विषय प्रवेश
बाल साहित्य सिर्जना गर्नु केवल मनोरञ्जन मात्र नभई बाल मनोविज्ञानसँग संवाद गर्ने कलात्मक प्रयास हो। सुरज उपाध्यायद्वारा लिखित बाल कविता सङ्ग्रह बाबा कतारमा, आमा हतारमा बालबालिकाको सरल मन, उनीहरूको परिवेश, समाज तथा भावनात्मक संवेदनशीलतालाई सजीव रूपमा उजागर गर्ने उत्कृष्ट प्रयास हो।बालबालिकाको निर्दोष संसारलाई शब्दमा उतार्न सहज देखिए पनि, तिनको भावना, सोच र वास्तविकता कैद गर्न अत्यन्त चुनौतीपूर्ण हुन्छ। साहित्यकार सुरज उपाध्यायले आफ्नो नवीनतम कृति ‘बाबा कतारमा, आमा हतारमा ’ मार्फत नेपाली बालसाहित्यलाई थप समृद्ध बनाएका छन्।
स्याङ्जा, फेदीखोलाका साहित्य अनुरागी सुरज उपाध्याय, जसले विद्यार्थी जीवनदेखि नै कलम चलाउन थालेका थिए, नेपाली साहित्यका बहुविधायती सर्जक हुन्। कविता, गजल, मुक्तक, हाइकु, कथा, लघुकथा लगायत विभिन्न साहित्यिक विधामा कलम चलाउँदै आएका उनले बाल साहित्यमा विशेष स्थान बनाएका छन्। यस कृतिले बाल साहित्यमा उनको प्रगाढ लगावलाई थप उजागर गरेको छ।
बाल साहित्यमा सुरज उपाध्यायको पहिचान
बाल साहित्यको क्षेत्रमा समर्पित सर्जकका रूपमा स्थापित उपाध्यायका ‘चील उड्यो आकाशमा’ (२०७१) र ‘साइकल’ (२०७९) बाल कविता कृतिहरू प्रकाशित भइसकेका छन्। नेपाली बालबालिकाको विश्वलाई बुझ्ने दृष्टिकोणलाई फराकिलो बनाउने यस्ता कृतिहरू पाठ्यपुस्तकभन्दा पनि बढी महत्त्वपूर्ण बन्न सक्छन्। सुरज उपाध्यायका सयौँ रचनाहरू विभिन्न पत्रपत्रिका तथा अनलाइन मिडियामा प्रकाशित भइसकेका छन्। विशेष गरी बाल साहित्यमा रुचि राख्ने उनले आफ्ना सिर्जनामा माटोको सुगन्ध, आफ्नो परिवेश, देशप्रेम, राष्ट्रिय भावना, बालमनोविज्ञान र प्रकृतिप्रेमलाई प्रमुख रूपमा समेटेका छन्।
सामाजिक तथा राजनीतिक चेतनाले भरिपूर्ण उनका कतिपय रचनाहरू शासन व्यवस्था, महङ्गी, गरिबी, असमानता, वर्गीय शोषण र सामाजिक विकृतिहरूको विरोधमा आवाज उठाउँछन्। बाल साहित्य लेखनमा उनको उद्देश्य केवल मनोरञ्जन मात्र नभएर बालबालिकालाई समाजको यथार्थता बुझाउने, नवीन चेतना प्रदान गर्ने र उनीहरूलाई परिपक्व बनाउने रहेको छ। सरल भाषाशैली, बालसुलभ अभिव्यक्ति र प्रभावशाली कथ्यशैलीका कारण सुरज उपाध्याय बालसाहित्यको क्षेत्रमा एक महत्त्वपूर्ण नाम बन्न सफल भएका छन्।
साहित्यिक गतिविधिमा पनि उत्तिकै सक्रिय रहेका उपाध्याय बाल साहित्य समाज गण्डकी प्रदेशको सचिव तथा प्रगतिशील लेखक संघ कास्कीका सचिव हुन्। उनको साहित्य सम्पादन, समीक्षा र बालबालिकाका लागि सिर्जनात्मक लेखन कार्यशालामा संलग्नता बाल साहित्य प्रतिको उनको प्रतिबद्धताको प्रमाण हो।
