“ महिलाहरूको हक र अधिकार पुरूषसरह समान हुनैपर्छ भनेर अनेक व्याख्या गरेर गलत तरीकाले नेपाली महिलाहरूलाई केही बर्षदेखि महिला अधिकारकर्मीले उचाल्दा हाम्रा पुराना पुस्ताका महिलाहरूले घर सम्हान देखाएको हिम्मतको अवमुल्यन भई रहेछ। जुन हुनु हुन्न थियो । “
आजकल सोसलमिडिया हेर्दा नेपाली समाज झन् झन् नकारात्मक तिर गईरहेको महशुस हुन्छ । हुनत प्राय: हामी नेपाली नकारात्मक विचारले नै भरीपुर्ण छौं । कुनै काम सुरू हुनु अगाडी नै हुँदैन , गर्न सकिंदैन , हुन्न होला आदी बिचार मनमा ल्याई हाल्छौं ।
कहिलेकाहीं त लाग्छ सकारात्मक धारणा कसरी जगाउने सबैमा , अनि सोच्छु , सायद यस्तै नकारात्मक बिचारबाट मुक्ति पाउन नै त होला आजकल कोही सदगुरू, कोही ओशो , कोही जीवन बिज्ञान, कोही मनोक्रान्ती, कोही रविशंकर , कोही बिपश्यना ध्यान आदी बिभिन्न आध्यामिक केन्द्र कुदिरहेका।
म चाहीं फुर्सद निकालेर आजकल युट्युवमा टिकाराम यात्रीको कार्यक्रम “ कुरा सुन्नु पाकाको “ तेसमा पनि धेरै जसो बुढी आमाहरूको कथा हेर्छु । उँहाहरू लजाएर पहिलो पटक टिभीमा बोलेको जान्दिन बोल्न , कोही बेलाबेलामा बिगारे पो बाबु मैले , भन्न हुन्न थियो की क्या हो आदी भन्नु हुन्छ अंन्तरवार्तामा । कोही बोल्दाबोल्दै भावनामा यसरी बहनु हुन्छ की आँखाबाट धरधर आँशु छचल्किएको पत्तै पाउनु हुन्न । तर सबै साधारण देखिने, कतै छलकपट नभएको, निश्चल , ममतामयी, असाध्यै हिम्मतिली महिलाहरू हुनुहुन्छ। धन्यवाद छ टिकाराम यात्रीजीलाई नेपालका कुनाकन्दरामा लुकेका साधारण देखिने तर अत्यन्त साहासी नेपाली आमाहरूलाई संसारको माझ चिनाई दिएकोमा । साँच्चै भन्नु पर्दा यस्ता आमाहरू भएर त नेपाली समाज सुचारू चलिरहेको छ ।
उँहाहरू धेरै जसोको त १०-१२ बर्षको बालखै उमेरमा विवाह भएको रहेछ । आफ्नो विवाह भई रहेछ भन्नेसम्म पनि पत्तो नै थिएन बाबु भन्दै कति सहज तरीकाले बयान गर्नुहुन्छ । एकजना आमाले त राम्रा लुगा , मिठो मिठो खानाहरू खान दिए , म केटाकेटी मान्छे त्यसै दंग परि हाले भन्नु भयो।
विवाह गर्नु भनेको राम्रा कपडा , गरगहना , नाचगान , जाँडरक्सी पार्टी गरेर रमाईलो गर्नु मात्र हो र ? खै आजकलको विवाह हेर्दा त तेस्तै भाष्य बनिसक्यो । विवाह भएको केही दिन नहुँदै मन परेन भनेर संम्बन्धविच्छेद गरिरहेकाछन् । किन त्यस्तो भई रहेछ , कि नँया पुस्तालाई बुझाउन नसकिएको हो वा उनीहरूले धेरै नै बुझेका हुन “ विवाहको महत्व “ अलमल्ल परेको छु म चाहीं ।
कुरा सुन्नु पाकाको कार्यक्रम त त्यहा आएका पाका उमेरका आमाहरूको कुरा सुनिरहँदा पुरूषसँग बराबरीको त कुरै छोडिदिउँ , उँहाहरूले विवाह गरेर गएपछि घर परिवार सम्हाल्न गरेको संघर्ष र त्यागका कुराहरू त जतिसक्दो नँया पुस्ताका महिलाहरूलाई “ महिला अधिकार भनेको के के हो “ भनेर अनेक सिकाएर उचाल्ने महिला अधिकारकर्मीहरूले पनि समय निकालेर हेरून र केही सिकुन जस्तो पो लाग्छ। ती आमाहरूले यस्तो साहस गरेर सबै आपतबिपतमा लडेका रहेछन् ।
कोही आमाहरू त बालखैमा विवाह , बालखैमा संतानको आमा अनि बालखैमा विधवा हुनु भएको रहेछ । तर आँट कस्तो , नपढाई लेखाई , न संम्पत्तिको नाममा केही छ तर संतानहरूलाई पढाईलेखाई उच्च पदमा पुर्यॉउन भएछ । उँहाहरू त जिउँदो इतिहास ! उँहाहरू प्रति मेरो उच्च सम्मान र हार्दिक नमन !
