पुस्तक समीक्षा
स्याङ्जा, फेदीखोला गाउँपालिका, चनौटे निवारी सूर्यप्रसाद उपाध्याय सुवेदीले सुरज उपाध्यायका नाममा साहित्यिक रचना गर्छन् । विद्यार्थी जीवनदेखि नै कवितामा कलम चलाउन थालेका उपाध्यायले कविताका साथसाथै गीत, गजल, कथा, लघुकथा, मुक्तक, हाइकु आदि विधामा कलम चलाएका छन् । धेरै विधामा कलम चलाए पनि उनी बाल साहित्यमा बढी रमाएका छन् । उनका बाल गीत तथा कवितासम्बन्धी तीनओटा कृतिले पनि यही पुष्टि गर्छ । कलेज जीवनको विद्यार्थी हुँदा पनि हवाईपत्रमा “वेदना” साहित्यिक पत्रिकासम्पादन तथा प्रकाशन गरेका उपाध्यायको साहित्यप्रतिको लगाव निकै धेरै छ । “तिम्रो मन फर्किएन” गजल सङ्ग्रह उनको पहिलो प्रकाशित कृति हो । यो कृति वि.सं. २०६० सालमा प्रकाशन भएको हो । वि.सं. २०७१ मा “चील उड्यो आकाशमा” र २०७९ मा “साइकल” बाल कविता प्रकाशित छन् ।
विभिन्न पत्रपत्रिका तथा अनलाइन पत्रिकाहरूमा उनका सयौँ रचनाहरू प्रकाशित छन् । विशेष गरी बाल साहित्यमा रुचि राख्ने उपाध्यायका सिर्जनामा माटोको सुगन्ध, आफ्नो परिवेश, आफ्नोपन, देश प्रेम, राष्ट्रिय भावना, बाल भावना, प्रकृति प्रेमका भाव उकुसमुकुस भएर आएका हुन्छन् । राजनीतिक चेतका कारणले होला, उपाध्यायका कतिपय रचनामा शासन सत्ता, महङ्गी, गरिबी, असमान व्यवहार, वर्गीय शोषण र सामाजिक विकृतिप्रति विद्रोह र असन्तुष्टि व्यक्त भएको पाइन्छ । उपाध्यायका बाल रचनाहरूमा बालबालिकालाई मनोरञ्जनका साथसाथै नवीन चेतना दिनका लागि समाज र परिवेशको जानकारी पनि दिइएको हुन्छ । बालबालिकाका शब्दहरूलाई टप्प टिपेर सहज बिम्ब र प्रतीकको प्रयोग गरी लेखकीय भावना सुटुक्क बाल मस्तिष्कमा घुसाउन सफल छन् सुरज उपाध्याय ।
साहित्यिक संस्थामा आबद्धताका दृष्टिले हेर्दा उपाध्याय बाल साहित्य समाज गण्डकी प्रदेशको सचिव र प्रगतिशील लेखक सङ्घ कास्कीको सचिव पदको जिम्मेवारीमा छन् । उनी नयाँ पुस्तकको चर्चा परिचर्चा गर्न र पठन संस्कृतिको विकास गर्न विगतमा रेन्डम रिर्डर सोसाइटी, कास्कीसँग आबद्ध थिए भने वर्तमान समयमा पुछारसिटे अभियानमा पनि संलग्न छन् । साहित्यिक गतिविधिमा अधिक रुचि भएका सुरज उपाध्यायले “करुवा”, “सम्मोहन” र “वेदना” जस्ता साहित्यिक पत्रिकाको सम्पादन तथा संयोजन गरेका थिए । बाल साहित्यमा उनको रुचि मात्र होइन, यसमा उनका सिर्जनाको बर्चश्व पनि छ । बालबालिकालाई साहित्य सिर्जना गराउनका लागि प्रशिक्षण दिने गरेका उपाध्याय विभिन्न विद्यालयमा गएर बालबालिकालाई गीत, कविता सिर्जना गर्न सिकाउने पनि गरेका छन् ।