कविताहरूको सङ्ग्रह: सरल शब्द, गहन सन्देश
वि.सं. २०८१ मा प्रकाशित ‘बाबा कतारमा, आमा हतारमा’ बाल कविता सङ्ग्रह उपाध्यायको नवीनतम कृति हो। कृतिमा २८ ओटा बाल कविता सङ्कलित छन्, जसमा सरल भाषाका माध्यमबाट गहन सन्देश दिन खोजिएको छ। बाल साहित्य भनिए पनि यस कृतिमा बाल मस्तिष्कको सरलताभन्दा परका समाजका यथार्थ, राजनीतिक चेतना र जीवन सङ्घर्षलाई कुशलतापूर्वक प्रस्तुत गरिएको छ।
यो बाल कविता सङ्ग्रह पृष्ठ ५ मा ‘आऊ चरी आऊ’ शीर्षक कविताबाट सुरु भएर पृष्ठ ३२ मा ‘छाता लग्यो चराले’ शीर्षकको कवितासँगै टुङ्गिन्छ। सङ्ग्रहका हरेक पृष्ठमा आकर्षक र सान्दर्भिक चित्रहरू समावेश छन्, जसले बालबालिकालाई अझ बढी आकर्षित गर्न सक्छ। बालबालिकाका लागि तयार गरिएका कविताहरू भए पनि तिनमा नेपाली समाजको कटु यथार्थ झल्किन्छ।
कविता सङ्ग्रहको मुख्य विषयवस्तु
कविताहरूले विभिन्न सामाजिक, आर्थिक, राजनीतिक तथा सांस्कृतिक परिवेशलाई उजागर गरेका छन्। बाल कवितामा पनि गणतन्त्र, सामाजिक असमानता, अभाव, संघर्ष र देशप्रेमका प्रसङ्गहरू समेटिएका छन्। कविताहरू बालबालिकालाई सहज भाषामा समाजका जटिल सन्दर्भ बुझाउने प्रयास हुन्।उदाहरणका लागि,
आऊ चरी आऊ
चारा टिपी खाऊ
छैन बस्ने ठाउँ
आफ्नै घर जाऊ
‘आऊ चरी आऊ’ शीर्षकको कविता मार्फत चरीलाई बोलाएर, चारा टिपेर खान आग्रह गरिन्छ तर आफ़्नो प्राकृतिक स्थान अर्थात् घर फर्कनुपर्ने कुरा पनि सँगसँगै सुनाइन्छ । यो कविताले चरीको स्वतन्त्रता र वन्यजीवहरूको प्राकृतिक वासस्थानको महत्त्वलाई उजागर गर्दछ। साथै, मानिसहरूले वन्यजन्तुलाई सहायक हात दिने, माया गर्ने र उनीहरूको स्वतन्त्रता र आवासलाई सम्मान गर्ने सन्देश दिएको छ ।
त्यसै गरी अर्को ‘डर’ शीर्षकको कविताले वन्यजन्तुको प्राकृतिक बासस्थान र मानिसको बस्ती बीचको असन्तुलनलाई देखाउँछ। बाघ र भालु जस्ता जनावरहरू स्वाभाविक रूपमा जंगलमा बास बस्ने गर्दछन्, तर अहिले मानिसको क्रियाकलापले तिनीहरूलाई डराउन थालेको छ। यसले वन्यजन्तुहरूको असुरक्षित अवस्था र प्राकृतिक स्रोतहरूको अतिक्रमणको परिणामलाई दर्शाउँछ। उदाहरणका लागि,
बाघभालु वनमा बस्छन्, आउँदैनन् घर
हामीलाई त हुन थाल्यो, मान्छेबाटै डर ।
‘क्यान्डी क्रस’ शीर्षकको यस कवितामा आफ्ना पारिवारिक सदस्यहरूलाई मित्रको रूपमा चित्रित गरेको छ। विशेषगरी, उसले फुपूलाई अत्यधिक माया र मित्रवत् व्यवहारसहितको व्यक्ति मान्छ। बाबु र ममीलाई पनि साथीको रूपमा स्वीकार गरेको छ तर फुपूको विशेष स्थानलाई अझ बढी महत्त्व दिएको छ। यो कविता परिवारभित्रको आत्मीयता, स्नेह र पारस्परिक सम्बन्धहरूको महत्त्वलाई दर्शाउँछ। बालकको लागि प्रत्येक सदस्यको भूमिका अत्यधिक महत्त्वपूर्ण र अनमोल छ। उदाहरणका लागि,