खासमा मलाई चाहीं महिलाहरूलाई पुरूषको बराबरी हुनु पर्छ भनेर जुन पाठ आजकल पढाइन्छनी त्यो शिक्षा नै गलत लाग्छ । महिलाले आफु महिला नै भएर उन्नति गर्दै अगाडी बढ्ने हो पुरूषसँग प्रतिस्पर्धा गर्ने हैन । महिलाहरूको क्षमता पुरूषसँग दाँजेर काम छैन् । त्यस्तै पुरूषको क्षमता महिलासँग । नँया पुस्ताका छोरीहरूलाई पाका पुस्ताका महिलाहरू जस्तै साहसी बनाउनु पर्छ । नकी पुरूष भएर जन्मिन नपाएकोमा पछुतो र हीनता बोध महसुस हुने ।
आजकल विवाह गरेको केही महिनामा नै धमाधम संम्बन्ध विच्छेद भई रहेको सुन्दा कतै हाम्रो पुस्ताले छोराछोरीलाई सही तरीकाले हुर्काउन नसकेका पो हौं की जस्तो लाग्छ । राम्रो शिक्षा, उनीहरूले चाहेको स्वतंन्त्रता सबै दिएका छौं तर खै यी नँया पुस्ता मानसिकरूपमा निक्कै कमजोर बन्दैछन् । घर सम्हाल्नै सक्दैनन् । हामीले आफुले त घर सम्हालेका छौं तर उनीहरूलाई कसरी सम्हाल्ने ज्ञान दिन नसकेको हौं की जस्तो पनि लाग्छ । अलिकति गार्हो समस्या पर्यो की छोडेर भागी हाल्छन् । संम्झौता गर्न नसक्ने किन यस्ता काँतर भए ?
महिलाले आफु महिला नै भएर उन्नति गर्दै अगाडी बढ्ने हो पुरूषसँग प्रतिस्पर्धा गर्ने हैन । महिलाहरूको क्षमता पुरूषसँग दाँजेर काम छैन् । त्यस्तै पुरूषको क्षमता महिलासँग ।
कतिलाई चाहीं विवाहको अर्थ श्रीमान् श्रीमती बिच “ तँ ठुलो की म “ भनेर एकआपसमा प्रतिस्पर्धा गर्न गरिएको हो भन्ने भ्रम छ जस्तो लाग्छ । तिमी यो गर्छौ भने पनि त्यही गर्छु । तिमी रमाईलो गर्ने म चाहीं नगर्ने आदी ? विवाह टिकाउने सफल शुत्र भनेको एकजना आगो हुँदा अर्को पानी बनिदिनु पर्छ । समस्या आफै सुल्झन्छ । एकै कोखबाट जन्मेका संतानहरूको त कुरा मिल्दैन भने फरक परिवेशमा हुर्केकाहरूको कसरी सजिलै कुरा मिल्ला र ? तर मिलाउन कोशिश गर्न छोड्न हुन्न । हो दिनरात शारीरिक र मानसिक यातना भई रहेछ भने सहेर बस्न चाहीं हुन्न । छुट्टिदा नै दुबैको भलो !
अन्त्यमा, मैले देखेको मेरो नितान्त अनुभव लेखेको हुँ । घरलाई कसरी सम्हाल्ने त्यो महिलाहरूको हातमा नै हुन्छ । महिलाहरू अलिकति लचिलो र सजिलो बनिदिंदा भत्कन र बिग्रन लागेको घर पनि सम्हालिन सक्छ ।
सबैलाई महिला दिवसको शुभकामना !
लेखिका
प्रतिक्रिया