फ्लोरिडामा ट्रम्पले गल्फ प्रतियोगिता जिते

इनेप्लिज २०८१ चैत ३ गते ०:५८ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडाको ट्रम्प अन्तर्राष्ट्रिय गल्फ क्लबमा आयोजित गल्फ प्रतियोगिता (च्याम्पियनसिप)जितेको घोषणा गरेका छन्। उनले आइतबार आफ्नो सामाजिक संजाल ट्रुथ सोसलमा प्रकाशन गर्दै भने, “म ट्रम्प अन्तर्राष्ट्रिय गल्फ क्लबमाच्याम्पियनशिप जित्न सफल भएँ, सम्भवतः यो मेरो अन्तिम प्रतियोगिता हुनेछ।”

उनले क्लबका कर्मचारीहरू र सहभागी खेलाडीहरूलाई धन्यवाद दिंदै पुरस्कार वितरण समारोह आइतबार राति क्लबमै आयोजना हुने बताए।

ट्रम्पको यो विजय यमनका इरान-समर्थित हुथी विद्रोहीहरूविरुद्ध अमेरिकी सेनाले हमला गरेको भोलिपल्ट घोषणा गरिएको हो। व्हाइट हाउसले ट्रम्पको गल्फ पोशाकमा आक्रमणलाई हेर्दै गरेको तस्बिरहरू सार्वजनिक गर्दै भनेको थियो, “राष्ट्रपति ट्रम्पले अमेरिकी नौसैनिक सुरक्षाका लागि निर्णायक कारबाही गरिरहेका छन्।”

अमेरिकी केन्द्रीय कमाण्ड(सेन्टकम) का अनुसार,”अमेरिकी चासोको सुरक्षा, शत्रुहरूलाई रोकथाम, र जलमार्गको स्वतन्त्रता पुनःस्थापित गर्न” हुथीहरूको निशानामा लक्षित प्रहार गरिएको थियो। एसोसिएटेड प्रेसका अनुसार हुथी-नियन्त्रित स्वास्थ्य मन्त्रालयले आक्रमणमा कम्तीमा ३१ जनाको मृत्यु भएको बताएको छ।

ट्रम्प आइतबार राति पुरस्कार समारोहमा सहभागी भई वासिङ्टन डिसी फर्कने कार्यक्रम रहेको जनाइएको छ।

प्रतिक्रिया