मामु पनि साथी मेरो, बाबा पनि साथी
बाबा ममी भन्दा पनि फुपू सारै जाती
‘पढ्न लेख्न पाए’ कविता मार्फत बालकको शिक्षा प्राप्तिमा रहेका बाधाहरूलाई व्यक्त गर्दछ। कवि भन्छन् कि उससँग कापी र कलम छैन, जसले गर्दा उसले आफूलाई आवश्यक शिक्षा प्राप्त गर्नमा कठिनाई भोगिरहेको छ। दाजुले सधैं भन्ने गर्छन् कि पढ्नुपर्छ तर बालक भन्छ उसलाई आवश्यक सामग्री र अवसर मिल्थ्यो भने उसले जीवनमा केही हासिल गर्न सक्थ्यो। यसले शिक्षा र अवसरको महत्त्वलाई उजागर गर्छ र सामाजिक, आर्थिक अभावका कारण बालकले आफ्नो क्षमता पूरा गर्न असमर्थ हुनुको पीडालाई व्यक्त गर्दछ। उदाहरणका लागि,
छैन कापी, छैन कलम भन्छु सधैं मिसलाई
किन पढ्नुपर्यो भन्छ दाइले सधैं मलाई?
आफैं दु:खसुख गरी खुट्टा टेक्न पाए
केही गर्छु जस्तो लाग्छ पढ्न लेख्न पाए ।
‘सधै दु:ख हामीलाई’ कविताले ऋणको बोझ र आर्थिक सङ्घर्षलाई दर्शाउँछ। साहु घरमा ब्याज लिन आउँछन् र घरको सानो रकम पनि साहुको हातमा जान्छ। यसले देखाउँछ कि ऋण र ब्याजको जालमा फस्नुले परिवारलाई सधैं आर्थिक दु:खमा पार्छ। कविताले आर्थिक स्वतन्त्रता र ऋणको चक्रबाट मुक्त हुनुको आवश्यकता र महत्त्वलाई उजागर गरेको छ। यसले गरिबीको चपेटामा परेको परिवारको संघर्ष र त्यसका कारण हुने मानसिक र भौतिक दु:खलाई प्रभावकारी रूपमा चित्रण गर्दछ। उदाहरणका लागि,
साहु आउँछन् घरमा
साँवाको ब्याज लिनलाई
पैसा सबै साहुलाई
सधैं दु:ख हामीलाई ।
‘बालाई चिठी’ कविता मार्फत लेखकले बाल्यकालको अभाव र पीडालाई व्यक्त गर्दछ। यहाँ कविले भन्न खोजेका छन् कि यदि त्यस बेला पेटभरि खान मिल्थ्यो भने बुबाको हात समातेर हिड्न पाउँथ्यो भने उसले आफ्ना बुबाको माया र संरक्षण अनुभव गर्न सक्थ्यो। साथै, चिठी लेख्न सक्ने अवस्था नहुँदा उसले शिक्षा प्राप्त गर्न र आफ्ना भावनाहरू व्यक्त गर्न असमर्थ भएको जनाइएको छ। यसले शिक्षा र अभावको महत्त्व र त्यसको अभावले पार्ने असरलाई व्यक्त गर्दछ। कविता मार्फत बालबालिकाको आधारभूत आवश्यकताहरूको महत्त्व र यस्तो अभावको पीडालाई उजागर गरिएको छ। उदाहरणका लागि,
त्यो बेलामा पेटभरि खान पाको भए
बाको हात समातेर हिड्न पाको भए
मैले पनि पाउने थिएँ, बाको माया देख्न
मैले पनि सक्ने थिएँ, बालाई चिठी लेख्न ।
