ग्लोबल भुटानिज कम्युनिटी कोलोराडोको नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण

नातिबाबु भट्ट २०८१ फागुन २६ गते ९:४८ मा प्रकाशित

मार्च ९, २०२५
कोलोराडो, अमेरीका

संयुक्त राज्य अमेरिकाको कोलोराडोमा रहेका नेपाली भाषी भुटानीहरुको एक मात्र साझा संस्था ग्लोबल भुटानिज कम्युनिटी कोलोराडो (GBCC) को कार्यभार नयां पुस्तालाइ हस्तान्तरण गरिएको छ ।

संस्थाका सदस्यहरूले सर्वसम्मत रुपमा चुडा बरालको अध्यक्षतामा चयन गरेको नयाँ कार्यसमितिका पदाधिकारीहरूलाई शनिबार एक कार्यक्रमको बिच संस्थाको कार्यभार हस्तान्तरण गरिएको हो । यसरी सर्वसम्मत चयन भएका संस्थाका अन्य पदाधिकारीहरूमा क्रमश उपाध्यक्ष भिम राई, सचिव मणी राई, कोषाध्यक्ष पुर्ण शिवकोटी, खेलकुद संयोजक ओम ढुङ्गेल, संस्कृति संयोजक विर्ख गुरुङ, शिक्षा संयजोक दुर्गा निरौला र प्रेस संयोजक हेम गिरी रहेका छन् ।

सन् २०१० कोलोराडोमा स्थापना भएको ग्लोबल भुटानिज कम्युनिटी कोलोराडोको सन् २०१५ देखि यता नेतृत्व परिवर्तन भएको थिएन । पदभार हस्तान्तरण कार्यक्रम संस्थाका उपाध्यक्ष भिम राईको स्वागत मन्तव्य सँगै शुरु भएको थियो । कार्यक्रममा उपस्थित संस्थाका शुभचिन्तक तथा सल्लाहकार केदार खतिवडा, किराँत कल्चरल सोसाइटी अफ कोलोराडोको अध्यक्ष सह सुब्बा, कोलोराडोको नेपाली भाषी भुटानी समुदयाका अगुवा भुवानी न्यौपाने र श्याम खनाल लगायतले संस्थाको नवगठित कार्यसमितिलाई कार्यकाल सफलताको शुभकामना साथै निवर्तमान कार्यसमितिलाई धन्यवाद दिएका थिए ।

यस संस्थाले विशेष गरि कोलोराडोमा बसोवास गर्दै आएका नेपालीभाषी भुटानीलाई नेपाली भाषा, साहित्य, संगीत, संस्कार, संस्कृति, रीतिरिवाजलाई प्राथमिकतामा राखी कार्यक्रमहरुको आयोजना गर्दै आएको छ । नेपाली कला संस्कृती, हाम्रा चाडपर्व, नेपाली भाषा हाम्रो समुदायको पहिचान हो । यसलाई जोगाइ प्रवर्धन गर्दै भावी पुस्तालाई सिकाई उनीहरुलाई हाम्रो संस्कार संस्कृति हस्तान्तरण गर्ने कार्य योजना रहेको नव गठित कार्य समितिका अध्यक्ष चुडा बरालले बताएका छन् । साथै बरालले समुदायका सबैको यस संस्थालाई साथ सहयोग प्राप्त भए बालबालिकाहरुको लागि नेपाली भाषा कक्षा विधार्थी र युवा जमातलाई लक्षित गरेर बिभिन्न खेलकुद, शिक्षा सम्बन्धी गोष्ठी साथै अन्य सामाजिक र सांगीतिक कार्यक्रम संचालन गर्ने संस्थाको कार्यआयोजना रहेको जानकारी गराएका छन् ।

नवगठीत कार्यसमितीका सचिव मणी राईले संचालन गरेको कार्यक्रममा कोलोराडोमा रहेका अन्य संघ संस्थाहरुको प्रतिनिधीहरु र संस्थाका शुभचिन्तकहरुको उपस्थिति रहेको थियो, भने कार्यक्रम निवर्तमान अध्यक्ष सोम बरालको सभापतित्वमा सम्पन्न भएको प्रेस संयोजक हेम गिरीले बताएका छन् ।

कार्यक्रमको अन्त्यमा संस्थाका निवर्तमान अध्यक्ष तथा कार्यक्रमका सभापति सोम बरालले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिदै सबैको साथ र सहयोगले नै संस्था यहाँसम्म आईपुगेकोले आगामी दिनमा पनि निरन्तर साथ र सहयोगको लागी सबै संग अनुरोध गरेका छन् ।

नातिबाबु भट्ट

पत्रकार/लेखक

प्रतिक्रिया