बेला प्रकाशनले २०८१ माघमा सुरज उपाध्यायको “बाबा कतारमा, आमा हतारमा” बाल कविता सङ्ग्रह प्रकाशन गरेको छ । यस सङ्ग्रहमा अठ्ठाइस ओटा बाल कविता सङ्कलित छन् । बाल कविता भनिए पनि यी सबै बाल गीत हुन् । चरीबाट सुरु गरिएको यो बाल कविता सङ्ग्रह चरामा नै गएर टुङ्गिएका छ । “आऊ चरी आऊ” बाल कविताबाट सुरु गरिएको यो सङ्ग्रह “छाता लग्यो चराले” भन्ने बाल कविताबाट टुङ्गिएको छ । हरेक पृष्ठका कविताको भाव दर्साउने रङ्गिन तथा आकर्षक चित्र र एउटा बाल कविता राखिएको छ । यस बाल कविताका चित्रहरू तथा आवरण दीपमाला महर्जनले तयार गरेका हुन् । अठ्ठाइस ओटा बाल कवितालाई अठ्ठाइस पृष्ठमा समेटिएको छ । सङ्ग्रह कुल बत्तिस पृष्ठको भए पनि कविताको प्रारम्भ पृष्ठ पाँचबाट गरिएको छ भने प्रिलिम्सलाई पनि सङ्ग्रहको पृष्ठभित्र नै समेटिएको छ । बाल कविता सङ्ग्रहको मूल्य रु २५० राखिएको छ । बेला प्रकाशनको शृङ्खलामा यो बाल कविता २१ औं रहेको र बेला बालमाला पहिलो रहेको छ ।
बाल कविता भए पनि यस सङ्ग्रहका कविताहरूमा राजनीतिक चेतसहित अन्यायप्रति विद्रोहको भाव व्यक्त भएका छन् । बाल कवितामा पनि गणतन्त्रका कुरा छन्, सहिदका कुरा छन् । कविता पढ्दा नेपालको दस बर्से द्वन्द्व र त्यसपछिको अवस्थालाई सम्झना आउँछ । बन्दुक बोकेर दाजुको पढाइ छुटाएर गणतान्त्रिक आन्दोलनमा लागेका बा र दाजुको कथा सुनाउँदै सहिदका शालिकले के भन्दा हुन्भ न्ने कुरा सरल र लगात्मक ढङ्गले “धेरै राजा” शीर्षकमा कविले व्यक्त गरेका छन्ः
“एउटा राजा फालेर
धेरै राजा बनाए,
दाइ र बाको
सपना त्रिशूलीमा बगाए” (धेरै राजा, पृ. १०) ।
यस बाल कविता सङ्ग्रहको नाम “बाबा कतारमा, आमा हतारमा” शीर्षकको बाल कविताबाट राखिएको छ । यसमा कविले देशमा श्रमको अभावमा दैनिकी पनि गुजार्न नसकी कतार हानिएका नेपाली युवाको कथा समेटेका छन् । घरको पुरुष विदेश जाँदा घरमा बसेकाको पनि जीवन सुखमय छैन । पसिनाका साथ आँसु पनि बगाउनु परेको छ, मजदुरीमा जीवन चलेको छ, बाबा कतार जाँदाको ऋण तिर्न नसक्दा साहु झर्केर बोल्ने गरेको छ जस्ता कष्टप्रद जीवनलाई सरल शैलीमा
कवितले यस कवितामा उतारेका छन्ः
“मैले पढ्ने बेलामा
आमा सधैं मेलामा,
चलेको छ घर हाम्रो
मजदुरी र जेलामा” (बाबा कतारमा, आमा हतारमा, पृ. १५) ।
स्कुल पढ्ने बालबालिकाका लागि स्कुलको पाले दाइ निकै प्यारो हुन्छन् । पाले दाइले पनि स्कुलका साना साना बालबालिकालाई अति नै माया पनि गर्छन् । स्कुल पढ्दा उनले बजाउने घण्टीको कति महत्वपूर्ण हुन्छ भन्ने कुरा “पाले दाइ” कवितामा यसरी व्यक्त गरेका छन्ः