‘बाबा कतारमा, आमा हतारमा’ कविता संग्रहकै शीर्ष कविता भएकोले यसले परदेशी श्रमिकहरूको भावनात्मक संघर्ष र तिनीहरूको दैनिक जीवनका दुःखलाई प्रस्तुत गर्दछ। पसिना बगाएर, कठोर मेहनत गर्दा, उनीहरूले आफ्नो परिवारबाट टाढा रहनु परेको छ र यसले उनलाई दु:ख दिने गरेको छ। तर, जब उनीहरूले फोनमा परिवारसँग कुरा गर्दछन्, केही समयको लागि भए पनि उनीहरूको हर्ष र खुसी प्राप्त हुन्छ। उदाहरणका लागि,
उता पसिना तरर
यता आँसु बरर
जब फोन आउँछ
तब खुसी लाउँछ ।
साहित्यिक संरचना र नवीन प्रयोग
यो पुस्तकको एउटा महत्त्वपूर्ण पक्ष भनेको यसको भिन्न साहित्यिक संरचना हो। पारम्परिक रूपमा बाल साहित्यमा लेखकको मन्तव्य, भूमिका, सर्जक परिचय, प्रकाशकीय आदि समावेश गरिन्छ। तर, यस सङ्ग्रहमा यी कुनै पनि परम्परागत तत्त्वहरू राखिएका छैनन्।पुस्तक सिधै कविताबाट सुरु हुन्छ। केवल साहित्यकार विमल निभाको सङ्क्षिप्त समीक्षा पुस्तकको अन्तिम पृष्ठको बाहिरी आवरणमा मात्र समावेश छ। यस्तो नवीन प्रयोगले पाठकलाई सिधै कविता पढ्न आकर्षित गर्छ, अनावश्यक व्याख्यान तथा परिशिष्टमा अल्झाउँदैन।
चित्रण र पुस्तकको स्वरूप
बाल साहित्यमा चित्रको महत्त्व विशेष हुन्छ। यस पुस्तकका हरेक पृष्ठमा कविताका भाव झल्काउने गरी दीपमाला महर्जनद्वारा तयार पारिएका सुन्दर चित्रहरूले पुस्तकलाई थप जीवन्त बनाएका छन्, जसले बालबालिकालाई पढ्न अझ प्रेरित गर्छ। साथै, पुस्तकको मुद्रण उत्कृष्ट छ। चिल्ला, रंगीन पानाहरूले बालबालिकाका लागि पुस्तकलाई आकर्षक बनाएको छ।
निष्कर्ष: नेपाली बाल साहित्यको महत्त्वपूर्ण योगदान
‘बाबा कतारमा, आमा हतारमा’ नेपाली बाल साहित्यमा एक नवीनतम योगदान हो। यसले केवल बालबालिकाको मनोरञ्जनका लागि मात्र होइन, तिनलाई सामाजिक यथार्थ र परिवर्तनशील समाजको प्रतिबिम्ब बुझाउन पनि महत्त्वपूर्ण भूमिका खेल्छ।
सुरज उपाध्यायको यो सङ्ग्रह नेपाली बाल साहित्यमा एउटा नयाँ दृष्टिकोण प्रस्तुत गर्ने कृति बनेको छ। सरल भाषामा गहन सन्देश दिन सक्ने क्षमताका कारण यो पुस्तक बालबालिकाका लागि प्रेरणादायी छ भने अभिभावक, शिक्षक तथा साहित्य अनुरागी सबैका लागि पठनीय बनेको छ।
यस प्रकारका सिर्जनाहरूले नेपाली बाल साहित्यको दायरा फराकिलो बनाउने मात्र होइन, समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सहयोग गर्छन्। सुरज उपाध्यायका भावी सिर्जनाहरूले अझ सशक्त रूपमा बाल साहित्यको विकास गरून् भन्ने शुभकामना !
कृति: बाबा कतारमा, आमा हतारमा
विधा: बाल कविता
लेखक: सुरज उपाध्याय
प्रकाशक: बेला प्रकाशन
संस्करण: प्रथम (२०८१ माघ)
पृष्ठ संख्या: ३२
मूल्य: रु २५०/-
प्रतिक्रिया