूको प्रचारक हुन्, घुम्न रुचाउने यात्री हुन् । यसका अलवा डेरी गोट एसोसियसनका मूल्याङ्कनकर्ता पनि हुन् । सन् २०१२ मा उनको जीवनको मोड परिवर्तन गर्ने घटना घट्यो । उनी एक महिना बेहोस (कोमा) अवस्थामा रहे, त्यसको लगत्तै क्यान्सरका कारण आमालाई गुमाए । यस समय उनले जीवन निकै कठिन अवस्थामा गुजारे ।
उनका दोस्रा सन्तान जोस थिए, जसले डानियललाई बाख्रापालनलाई प्रवद्र्धन गरेर बाख्रा, शिक्षा र नेपालप्रतिको मायालाई जोड्न प्रोत्साहित गरे । डानियलमा सन् १९७२ देखि नै बाख्रा पालनमा रुचि बढेको थियो । यसको मुख्य कारण पनि उनका दोस्रो सन्तान जोस नै थिए । जोसको प्रारम्भिक बाल्यकालमा गाईको दुध एलर्जी थियो । उनलाई गाई दुध खुवाउन मिलेन । यसको विकल्पका रूपमा डानियलले बाख्राको दुध उपयोग गरे । बिस्तारै डानियलले बाख्राको दुधको फाइदाको प्रचारप्रसार गरे । स्थानीय सरकार, सरकारी निकाय, गैह्रसरकारी संस्थासँग सहकार्य गर्दै डानियलले गाउँ गाउँमा बाख्रा पाल्ने किसानहरूका लागि प्रशिक्षण पनि दिन थाले ।
मेरो कार्यालयमा आएर डानियल ली लेनीले आफूले लेखेको बाल कथा “दिपक र प्रकृति” मलाई उपहारका स्वरूप दिए । बाल कथालाई मैले सर्सती हेरेँ । बाल कथा पढ्दा मलाई आठ वर्ष पहिला २०७३ सालमा उनीसँग बन्दीपुर र पोखरामा भएको भेटको याद आयो । चौध पृष्ठको कथा यसरी अगाडि बढेको छः
दिपक हिमालतिर लमरुङ्ग भन्ने गाउँमा बस्थ्यो र उसले प्रकृति नामकी एक सुन्दर खरी बाख्री पालेको थियो । उले बाख्रीको खुब हेरचाह गथ्र्यो । दिपकलाई प्रकृतिले पछ्याउँथी । प्रकृतिका दुईओटा पाठा जन्मिए । प्रकृतिले पाठाका लागि प्रशस्त दुध दिन थाली । एक दिन दिपककी आमाले दिपकलाई छिमेकमा जन्मिएकी एक अस्वस्थ र कमजोर बालिकाको खबर सुनाइन् । दिपकले ती बालिकालाई भैसीको दुध एलर्जी भएको कुरा आमाबाट थाहा पायो । बालिकाको आमा निकै अलमल भएको पनि थाहा पायो । उसले एक वर्ष अगि एक अमेरिकी नागरिकले गाउँमा आएर बाख्राको दुधबाट चिज बनाउन सकिने र उनले आफ्नो छोरालाई सानो उमेरमा गाईको दुधको एलर्जी भएर बाख्राको दुध खुवाएर हुर्काएको पनि बताएको सम्झ्यो । त्यसपछि उसले प्रकृति नामकी बाख्रीको दुध दुह्यो र दुध लिएर छिमेकीको घर गयो । छिमेकीले पारिवारिक डाक्टरसँग सल्लाह गरेर छोरीलाई दिनहुँ बाख्रीको दुध पिलाउन थालिन् । छोटो समयमा नै ती बालिकाको स्वास्थ्यमा सुधार आयो । दिपक र प्रकृतिको मद्दतले छिमेकी बालिकाको स्वस्थ भएको देखेर खुसी भई लमरुङ्गबासीले दिपक र प्रकृतिलाई सम्मान गरे, भोजको आयोजना गरे । यस घटनापछि लमरुङ्गबासीले बाख्रा पाल्न थाले र बाख्राको दुध खान थाले ।
कथा यत्ति नै हो तर कथाको सन्देश बडो गज्जबको छ । लाग्छ उनी सिद्धहस्त बाल कथाकार हुन् । कथा अङ्ग्रेजी र नेपाली भाषामा लेखिएको छ । हरेक पृष्ठमा दुवै भाषा राखिएको छ । कथा चित्रात्मक पनि छ । हरेक वाक्यको चित्र हरेक पानामा दिइएको छ । चित्रहरू निकै आकर्षक छन् । यस बाल कथाका चित्रहरू निराजनराज थारुले कोरेका हुन् भने अक्षरहरूको लेखनको ढाँचा समीक्षा गुरुङले तयार गरेकी हुन् । कलात्मक अक्षरले लेखिएको यो पुस्तक रङ्गीन छ, चिप्लो पानामा छापिएको छ । पुस्तक बालबालिकाहरूका लागि रुचिपूर्ण छ, भाषा सरल छ, कथा सरल र बोधगम्य छ । बाल कथा भए पनि यसले दिने सन्देश बालबालिकालाई मात्र होइन, हरेक वयस्क नागरिकका लागि पनि उपयोगी छ । बाख्राको दुध आमाको दुधको सबैभन्दा उपयुक्त विकल्प हो भन्ने सन्देश पुस्तकले दिन्छ । पुस्तक पठनीय र सङ्ग्रहणीय छ ।
कृतिः दिपक र प्रकृति (एक छोटो बाख्राको कथा)
विधाः कथा
लेखकः डानियल ली लेनी
प्रकाशकः WORLD WIDE GOAT PROJECT NEPAL
संस्करणः सन् २०२३
पृष्ठः १४
मूल्यः ने.रु. २००÷–, अमेरिकन डलर $ १०
प्रतिक्रिया