“उनले घण्टी नबजाई जान पाइँदैन,घरमा गई खाजाभुजा खान पाइँदैन” (पाले दाइ, पृ. १६) ।
बाबालाई देख्न नपाइकन सहिद भएका आफ्ना बालबालिकालाई स्कुलमा ‘बाबालाई चिठी लेख’ भनेर गुरुले सिकाउँदा बालबालिकाको मन कति निचोरिन्छ होला, कल्पना नै गर्न सकिँदैन । बाबा र दाइको अभावमा हुर्केको एक बालकले गुरुसँग गरेको गुनासोलाई “बालाई चिठी” कविले यसरी व्यक्त गरेका छन्ः
“आमा सधैं पिरैपिरमा, पाइनँ बाबा देख्न,
नसिकाउनू गुरु मलाई, बालाई चिठी लेख्न” (बालाई चिठी, पृ. १७) ।
प्रगतिको बाटामा अगि बढ्न पढ्नुपर्छ भन्ने सन्देश “असल मान्छे” कवितामा व्यक्त गरिएको छ । साथै, यस कवितामा आफू नपढेर पछि परेको कुरा आमाले सम्झाएको र असल मान्छे बन्न धेरै ज्ञान चाहिने र सो ज्ञान किताबमै पाइने कुरा कविले यसरी व्यक्त गरेका छन्ः
“आज पछि परियो नपढेर हामीले” सम्झाउँदै हामीलाई भन्नुहुन्छ आमाले”
“असल मान्छे बन्नलाई धेरै ज्ञान चाहिन्छ,
ज्ञानगुनका कुरा त किताबमै पाइन्छ” (असल मान्छे, पृ. २१) ।
समाज परिवर्तन गर्न र समाजका कुरीति, कुसंस्कारलाई उखेलेर फाल्नका लागि मात्र जुलुस र भेला होइन, राजनीतिक स्वतन्त्रता, जनजीविका, समानता र न्यायका लागि पनि आन्दोलन र सङ्घर्ष जरुरी हुन्छ भन्ने कुरा कविले “हामी बस्छौँ डेरामा” शीर्षकको कवितामा व्यक्त गरेका छन् । यस कवितामा परिवर्तनका लागि दाइ जुलुस र भेलामा जाने गरेका र आफू सहरको डेरामा बसेर स्कुल पढ्न गएको एक सानी बालिकाको भावना यसरी व्यक्त गरेका छन्ः
“दाइ जान्छ जहिले नि
जुलुस र भेलामा,
भन्छ दाइले सबैलाई
बस्ने होइन हेलामा”
“छैन घर सहरमा
बस्छौँ हामी डेरामा” (हामी बस्छौँ डेरामा, पृ. २५) ।
आफ्नै पौरखमा विश्वास गर्ने, खेती किसानी गरी आफैँ उब्जाइ अर्गानिक तरकारी खाने किसानप्रति समर्पित कविता हो हामी नेपाली । यस कवितामा बाबाले हलो जोत्ने, आमा खेताली बन्ने, ठुले दाइ बाउसे बन्ने, अन्न र तरकारी फलाउने र भकारी भर्ने जस्ता कुरा उल्लेख गर्दै कवि भन्छन्ः
“हामी किन्न जाँदैनौँ घरमै फल्छ तरकारी,
पसिना र पौरखले रित्तो छैन भकारी” (हामी नेपाली, पृ. २९) ।
घरका मूली बाउले सही व्यवहार नगरेपछि बालबालिकाको मनमा चोट मात्र पर्दैन, उनीहरूको पठनपाठनमा नै नराम्रो असर पर्छ । बाले रक्सी धोक्ने, दैनिक गुजारा चलाउन आमा गिट्टी कुट्न जानुपर्ने, बा रक्स्याहा भएका कारण दाजुले स्कुल पढ्न छोडेर नगर बसमा हल्पर भएर हिँड्नुपर्ने, आफूसँग
कापी कलम नभएर सधैँ मिसलाई भन्नुपर्ने बाध्यता भोगिरहेका साना साना बालबालिकाको कथालाई “पढ्न लेख्न पाए” शीर्षकको कवितामा कविले मर्मस्पर्शी ढङ्गले यसरी व्यक्त गरेका छन्ः
“दाइले पढ्न छोडिसक्यो, नगर बसमा हिँड्छ
कापी कलम किनी ल्याइदे भन्दाखेरि पिट्छ
कापी छैन, कलम छैन भन्छु सधैँ मिसलाई
किन पढ्नप¥यो भन्छ दाइले सधै मलाई ?” (पढ्न लेख्न पाए, पृ. ३०)
यस बाल कविता सङ्ग्रहका सबै बाल कविताहरू गीति लयमा छन् । गेयात्मक छन् । कवि सरल शब्द खेलाउन माहिर छन् । बाल कवितामा अनुप्राशको खोलो नै बगेको छ । केही कविता मुक्तक लयमा पनि छन् । जस्तैः
“मैले पढ्ने बेलामा
आमा सधैं मेलामा
चलेको छ घर
हाम्रो मजदुरी र जेलामा”
“साहु बोल्छन् झर्केर
बसेका छौँ पर्खेर
अब ठुली हुँदै छु
आउनु बाबा फर्केर” (बाबा कतारमा, आमा हतारमा, पृ. १५) ।
यी माथिका बाल कविता मुक्तक लयमा लेखिएको छ; पहिलो र दोस्रोको अन्त्यानुप्राश मिलेका छन्, तेस्रोको मिलेको छैन, चौथोको मिलेको छ ।
कवितामा कवि उपाध्यायले बाल सुलभ र झर्रा शब्दको प्रयोग सुन्दर ढङ्गले गरेका छन्; गेडी, चारा, झिक्राझाक्री, घुरानमुरान, घारी, टारी, आँटो, भकारो, थिरीथिरी, हिक्क हिक्क, मासी, नुहाइबुडी, बुबुमाम, मनतातो, गिट्टी, मेला, जेला । कविले सन्दर्भ मिलाएर बाल कवितामा अङ्ग्रेजी शब्द घुसाएका छन् । यस्ता अङ्ग्रेजी शब्दहरू स्वाभाविक भएर कवितामा घुलेरै आएका छन्; मामु, मेसेन्जर, फोटो, बाइक, क्यान्डी क्रम, पाइडल ।
पुस्तकको रमाइलो पक्ष के छ भने यस बाल कविता सङ्ग्रहमा न त लेखकीय मन्तव्य छ, न त भूमिका नै छ, न त प्रकाशकीय नै । न त सर्जकको परिचय नै छ, न त सर्जकको तस्बिर नै । सर्जकका विगतका लेखनीय उपलब्धि पनि कहीँ कतै देखिँदैन । मात्र छ कवि विमल निभाको ६१ शब्दको पुस्तकका सम्बन्धमा विचार । यस पुस्तकले भूमिका, लेखकको परिचय, लेखकीय मन्तव्य, प्रकाशकीय जस्ता परम्परागत आडम्बरयुक्त प्रिलिम्सलाई पूर्णतया निषेध गरेको छ । यो एक किसिमको नवीन प्रयोग पनि हो ।
यो बाल कविता सङ्ग्रह न प्रचारमुखी छ, न त आडम्बरयुक्त । पुस्तक बालबालिकाका लागि आकर्षक छ, चिल्ला र चिप्ला पानामा दीपमालाले तयार गरेका कविताका भाव अनुकूलका चित्रहरू छन् । पुस्तक आकर्षक छ, कविता मनमोहक छन्, लयात्मक छन्, रसिला छन् । कवि सुरज उपाध्यायबाट अझ सशक्त, लयात्मक र श्रुतिमधुर बाल सिर्जना हुँदै जाउन्, हार्दिक शुभकामना ।
कृतिः बाबा कतारमा, आमा हतारमा
विधाः बाल कविता
लेखकः सुरज उपाध्याय
प्रकाशकः बेला प्रकाशन
संस्करणः प्रथम (२०८१ माघ)
पृष्ठः ३२
मूल्यः रु २५०/-
प्रतिक्रिया